१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

खेलकुद क्षेत्रको विकासमा एनओसी सक्रिय

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपाली खेलकुद क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ। एनओसीको २१औँ साधारणसभामा अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद नीतिनियमअनुसार काम गर्नुपर्ने र क्षेत्रभित्र रहेका विकृतिहरू हटाउन आवश्यक रहेको बताएका छन्।

अध्यक्ष श्रेष्ठले खेलकुद विकासका लागि सबैसँग सहकार्य गर्न तयार रहेको र एनओसी सम्बन्धी विवाद समाधान गर्न राज्यले ध्यान दिनुपर्ने उल्लेख गरेका छन्। साधारणसभामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र खेल सङ्घका प्रतिनिधिहरू पनि सहभागी थिए।

सभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा सहभागी अन्तरराष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमको प्रगति विवरण पेश गरे भने कार्यकारी सचिव सुजनलाल श्रेष्ठले सन् २०२६ का कार्यक्रमहरूको जानकारी दिएका थिए। आगामी वर्षमा चार ठूला अन्तरराष्ट्रिय प्रतियोगिता हुने तय भएको छ। ती प्रतियोगितामा जापानमा एसियाली खेलकुद, साउदी अरेबियामा एसियन इन्डोर मार्शल आर्ट्स गेम्स, सेनेगलमा युथ ओलम्पिक र चीनमा बीच गेम्स रहेका छन्।

यससँगै ओलम्पिक सोलिडारिटी कोर्स, फन रन, लुम्बिनी पिस म्याराथन, स्पोर्ट्स कंग्रेस, ट्यालेन्ट हन्ट, अन्तरराष्ट्रिय ओलम्पिक डे र एनओसी अवार्ड पनि आयोजना हुनेछन्।

साधारणसभामा पूर्वखेलाडी तथा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक किरण वज्राचार्यको संयोजकत्वमा प्रिभेन्सन अन म्यानुपुलेसन अफ स्पोर्टस (पिएमसी) गठनका लागि प्रस्ताव राखियो। सभाले जेनजी आन्दोलनमा सहिद हुनेलाई श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय खेलकुद परिषद्ले एसियाली खेलकुदमा सहभागी हुने निर्णयको समर्थन गरेको छ।

साथै साधारणसभाले सातदोबाटोस्थित एनओसीको कार्यालय आफूलाई हस्तान्तरण गर्न अनुरोध गरेको छ। कार्यक्रममा महासचिवको प्रगति विवरण, आर्थिक विवरण, वार्षिक बजेट र सन् २०२६ को कार्यक्रम पारित भएको थियो। साधारणसभामा कुल २३ सङ्घका प्रतिनिधि उपस्थित थिए।

प्रकाशित: १४ पुस २०८२ १७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App