६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति निर्वाचन: यसकारण कमलालाई ‘मार्क्सवादी’ आरोप

नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अहिले विश्वको ध्यान केन्द्रित भएको छ। महाशक्ति र विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको अमेरिकामा हुने निर्वाचनले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सिंगो विश्वलाई प्रभाव पार्ने भएकाले सबैको ध्यान त्यसतर्फ केन्द्रित हुनु स्वाभाविकै हो।

राष्ट्रपति जो बाइडेनको उत्तराधिकारी बन्ने होडमा डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी प्रतिस्पर्धामा मैदानमा छन्। हालसम्मका चुनावी आकलनमा दुवैबीच कडा टक्करको स्थिति छ। ह्यारिस झिनो मतले अगाडि रहेको अड्कलबाजी छ।

तीन दिनअघि दुवै उम्मेदवारबीच ‘प्रेसिडेन्टियल डिबेट’ भएको थियो। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा यो डिबेटले निकै अर्थ राख्ने भनिन्छ। कतिपय मतदाताले यही डिबेट हेरेर आफ्नो मत कसलाई दिने भन्ने धारणा बनाउँछन्।

यही डिबेटमा ट्रम्पले ह्यारिसमाथि ‘माक्र्सवादी’ भएको आरोप लगाए। खुला अर्थव्यवस्था र पुँजीवादकै बलमा विश्व महाशक्ति बनेको अमेरिकाका बहुसंख्यक समुदायले माक्र्सवाद रुचाउँदैन। यहीकारण चुनावमा प्रतिस्पर्धीले एकअर्कालाई माक्र्सवादी भएको आरोप लगाएर मत तान्ने कोसिस गर्छन्।

यसपटक ट्रम्पले यही फन्डा ह्यारिसविरुद्ध अजमाइरहेका छन्। प्रेसिडेन्टियल डिबेटमा ट्रम्पले सिधै भने, ‘कमला मार्क्सवादी हुन्। उनका बुबा माक्र्सवादी अर्थशास्त्री प्रोफेसर थिए। कमला त्यही विचारधाराको लालनपालनमा हुर्केकी हुन्।’

ट्रम्पले चुनावी सभामा पनि ह्यारिसलाई यही आरोप लगाउँदै आएका छन्। डिबेटमा ट्रम्पले माक्र्सवादीको आरोप लगाएपछि ह्यासिरले मुस्कुराएर प्रतिक्रिया दिएकी थिइन्।

को हुन् कमलाका आमाबुबा?

कमला ह्यारिसकी आमा श्यामला गोपालन भारतीय भएको कुरा धेरै चर्चा भइसकेको तथ्य हो। स्वयं ह्यारिसले पनि यो विषय पटकपटक भनिसकेकी छन्। श्यामला भारतको चेन्नईमा जन्मिएकी थिइन्। श्यामलाका बाबुको नाम पिबी गोपालन हो। उनी भारतका वरिष्ठ कूटनीतिज्ञ थिए। गोपालन परिवार राजनीतिक आन्दोलनमा पनि सक्रिय थियो।

कमला ह्यारिस (माथि) र उनका आमाबुवा श्यामला गोपालन र डोनाल्ड ह्यारिस।

श्यामला आमाबुबाका चार सन्तानमध्ये जेठी थिइन्। श्यामलाले १९ वर्षको उमेरमा दिल्ली विश्वविद्यालयबाट स्नातक तह पूरा गरेकी थिइन्। त्यसपछि उनी अमेरिकाको बर्कलेस्थित क्यालिफोर्निया विश्वविद्यालयमा पढ्न गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी अमेरिकाबाट विद्यावारिधि गरेर भारत फर्किइन्। त्यसपछि उनी क्यान्सरको क्षेत्रमा अध्येता बनिन्।

