३ चैत्र २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

कालीकाेटका १८ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कालीकाेट जिल्लामा १८ सय १३ किशोरीलाई एचपीभी खोप लगाइने भएको छ।  

स्वास्थ्य सेवा कार्यालय कालीकाेटले शनिबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जिल्लाका १८ सय १३ भन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने जानकारी दिएको हो।

स्वास्थ्य सेवा कार्यालय कालीकाेटका अनुसार जिल्लाका ९ स्थानीय तहका १ सय ३२ खोप केन्द्रमार्फत १८ सय १३ किशोरीलाई खोप लगाइने जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए।

उनका अनुसार विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका ३२ किशोरी गरी कुल १८ सय १३ किशोरीलाई एचपीभी खोप लगाइने लक्ष्य लिइएको छ।

पहिलो चरणमा फागुन ४ र ५ गते पलाँता, पचालझरना, सान्नित्रिवेणी, नरहरिनाथ, शुभकालिका गाउँपालिका तथा रास्काेट नगरपालिका, खाँडाचक्र नगरपालिकामा दिइने छ। भने दोस्रो चरणमा महावै गाउँपालिका र तिलागुफा नगरपालिका फागुन ८ र ९ गते लगाइने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

स्वास्थ्य सेवा कार्यालयका डा. कमल भण्डारीले पाठेघरको मुखको क्यान्सर महिलामा गम्भीर स्वास्थ्य समस्याका रूपमा देखिँदै गएको बताए।

उनका अनुसार ३० वर्षभन्दा माथिका महिलाले अनिवार्य रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउनुपर्ने र ३० वर्षभन्दा कम उमेरमै जटिल लक्षण देखिएमा उमेर नपुगे पनि परीक्षण गराउन सकिने व्यवस्था रहेको छ।

विवाहित महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढी देखिने भएकाले पहिलो यौन सम्पर्कअघि नै एचपीभी खोप लगाउनु प्रभावकारी हुने उनले बताए।

यही कारण कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।

जिल्ला समन्वय समिति कालीकाेटका प्रमुख धनजित बहादुर  शाहीले पाठेघरको मुखको क्यान्सर प्रत्येक महिलासँग सम्बन्धित समस्या भए पनि यसप्रति पर्याप्त चासो नदिइएको बताए। उनले जिल्ला बाहिर रहेका किशोरीलाई खाेपबाट छुट्न नदिन सबैले समन्वय गर्नुपर्ने बताए।

स्वास्थ्य कार्यालयका अनुसार सरकारले प्रदान गर्ने एचपीभी खोप पूर्ण रूपमा निःशुल्क र सुरक्षित रहेको छ।

महिलालाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप, नियमित स्क्रिनिङ तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।

कालीकाेट जिल्लामा अघिल्लो वर्षमा ९८.३ प्रतिसत खाेप दिएको थियो।

प्रकाशित: २४ माघ २०८२ ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App