सात वर्षमा सात स्वास्थ्यमन्त्री परिवर्तन भए। सात वर्षपछि सात करोड रूपैयाँको लागतमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा) मा सिटीस्क्यान मेसिन आइपुगेको छ। साउनको पहिलो सातादेखि अस्पतालले बिरामीलाई सेवा दिने लक्ष्यसहित मेसिन जडान सुरु गरिएको छ।
सो अवधिमा खगराज अधिकारी, गगन थापा, उपेन्द्र यादव, पदमा अर्याल, भानुभक्त ढकाल, विरोध खतिवडा स्वास्थ्यमन्त्री बनेर बिदा लिइसके। स्वास्थ्यमन्त्रीको परिवर्तनसँगै क्षेत्रीय अस्पतालमा सिटी स्क्यान मेसिनको माग उठ्दै सेलाउँदै गयो। स्वास्थ्य उपचारमा अत्यावश्यक सिटी स्क्यान मेसिनको टेन्डर प्रक्रिया नहुँदा ढिलाइ भयो। ‘सात वर्षपछि सिटीस्क्यान मेसिन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुगेको छ,’ प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले भने, ‘पुरानो बन्दैन भन्न चार वर्ष लाग्यो। नयाँ ल्याउन बजेट जुटाउन तीन वर्ष लाग्यो।’ २०७८ असार ३१ गते सिटीस्क्यान मेसिनको लागि पैसा बुझाइएको थियो। तर, कोरोनाको प्रभावले आउन ढिलाइ भएको उनको भनाइ थियो। कोरोनाकै कारण विभिन्न देशहरूमा भएको लकडाउनले मेसिन आउन ढिलो भएको उनले बताए।
काठमाडौंस्थित हस्पिटेक संस्थालाई सिटीस्क्यान मेसिन ल्याउने टेन्डर पर्यो। संस्थाले नेदरल्यान्डबाट मेसिन ल्याई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गर्न सुरु गरेको उनले जानकारी दिए। उनका अनुसार संस्थाले फिलिप्स कम्पनीको मेसिन क्षेत्रीय अस्पतालमा जडान सुरु गरेको हो। ‘संस्थासँग पाँच वर्षसम्म सामान फेर्ने र मर्मत सम्भार गर्ने गरी सम्झौता गरेका छौं,’ निर्देशक डा. खत्रीले भने, ‘साउनको पहिलो सातादेखि बिरामीलाई सेवा दिने लक्ष्यमा छौं।’
अस्पतालमा पुरानो सिटीस्क्यान मेसिन थियो। एक पटक मर्मतसम्भार गरियो। मर्मत सम्भार गरेर झन्डै एक वर्ष चल्यो। तर मेसिन फेरि बिग्रिएर थन्कियो। थन्किएको मेसिन मर्मतसम्भार गरेर चलाउने भन्दाभन्दै समय बित्यो। ‘बनाउनेभन्दा भन्दै बनाउनै सकिएन,’ उनले भने, ‘नबनेको मेसिनलाई बन्दैन भन्न मन्त्रालयको सिफारिस चाहियो। प्रक्रियामा गएर सिफारिस गर्नै चार वर्ष लाग्यो।’ बिग्रिएको मेसिन नबन्ने भएपछि नयाँ सिटीस्क्यान मेसिन ल्याउन पहल सुरु गरिएको थियो।
प्रकाशित: २५ असार २०७९ ०२:५२ शनिबार





