स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले वीर अस्पतालका चिकित्सकलाई बिरामीको कुरा राम्रोसँग सुन्न निर्देशन दिएकी छन् ।
सोमबार अस्पताल अनुगमनको क्रममा उनले अस्पतालका चिकित्सक तथा प्रशासनलाई यस्तो निर्देशन दिएकी हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वीर अस्पतालमा बिरामीले औषधी नपाएको, डाक्टरको व्यवहार राम्रो नभएको लगायत गुनासो सुनेपछि सोमबार अनुगमन गर्न पुगेकी थिइन ।
करिव दुई घण्टा समय अस्पताल अनुगमनमा बिताएकी हुन । ‘बिरामीको कुरा राम्रोसँग सुनेर मात्र उपचार गर्नुहोला’ मन्त्री शर्माले चिकित्सकलाई इंगित गर्दै भनिन ।
सो क्रममा अस्पतालमा आवश्यक जनशक्ति अभावले समस्या भएको आफूले बुझेको भन्दै चाँडै व्यवस्थापन गर्ने बताएकी छन । ‘अन्यत्र तानतुन गरेर जनशक्ति व्यवस्थापन गरौंला’ उनले भनिन । बिरामीको चाप अनुसार वीर अस्पतालले अस्पताल विस्तार गर्न दुवाकोटमा रहेको जग्गामा भवन विस्तार गर्न आवश्यक देखिएको बताएकी छन् ।
प्रकाशित: १ मंसिर २०८२ १४:३६ सोमबार





