७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सिंहदरबारभित्र ४० प्रतिशत कर्मचारीलाई संक्रमण

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार नै कोरोना संक्रमणको हट स्पट बनेको छ। सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये करिब ४० प्रतिशत कोरोना संक्रमित भएको एक सरकारी निकायको अनुमान छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये करिब ४० प्रतिशतमा कोरोना संक्रमण भएको अनुमान गरिएको बताए। 

‘पिसिआर गरेका कर्मचारीको रिपोर्टको आधारमा हामीले यो अनुमान गरेका हौं’, अधिकारीले भने, ‘पिसिआर नगरेका कर्मचारीसमेत जोड्दा आधाजति कर्मचारीमा कोरोना संक्रमण भएको हाम्रो अनुमान छ।’ सिंहदरबारभित्र करिब ५ हजार कर्मचारी कार्यरत छन्।

त्यहाँ प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालय छन्। यसैगरी राष्ट्रिय योजना आयोग, वित्त आयोग, नेपाल टेलिभिजन, रेडियो नेपाल गरी करिब ३० वटा कार्यालय छन्। मन्त्रालयपिच्छे क्यान्टिन पनि राखिएका छन्। सामान्यतया एउटा कार्यालयमा १ सय २० जनादेखि १ सय ५० जनासम्म कर्मचारी कार्यरत हुन्छन्।

सामान्य प्रशासन मन्त्रालयका अनुसार सामान्यमा मात्रै ४० जना कर्मचारी संक्रमित छन्। यसैगरी प्रधानमन्त्री कार्यालयमा ४० प्रतिशत कर्मचारी संक्रमित छन्। १० जना सचिवमा संक्रमण देखिएको छ। यसैगरी राजपत्रांकित द्वित्तीय श्रेणी (सहसचिव) सरहका ३ दर्जनभन्दा बढी कर्मचारी संक्रमित छन्। उपसचिव, शाखा अधिकृत, नायब सुब्बासरहका कर्मचारीमा ठूलो संख्यामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

सरकारले कोरोना संक्रमण भएका कर्मचारीलाई अस्पताल भर्ना भएको अवस्थामा संक्रमण भएको दिनदेखि अस्पताल डिस्चार्ज भएको ३ दिनसम्म, अस्पतालमा भर्ना हुनुनपर्ने बिरामीको हकमा त्यस्ता कर्मचारीलाई ७ दिनसम्म र कन्ट्याक्ट टेसिङमा परेका कर्मचारीलाई ३ दिन बिदा दिने निर्णय गरेको छ। गत पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

यता भिडभाड कम गर्न गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ। सधैं भिडभाड देखिने सिंहदरबार प्रवेशमा कडाइपछि सुनसान देखिएको छ। सिंहदरबारमा संक्रमणको जोखिम कम गर्न गृहले आगन्तुकका लागि पूर्ण खोप लगाएको कार्ड देखाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ।

यस्तै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयहरूले सम्बन्धित जिल्लाहरूमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्न सुरु गरेका छन्। काठमाडौं उपत्यकाका ३ जिल्लाले सार्वजनिक सेवामा आलोपालो प्रणाली लागु गरेका छन्।

प्रकाशित: ८ माघ २०७८ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App