कमलाका बुबा डा. डोनाल्ड ह्यारिस भने एक जमैकन प्रोफेसर हुन्। डोनाल्ड र श्यामलाको भेट बर्कलेमै भएको थियो। मानवअधिकार आन्दोलनमा सहभागी भएका बेला दुवै प्रेममा परेको कुरा कमलाले आफ्नो आत्मकथा ‘द ट्रुथ वी टोल्ड’ मा लेखेकी छन्। विवाहपछि दुवैजनाले अमेरिकामा बस्ने निर्णय गरेका थिए। ‘यो आत्मनिर्णय र प्रेमको पराकाष्ठा थियो,’ कमलाले आत्मकथामा लेखेकी छन्।

श्यामला २५ वर्ष हुँदा सन् १९६४ मा कमलाको जन्म भएको हो। केही वर्षपछि श्यामलाले अर्की छोरी मायालाई पनि जन्म दिइन्। कमला जन्मिएको पाँच वर्षमै उनका मातापिताबीच पारपाचुके भयो। कमला र बहिनी मायालाई आमा श्यामलाले हुर्काइन्। यसैकारण कमलाले आफ्नो जीवनमा आमाको गहिरो छाप रहेको बताउने गरेकी छन्।

कमलाका बुबा डोनाल्ड प्रसिद्ध अर्थशास्त्री पनि हुन्। बिबिसीका अनुसार उनी पहिलो यस्तो कालो वर्णका स्कलर पनि हुन्, जसलाई स्टेनफर्ड विश्वविद्यालयमा सन् १९७२ मा प्रोफेसरको जागिर मिलेको थियो। उनले बर्कलेस्थित क्यालिफोर्निया विश्वविद्यालयबाट ग्राजुएसन गरेका हुन्।

सन् १९९८ मा उनले प्रोफेसरको जिम्मेवारीबाट अवकास पाएका थिए। आफ्नो सक्रीय जीवनकालमा डोनाल्डले भारत, क्यानडा, बेलायत, केन्या, सिंगापुर, मलेसियाजस्ता कैयौं देशमा गएर आफ्नो ज्ञान बाँडे। आफ्नो जन्मघर जमैकाको अर्थव्यवस्था सुधारका लागि पनि उनले सल्लाहकार र परामर्शदाताका रूपमा काम गरेका छन्।

ट्रम्पले कमलालाई बुबा डोनाल्डसँग जोडेर माक्र्सवादीको आरोप लगाएका हुन्। उनले कमलालाई माक्र्सवादी भन्नुको कारण डोनाल्ड ‘मार्क्सवादी स्कलर’ भएकैले हो। टेलिग्राम रिपोर्टअनुसार डोनाल्ड स्टेनफर्ड विश्वविद्यालयमा माक्र्सवादी स्कलर थिए। उनको धारणा नियोक्लासिकल अर्थशास्त्रभन्दा भिन्न मानिन्थ्यो। त्यो समय डोनाल्डलाई खुलाबजार अर्थव्यवस्थाको विपक्षी मानिन्थ्यो। उनले विद्यार्थीलाई खुला बजार अर्थव्यवस्थाभन्दा बाहिर लैजान खोजेको भन्दै आलोचनासमेत भएको विभिन्न रिपोर्टमा लेखिएको छ।

कमलाका बुबा डोनाल्ड यहुदी हुन् भने आमा श्यामला हिन्दु। यही कारण कमला आफूमा दुवै संस्कृतिको समिश्रण रहेको बताउने गर्छिन्। कमलाले २०१४ मा अधिवक्ता डगलस एम्पहोपसँग विवाह गर्दा हिन्दु र यहुदी दुवै परम्परा निर्वाह गरेकी थिइन्।

कमलाका बुबा डोनाल्ड अहिले ८६ वर्षको उमेरमा हिँड्दै छन्। आमा श्यामलाको भने ७० वर्षको उमेरमा सन् २००९ मा निधन भएको थियो छ।

बिबिसीको सहयोगमा

प्रकाशित: २९ भाद्र २०८१ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App