२ चैत्र २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

महिला र पुरुष दुवैलाई एचपिभी खोप दिने तयारीमा सिभिल अस्पताल

सिभिल सर्भिस अस्पतालले अब महिला र पुरुष दुवैलाई ह्युमन पेपिलोमा भाइरस  (एचपिभी) विरुद्धको खोप दिने भएको छ। चालु आर्थिक वर्षभित्र दिने गरी निर्णय भएको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताए।

अस्पतालका अनुसार काठमाडौं महानगरपालिका वडा नं ३१ सँगको सहकार्यमा सुरुमा पाँच हजारलाई सेवा दिने गरी निर्णय भएको हो। यो खोप वडाको सहयोगमा अस्पतालको सहकार्यमा दिने तयारी भइरहेको निर्देशक रेग्मीले जानकारी दिए। उनका अनुसार खोप खरिद गरी लिने तयारी भइरहेको छ। यो खोप सुरुमा पाँच हजारलाई लक्षित गरी दिन लागिएको अस्पतालले जनाएको छ।

खोप लिनेको संख्या पाँच हजारभन्दा बढी भएमा सेवाग्राही आफैंले खोप किनेर लगाउन सक्ने व्यवस्था पनि हुने अस्पतालले जनाएको छ। तीनवटा मात्रा दिएमा उमेर समूहअनुसार प्रभावकारिता हुने भएकाले तीनवटा मात्रा लगाउनुपर्छ। यो खोप प्रति मात्रा ४५ सयदेखि पाँच हजार रुपैयाँ पर्छ।

१५ वर्षदेखि २५ वर्षभित्रका महिला र पुरुष दुवैलाई

सरकारले १९ देखि १५ वर्षभित्रका किशोरीलाई मात्र एचपिभी खोप दिइरहेकोमा त्यो उमेर समूहबाहेकका १५ देखि २५ वर्षभित्रका पुरुष र महिला दुवैलाई यो खोप दिइने अस्पतालले जनाएको छ। उमेर समूहअनुसार खोपको मात्र बढी दिँदा एचपिभी भाइरस (पेपिलोमा भाइरस) विरुद्ध काम गर्ने भएकाले उमेर समूह र खोपको मात्र दुवै बढाएर दिन लागिएको निर्देशक रेग्मीले बताए।

उनका अनुसार पाठेघरको क्यान्सरको संक्रमण गराउने एचपिभी भाइरस मुख्य त पुरुषबाट महिलामा सर्ने भएकाले यो खोप पुरुषलाई नै दिनुपर्ने निर्देशक डा. रेग्मीको तर्क छ। ‘एचपिभी सार्ने मुख्य पुरुष नै हुन्, उनीहरूलाई खोप दिएमा धेरै महिलामा स्वतः यो भाइरसको संक्रमण रोकिन्छ’, उनले भने। पुरुषलाई पेपिलोमा भाइरसविरुद्धको खोप दिँदा महिलामा संक्रमण सार्ने क्रम रोकिन्छ नै।

पुरुषमा हुने लिंगको क्यान्सरबाट बच्न सकिने रेग्मीको भनाइ छ। नेपालमा पाठेघरको मुखको क्यान्सर धेरैमा हुने र पेपिलोमा भाइरस १५ र १८ ले बढी मात्रामा यस्तो क्यान्सर गराउने भएकाले यो खोप दिनुपरेको निर्देशक रेग्मी बताउँछन्।

‘यो खोपले पेपिलोमा भाइरसको संक्रमण रोक्छ। संक्रमण नभएपछि स्वतः पाठेघरको मुखको क्यान्सर र पुरुषमा हुने लिंगको क्यान्सर नियन्त्रण हुन्छ’, उनले भने।

सरकारले यो खोप १५ वर्षमुनिका किशोरीलाई अभियानकै रूपमा गत वर्ष दिएको जनाएको छ। त्योभन्दा माथिको उमेर समूहको हकमा खोप दिँदा पनि प्रभाव पर्ने राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. रमेशकान्त अधिकारी बताउँछन्।

उनका अनुसार कुन उमेर समूहमा कुन खोप दिने भन्ने रहे पनि विभिन्न देशको आफ्नै नियम रहेको र नेपालले पन्ध्र वर्षमुनिकालाई मात्र दिने निर्णय गरेको अधिकारीहरू बताउँछन्। खोप कसलाई कति दिने भन्ने विषयमा अस्पतालबाट जानकारी नपाएको उनले बताए।

प्रकाशित: ९ पुस २०८२ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App