१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बच्चाको डाइपर बनाउन छाड्दै जापानी कम्पनी

जन्मदर घट्दा संकट

जापानमा जन्मदर घट्दै गएपछि जापानी कम्पनीले बच्चाका लागि डाइपर बनाउन छाडेका छन्। बरु कम्पनीहरूले वयस्क र वृद्धवृद्धाहरूको आवश्यकता पूरा गर्र्ने उत्पादनतर्फ ध्यान दिन थालेका छन्। पछिल्लो पटक ओजी होल्डिङ्स कम्पनीले बच्चाका लागि चाहिने डाइपर उत्पादन बन्द गरेको घोषणा गरेको छ। यसअघि अन्य कम्पनीले पनि बच्चाको डाइपर उत्पादनमा कटौती गरेका थिए। जापानमा पछिल्लो दशकमा बच्चाको सट्टा वृद्धवृद्धाको डाइपर बिक्री बढी छ।  

सन् २०२३ मा जापानमा ७ लाख ५८ हजार ६३१ शिशुको जन्म भयो, जुन अघिल्लो वर्षको तुलनामा ५.१ प्रतिशतले कम हो। सन् १९७० ताकाका वर्षमा जापानमा २० लाख शिशु जन्मिन्थे। ओजी होल्डिङ्स कम्पनीले आफ्नो भगिनी कम्पनी ओजी नेपियाले वर्षमा ४० करोड डाइपर उत्पादन गर्ने विज्ञप्तिमार्फत जनाएको छ। 

यो कम्पनीले सन् २००१ मा सर्वाधिक ७० करोड डाइपर उत्पादन गरेको थियो। जापानको अर्काे डाइपर निर्माण कम्पनी युनी चार्मले सन् २०११ मा बच्चाको भन्दा वृद्धवृद्धाको डाइपर बिक्री बढेको बताएको थियो। जापानमा पछिल्ला वर्षहरूमा वृद्धवृद्धाको डाइपर उत्पादन बढेको छ र यसको वाार्षिक बजार कारोबार २ अर्ब अमेरिकी डलरभन्दा बढी छ।  

जापानको कुल जनसंख्यामा ६० वर्ष उमेर नाघेका मानिसको हिस्सा ३० प्रतिशत छ। त्यस्तै ८० वर्ष उमेर नाघेका मानिसको संख्या १० प्रतिशत छ। ओजी होल्डिङ्स कम्पनलिे माग बढ्दो क्रममा भएकाले मलेसिया र इन्डोनेसियामा भने बच्चाको डाइपर उत्पादन जारी राख्ने जनाएको छ।  

घट्दो जन्मदर, वृद्धवृद्धाको संख्यामा वृद्धिलगायत समस्याका कारण विश्वको एक प्रमुख अर्थतन्त्र भएको मुलुक जापान हाल संकटमा छ। यो चुनौती समाधानमा भएका प्रयासबाट अपेक्षित नतिजा आउन सकेको छैन। जापानमा बच्चासँग सम्बन्धित कार्यक्रममा लगानी बढाइएको छ। 

युवालाई विवाह गर्न र बच्चा जन्माउन प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्। विज्ञका अनुसार न्यून विवाह दर, अत्यधिक महिला श्रमशक्तिमा आबद्ध हुनु, बच्चा हुर्काउन लाग्ने खर्चमा वृद्धिलगायत कारण विवाहित जापानी सन्तान उत्पादनमा उदासिन बन्दै गएका छन्। यसले गर्दा जापानमा जन्मदर घट्दो छ।  

‘हामी जापानी समाजलाई निरन्तर राख्ने कि नराख्ने भन्ने दोसाँधमा उभिएका छौं। तत्काल यो चुनौतीको समाधान गर्न नसकिए भविष्य झन् कठिन हुनेछ,’ जापानी प्रधानमन्त्री फुमिओ किसिदाले गत वर्ष भनेका थिए। विश्वमा जनसांख्यिक चुनौती सामना गर्नेमा जापान मात्र एक्लो देश होइन। जापानका छिमेकी देश सिंगापुर, ताइवान र दक्षिण कोरिया पनि विश्वकै सबैभन्दा कम जन्मदर हुनेमा पर्छन्।

हङकङ र चीनमा पनि लगातार जन्मदर घट्दो छ। सन् २०२३ मा चीनमा अघिल्लो वर्षजस्तै जनसंख्या घटेको छ। जापानले जस्तै चीनले पनि जन्मदर बढाउन विभिन्न प्रोत्साहनमूलक कार्यक्रम घोषणा गरेको छ। चीनले एक बच्चा नीति (वान चाइल्ड पोलिसी) लाई सन् २०१५ मा खारेज गरेको थियो। लामो समयसम्म चनीनले एक बच्चा नीति अपनाएकाले त्यसको असर अहिले परेको मानिएको छ। मारिको ओई –बिबिसी

प्रकाशित: १५ चैत्र २०८० ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App