लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत करिब दुई करोडले उपचार सेवा लिएका छन् । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले आफ्नो ४३ औं वार्षिकोत्सवको अवसरमा बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ४३ वर्षको अन्तरालमा प्रणालीअन्तर्गत देशविदेशका गरी १ करोड ६६ लाख ९१ हजार ३ सय ८७ जनाले आँखा तथा कान उपचार गराइसकेका छन् ।
सगरमाथा चौधरी आँखा अस्पतालमा मात्रै ९२ लाख १४ हजार २ सय २२ जना आँखा तथा कान बिरामीको उपचार भइसकेको छ । यस अवधिमा समग्रमा २४ लाख ६७ हजार १ सय ३१ आँखा बिरामीको र ३२ हजार ७ सय ६२ जना कान बिरामीको शल्यक्रिया भएको छ । सगरमाथा चौधरी आँखा अस्पतालले मात्रै १५ लाख १३ हजार १ सय १३ जना आँखा तथा कान बिरामीको शल्यक्रिया गरेको छ ।
अस्पतालका प्रमुख प्रशासक अभिषेक रोशनका अनुसार सन् २०२५ मा मात्र यस अस्पतालले ७ लाख ४२ हजार ८ सय ४२ जना आँखा बिरामीको उपचार गरेको छ । जसमा ६२ हजार २ सय ६६ जना आँखा बिरामीको शल्यक्रिया गरेको रोशनले बताए ।
प्रभावकारी उपचार सेवा दिएवापत यस अस्पताल हालै विश्वस्तरीय सम्मानबाट सम्मानित भएको रोशनले बताए । हङकङमा आयोजित एसिया प्यासिफिक एकेडेमी अप्थल्मोलोजी अवार्ड २०२६ बाट यस अस्पताललाई सम्मान गरिएको उनले बताए ।
लहान आँखा तथा कान उपचार प्रणालीका प्रमुख प्रशासक सुधीर ठाकुरका अनुसार प्रणालीअन्तर्गत मधेस प्रदेशमा सगरमाथा चौधरी आँखा अस्पताल र कोशी प्रदेशमा विराटनगर आँखा अस्पताल (सेन्टर अफ एक्सिलेन्स) छन् । वागमती प्रदेश, कोशी प्रदेश र मधेस प्रदेशमा ४० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको उनले बताए ।
अस्पतालले तीन वर्षदेखि सुविधासम्पन्न आधुनिक भवनबाट उपचार सेवा पनि दिन थालेको छ । त्यहाँ जनरल फिजिसियन सेवादेखि आँखाका सम्पूर्ण जाँच तथा उपचार र आवासको व्यवस्था उपलब्ध छ । प्रमुख प्रशासक रोशनका अनुसार भवनमा २८ वटा ‘डिलक्स रुम’ छन् । ‘यहाँ उपचारका लागि चाहिने उपकरणदेखि अन्य सुविधा पनि विश्वस्तरको छ,’ उनले भने । रोशनका अनुसार देशका सबै जिल्लाबाट र भारत, बंगलादेश, भुटानलगायत देशबाट पनि आँखाका बिरामी आउने गरेका छन् ।
‘भारतमा विश्वकै पहिलो र दोस्रो ठुलो आँखा अस्पताल छन् । तर भारतीय बिरामीका लागि समेत भरोसा बनेको छ सगरमाथा चौधरी आँखा अस्पताल,’ रोशनले भने । उनका अनुसार भारतलगायत स्थानबाट पत्र लेखेर ‘संसार देख्ने आश मारिसकेका हामीलाई संसार देखाउने अस्पताल र आदरणीय चिकित्सकलाई धन्यवाद’ भनी आभार व्यक्त गरेका पत्रहरू आइरहन्छन् । यी धन्यवादसहित पठाइएका पत्र स्मरणीय रहेको अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीले बताए ।
