२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जापानिज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु, असोजसम्मै जोखिम कायम रहने

डेंगु र चिकनगुनियाँ संक्रमण फैलिनेमात्र नभइ वर्षातको मौसममा जापानिज इन्सेफ्लाइटिस भाइरसको संक्रमण पनि उच्च हुने गरेको छ । यो संक्रमणबारे अहिले पनि धेरैलाई थाहा नभएकोले समयमा उपचार नपाउँदा ज्यान जाने गरेको चिकित्सकहरु बताउँछन्। 

विश्व स्वास्थ्य संगठनका चिकित्सकहरुले असोजसम्मै यो रोगको उच्च जोखिम हुने भएकोले हरेक नागरिक सचेत हुनु पर्ने बताएका छन्। यो वर्ष संक्रमणका कारण तीन जनाको मृत्यु भइसकेको छ भने ३४ जना संक्रमित भएका छन्। आगामी महिनाभर थप संख्यामा प्रभावित हुने देखिएको विज्ञहरुले औल्याएका छन् ।  

यो वर्ष जापानिज इन्सेफ्लाइटिसबाट मोरङकी ४९ वर्षीया महिला, मोरङका १७ वर्षीय युवक र बाराका ७४ वर्षीय पुरुष रहेको विश्व स्वास्थ्य संगठनको नेपाल च्याप्टरले जनाएको छ । मृत्यु हुनेहरु जापानिज इन्सेफ्लाइटिसको खोप नलिएकाहरु हुन् ।  

चिकित्सकका अनुसार क्युलेक्स स्पाइसिस नामक सेतो रङको लामखुट्टेले संक्रमित सुंगुर, जंगली चरा, हाँस र घोडालाई टोकेपछि मानिसलाई टोकेमा यो रोग सर्छ । यो लामखुट्टे बिहान झिसमिसे र साँझपख सक्रिय हुन्छ ।  

यो लामखुट्टले जापानिज इन्सेफ्लाइटिस नामक भाइरस संक्रमित गराएपछि मानिसमा बिभिन्न जटिल लक्षणहरु देखिन्छ । यो लामखुट्टे धानखेत या पोखरी, दलदले पानी नजिक, हाँस फार्म  नजिक घर भएका मानिसलाई बढी मात्रामा टोक्ने गर्छ र संक्रमित हुन्छन । यो रोगको संक्रमण भएपछि ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, कमजोरी महसुस हुने हुन्छ । मस्तिष्कमा संक्रमण भइ मस्तिष्कको असन्तुलन गतिविधि देखिन्छ ।  

यो रोगको संक्रमण भएमा स्नायुमा असर गर्छ । संक्रमित भएका मध्येमा १५ देखि ३० प्रतिशतको मृत्यु हुन्छ । बाच्न सफल भएकाहरु जीवनभर कुनै न कुनै प्रकारको अपाङ्गता हुने चिकित्सक बताउँछन् ।  

यो रोगको कारण बढी उमेर भएका मानिसको तुलनामा १५ वर्ष मुनिका बालबालिका प्रभाति हुने गर्छन । तथ्यांक अनुसार पाका मानिसको तुलनामा ७५ प्रतिशत बढी बालबालिका प्रभावित हुने गर्छन, तर उमेर पुगेका मानिस पनि उत्तिकै प्रभावित हुने गर्छन् ।  

यो रोग विश्वमा सबैभन्दा बढी दक्षिण पुर्वी एशियामा रहेको र यो क्षेत्रमा पनि भारत बढी प्रभावित रहेको देखिन्छ । यो रोगको कारण एशियामा  प्रति वर्ष १० हजारदेखि २० हजार जनाको मृत्यु हुने गर्छ । दक्षिण पुर्वी एशियामा सन् २०२२ मा १४ सय जना, २०२३ मा १५०० र २०२४ मा १९५ जना जापानिज इन्सोप्लाइटिशवाट संक्रमित भएको तथ्यांक छ । नेपालमा ३१ जिल्लाहरु यो रोगको उच्च जोखिममा छन् ।  

यो रोगको मृत्युदर उच्च रहेकोले संक्रमणबाट बच्नु एक मात्र उपाय रहेको चिकित्सकहरुले औल्याएका छन् । चिकित्सकका अनुसार यो रोगको लक्षण देखिएमा सक्दो छिटो उपचारमा गएमा मृत्युवाट बच्न सकिने र जटिल अपाङ्गता हुनेवाट बच्न सकिने सुझाएका छन् । यी मध्येमा कुनै पनि लक्षण देखिएमा तुरुन्त उपचारको लागि अस्पताल जान उनीहरुले सुझाएका छन् ।  नेपालमा यो रोगको बारेमा जनचेतनाको कमीले बर्सेनि धेरैले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनका खोप तथा नियन्त्रात्मक रोग कार्यक्रमका डा.बालविन्डर सिंहले बताए ।  ‘मुख्य जनचेतनाको समस्या हो’ उनले भने ।  

यो रोगवाट बच्नको लागि पूरा बाहुला भएको लुगा लगाउने, राति झुल लगाएर सुत्ने, जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउने उपायहरु छन । यो वाहेक नेपाल सरकारले पाँच वर्ष मुनिका बालबालिकाको लागि नियमित खोप कार्यक्रम अन्तर्गत जापानिज इन्सेफ्लाइटिस विरुद्ध खोप दिने गरेको छ । पन्ध्र वर्ष माथिको जनसंख्याको लागि निःशुल्क खोपको व्यवस्था नभएकोले निजी क्षेत्रवाट किनेर लगाउने व्यवस्था रहेको छ ।

प्रकाशित: २६ श्रावण २०८२ १९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App