१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा युद्धअपराधको त्रासदी, एनेस्थेसियाबिनै शल्यक्रिया

राष्ट्रसंघका ९२ कर्मचारी र ३९ पत्रकारको मृत्यु

औषधिको अभावमा गाजामा कतिपय चिकित्सकले बेहोस पार्ने औषधि (एनेस्थेसिया) को प्रयोग नगरीकन गम्भीर घाइतेहरूको शल्यक्रिया गर्नुपरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जनाएको छ। ‘गाजामा सर्वसाधारणले भोगेको त्रासदी भयावह छ। हातखुट्टा भाँचिएकाको समेत एनेस्थेसियाबेगर शल्यक्रिया भइरहेको छ,’ जेनेभामा आयोजित पत्रकार सम्मेलनमा संगठनका प्रवक्ता क्रिस्टियन लिन्डमेयरले भने । सर्वसाधारणलाई पानी, इन्धन, खाद्य पदार्थ तथा स्वास्थ्य सामग्रीको चरम अभाव रहेको उनको भनाइ छ।

संयुक्त राष्ट्रसंघले हरेक दिन सहायता सामग्री बोकेका ५०० ट्रकलाई निर्वाध प्रवेश गर्न आह्वान गरेको चर्चा गर्र्दै उनले अस्पतालमा रहेका हाडजोर्नी भाँचिएका बिरामीको शल्यक्रियासमेत एनेस्थेसियाबिना गर्नुपर्ने अवश्यकता आउनु गम्भीर चिन्ताको विषय रहेको बताइन्। ‘गाजामा मृत्यु र पीडाको गहिराइ नाप्न नसकिने स्थिति छ,’ उनले भने। उनले आफ्नो जिम्मेवारी वहन गरिरहेको अवस्थामा १६ स्वास्थ्य सेवकको मृत्यु भएको जनाउँदै अन्तर्राष्ट्रिय मानवतावादी कानुनले यस्तो हत्यालाई निषेध गरेको बताए।  

‘डाक्टर्स विद्आउट बोडर्स’ले आफ्नो एक सहकर्मी र उसका कैयौं परिवारजन अल साटी शरणार्थी शिविरमा भएको एक विस्फोटमा मारिएको मंगलबार जनाएको छ । उक्त संस्थाका अनुसार मोहम्मद अल अहेल नाम गरेका ती स्वास्थ्य टेक्निसियन र उनका परिवारजनको सोमबार मृत्यु भएको थियो । आफ्ना कैयौं सहकर्मी जीवनरक्षक स्वास्थ्यसेवा उपलब्ध गराइरहेको बताउँदै डाक्टर्स विदाउट बोडर्सले उनीहरूको सुरक्षा चुनौतीपूर्ण रहेको बताएको छ । यसैगरी अन्तर्राष्ट्रिय रेडक्रस (आइसिआरसी) ले मंगलबार औषधि बोकेका दुई ट्रकलाई आक्रमण भएको जनाएको छ । ‘मानवीय सहायतामा जुटेकाहरूलाई बेरोकतोक आवागमन सुनिश्चित गरिनुपर्छ,’ आइसिआरसी गाजाका प्रमुख विलियम सोमबर्गले एक वक्तव्यमा भनेका छन् ।  

यसैगरी गाजामा संयुक्त राष्ट्र संघसँग आबद्ध ९२ कर्मचारीको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय उद्धार एजेन्सीका प्रमुख फिलिप लाज्जारिनीले बताएका छन् ।  

‘मानवताका लागि म तत्काल युद्धविरामका लागि आह्वान गर्छु,’ उनले सामाजिक सञ्जाल एक्समा भनेका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) ले गाजामा कम्तीमा ३९ पत्रकारको मृत्यु भएको बुधबार जनाएको छ । मृत्यु हुनेमा ३४ प्यालेस्टिनी, चार इजरायली र एक लेबनानी पत्रकार रहेको सिपिजेले भनेको छ । 

प्रकाशित: २३ कार्तिक २०८० ००:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App