सरकारले बिनातयारी राष्ट्रिय आयुर्वेद तथा पञ्चकर्म कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ। यी कार्यक्रमका लागि आगामी वर्षको लागि बजेट विनियोजन हुनुले कार्यक्रम अपुरो रूपमा सञ्चालन हुने देखिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।
विभागका अनुसार सरकारले बजेट भाषणमार्फत राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र बुढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, आयुर्वेद अस्पताल नरदेवीलाई सञ्चालनमा ल्याउने घोषणा गरेको हो। यी तीनवटै केन्दलाई सञ्चालनमा ल्याउन सीमित बजेट विनियोजन गरिएको भए पनि दरबन्दी तयारीबिना अपुरो हुने देखिएको विभागले जनाएको छ।
विभागका प्रवक्ता तथा आयुर्वेद चिकित्सक डा. पुण्य केशरीका अनुसार यो वर्षदेखि पूर्ण सञ्चालनमा ल्याउने घोषणा भए पनि अहिलेसम्म दरबन्दी तयारी (ओएनएम) भएकै छैन। यो केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब ८६ जना दरबन्दी स्वीकृत भई पदपूर्ति हुनुपर्ने विभाग तथा बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रका निमित्त निर्देशक डा. श्यामबाबु यादवले बताए।
‘अहिले तीन छात्रवृत्ति करारका तीनजना चिकित्सकका भरमा बहिरङ्ग सेवा सञ्चालन गरेका छौं, पञ्चकर्म तथा अन्तरङ्ग कार्यक्रम सुरु गर्न समय लाग्छ’, उनले भने। यसका लागि कम्तीमा ८६ जना चिकित्सकसहितको प्राविधिक कर्मचारी पदपूर्ति हुनुपर्छ। केन्द्रले १५ जना चिकित्सकसहित ८६ जना जनशक्ति प्रस्ताव गरेको छ, तर यो जनशक्ति सर्वेक्षण र प्रक्रिया पूरा गरेर आइपुग्दा धेरै समय लाग्ने भएकाले कतिबेला पूर्ण सञ्चालनमा आउँछ भन्ने स्थिति नरहेको उनले बताए। ‘बहिरङ्ग सेवा भने छात्रवृत्तिका करार चिकित्सक लिएर गर्छौं’, उनले भने। पञ्चकर्म तथा बिरामी भर्ना गरी पूर्ण उपचार दिनका लागि भने थप जनशक्तिबिना सम्भवै छैन।
केन्द्रका निमित्त निर्देशक डा. श्यामबाबु स्वयं विभागकै दरबन्दीका चिकित्सक रहेको र एकजना आठौं तहका चिकित्सकका भरमा केन्द्र सञ्चालनमा रहेको विभागका प्रवक्ता डा. केशरी बताउँछन्। यो हिसाबले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म र योग केन्द्रमा बजेट भए पनि कार्यक्रम समयमै सञ्चालन हुन मुस्किल छ।
प्रकाशित: २५ असार २०८३ ११:२५ बिहीबार