भारतमै थुप्रै अस्पतालले आँखा उपचार सेवा गर्दै आए पनि भारतीय बिरामीमाझ सगरमाथा चौधरी आँखा अस्पतालको उपचारप्रतिको विश्वास रहेको त्यहाँबाट आउने बिरामीको भिडले नै पुष्टि गर्छ । ‘सगरमाथा चौधरी आँखा अस्पतालले सगरमाथाजस्तै नेपालको नाम विश्वभर फैलाइरहेको छ,’ नेपाल नेत्र ज्योति संघ सिरहाका अध्यक्ष सन्तोष चौधरीले भने । प्रायः हुनेखाने नेपाली स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडन्छन् । ‘तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्नुले यसको गुणस्तरीय पक्षलाई पुष्टि गर्छ,’ उनले भने । शल्यक्रियाका आधारमा विश्वमै अब्बल यो आँखा अस्पताल मधेस प्रदेशका लागि ‘चिकित्सा पर्यटन’को बलियो स्रोत भएको लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले बताए ।
अहिलेसम्म कुनै विवादमा नपरेको उक्त अस्पतालमा दैनिक आउने बिरामीमा नेपाली र विदेशीको संख्या बराबरी छ । विदेशी बिरामीमध्ये करिब ९० प्रतिशत भारतीय हुन्छन् । यस प्रकारको चिकित्सा पर्यटन ९मेडिकल टुरिजम० ले नगरको मात्र नभई मधेस प्रदेशको व्यापार मात्र होइन, गौरव पनि बढाएको चौधरीले बताए । यो अस्पताल सगरमाथाजस्तै नेपालको नाम विश्वभरमा चम्काएको उनले बताए ।
सन् १९८३ मा स्थापित यो अस्पताल बिरामीले तिर्ने न्यूनतम शुल्क र दातृ संस्थाको सहयोगबाट चलिरहेको छ ।
अस्पतालमा मुलुककै १५ उत्कृष्ट आँखा विज्ञसहित ३२० चिकित्साकर्मी एवं प्रशासनिक कर्मचारी छन् । यस अस्पतालमा वार्षिक जँचाउन आउने बिरामीको संख्या सात लाख ४२ हजार ८४२ र शल्यक्रिया गराउनेको संख्या ६२ हजार २६६ छ । कोर्निया (आँखाको पुतली) आँखाको पर्दा (रेटिना) ग्लुकोमा, अक्लोप्लास्टिक, डेढोपनको शल्यक्रिया, कन्ट्याक्ट लेन्सलगायत आँखा उपचार सम्बन्धि सम्पूर्ण सुविधा यस अस्पतालमा उपलब्ध रहेको प्रमुख प्रशासक रोशनले बताए ।
अस्पताल प्रशासनका अनुसार अस्पतालका संस्थापक निर्देशक डा.एलब्रेच्ट हेनिङको आविष्कार फेको प्रविधि विश्वभरका नेत्र विज्ञहरूले प्रयोग गर्दै आएका छन् । यो प्रविधि मोतिबिन्दुको शल्यक्रिया गर्ने प्रभावकारी प्रविधि हो ।
यस अस्पतालमा एआई रिसर्च (आँखामा समस्याको प्राविधिक पहिचानको प्रविधि) भइरहेको छ । डिप्लोमा इन ओप्थाल्मिक साइन्सको अध्यन समेत यस अस्पतामा भइरहेको छ । सँगै, पोखरा विश्वविद्यालयको सम्बन्धमा बिएससि अप्टोमेट्रिक्सको अध्यापन समेत छिट्टै सञ्चालनमा ल्याउने रोशनले बताए । यो अस्पताल उपचारसँगै अध्यापन र रिसर्चको पाठशालाको रुपमा विकास हुँदै गएको छ, उनले भने ।
अस्पतालका अध्यक्ष चौधरीले गुणस्तरीय उपचार मात्र नगरी लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गतका लहान र विराटनगर अस्पतालले वार्षिक तिन करोड रूपैयाँबराबरको निःशुल्क सेवासमेत दिँदै आएको बताए । लहान र विराटनगर आँखा अस्पतालले वार्षिक डेढडेढ करोड रूपैयाँबराबरको च्यारिटीमा उपचार गर्दै आएको उनले जानकारी दिए । अन्धोपन निवारण आफूहरूको मूल मन्त्र भएको उनले बताए ।
यस्तै, सगरमाथा चौधरी आँखा अस्पताल हङकङमा आयोजित 'एपिएओ अवार्ड २०२६' बाट सम्मानित भएको छ । ४३ वर्षको निरन्तर सेवा र उत्कृष्ट उपचार पद्धतिका लागि अस्पताललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रशंसा तथा सम्मान गरिएको अस्पतालका प्रमुख प्रशासक रोशनले बताए ।
प्रकाशित: २८ माघ २०८२ १४:५० बुधबार





