फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को भिड्दै छन्।
अमेरिकाको बोस्टनस्थित फक्सबोरो रंगशालामा हुने यस बहुप्रतिक्षित खेलका लागि फिफाले मैदानभित्रका पाँचै जना रेफ्री अर्जेन्टिनाका नियुक्त गरेपछि नयाँ विवाद सिर्जना भएको छ। खेलको मुख्य रेफ्रीमा कठोर निर्णयका लागि चर्चित फ्याकुन्डो टेल्लो रहेका छन्।
अर्जेन्टिना आगामी यात्रामा फ्रान्सको सम्भावित प्रतिद्वन्द्वी हुन सक्ने भएकाले यो नियुक्तिलाई लिएर कतिपय फुटबल प्रशंसकहरूले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन्। यद्यपि, फिफाका व्यावसायिक रेफ्रीहरूले राष्ट्रियताभन्दा माथि उठेर निष्पक्षतालाई प्राथमिकता दिने गर्छन्।
मुख्य रेफ्री टेल्लो मैदानमा शून्य सहनशीलता राख्ने रेफ्रीका रूपमा चिनिन्छन्। सन् २०१९ देखि फिफा सूचीमा रहेका उनले प्रतिखेल औसत ४.५९ पहेँलो कार्ड दिने गरेका छन्। सन् २०२२ को अर्जेन्टिनी च्याम्पियन्स ट्रफी फाइनलमा बोका जुनियर्स र रेसिङ क्लबबीचको खेल नियन्त्रण बाहिर जाँदा टेल्लोले एकै खेलमा १० वटा रातो कार्ड दिएर विश्वभर सनसनी मच्चाएका थिए। उनले कतार विश्वकप २०२२ मा मोरक्को र पोर्चुगलबीचको क्वार्टरफाइनल पनि खेलाएका थिए।
यस खेलमा टेल्लोको नेतृत्वमा रहने टोलीमा जुआन पाब्लो बेलाटी र ग्याब्रिएल चाडे सहायक रेफ्री रहेका छन्। त्यस्तै चौथो अफिसियलमा डारियो हेरेरा र रिजर्भ सहायक रेफ्रीमा क्रिस्टियन नाभारो रहेका छन्।
टेल्लोको कडा रेफ्रीङ शैलीका कारण दुवै टोलीका मुख्य खेलाडीहरू सेमिफाइनल गुमाउने जोखिममा परेका छन्। फ्रान्सका माइकल ओलिसे र ब्राडली बारकोला यसअघि नै पहेँलो कार्ड पाइसकेका कारण यो खेलमा पुनः कार्ड खाएमा सेमिफाइनल खेल्न पाउने छैनन्। मोरक्कोका कप्तान अचरफ हाकिमी, बिलाल एल खानौस र अज्जेदिन औनाही पनि उस्तै जोखिममा छन्।
प्रकाशित: २५ असार २०८३ १५:३१ बिहीबार





