राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा अब विरामीले टिकट लिन पहिला जस्तो घण्टौं लाइन बस्नु पर्ने बाध्यता हटेको छ। बिरामीले दशदेखि पन्ध्र मिनेटभित्र टिकट हातमै पाउँछन्। अस्पतालले टिकट काउन्टर विस्तार गरेपछि सहज बनेको हो। यसअघि ६ वटा टिकट काउन्टरबाट सेवा दिइरहेकोमा हालै चार वटा काउन्टर थप भएपछि बिरामी तथा आफन्तहरुलाई लामो समय लाइनमा बस्नु नपर्ने भएको हो।
दश वटा काउन्टरवाट एकैपटक सेवा दिँदा बिरामीले पहिलाको जस्तो एक घण्टा लाइन बस्नु पर्ने झंझट नभएको वीर अस्पताल टिकट काउन्टरकी कर्मचारी शर्मिला केसीले बताइन्। उनले भनिन्, ‘ पहिला पैतालिस मिनेटदेखि एक घण्टासम्म लाइन बस्नु पर्थ्यो, अहिले दश÷पन्ध्र मिनेटमै टिकट मिल्छ।’
छरितो सेवा प्रदान गर्ने सरकारको नीति अनुरुप वीर अस्पतालले अनलाइन टिकट, टोकन सिस्टम लागु गरेपनि बिरामीको चाप नघटेपछि काउन्टर विस्तार गरेको वीर अस्पतालका निर्देशक डा.दिलिम शर्माले बताए । बिरामीको गुनासो आएपछि तत्कालै थप चार वटा काउन्टर विस्तार गरेको निर्देशक शर्माले बताए। ‘अनलाइन टिकट भएपनि वीरमा टिकट काउन्टरबाटै सेवा लिने धेरै छन्। उनीहरुको सहजताका लागि काउन्टर विस्तार गरेको हो,’ उनले भने । तत्कालै निर्णय गरी काउन्टर विस्तार गरेकोले अस्थायी कर्मचारीको भरमा सेवा प्रदान गरिरहेको निर्देशक शर्माले बताए।
टिकट काउन्टर विस्तार भएपछि बिरामी र काउन्टरका कर्मचारी दुबैलाई सहज भएको काउन्टरकी कर्मचारी केसीले बताइन्। अस्पतालले टिकट काउन्टर बहिरंग सेवाको समय थप गरेकोले बितेका वर्षहरुको तुलनामा सेवा सहज बनेको उनले जानकारी दिइन ।
टिकट काउन्टर जाडो महिनामा विहान साढे सात बजेदेखि दिउँसो साढे दुर्इ बजेसम्म खुल्ला हुन्छ भने गर्मी मौसममा विहान साढे सातदेखि तीन बजेसम्म खुल्ला रहने गरेको छ। थप समय सेवा लिन परेमा विस्तारित सेवा अन्तर्गत सेवा लिने पनि व्यवस्था गरिएको छ ।
प्रकाशित: २ मंसिर २०८२ १७:२९ मंगलबार





