८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

असोजभित्र ३३ प्रतिशतलाई खोप

राजधानीको सिभिल अस्पतालमा सोमबार अस्ट्राजेनेकाको खोप लगाइँदै । तस्बिरः दिपेश श्रेष्ठ/नागरिक

नेपालमा आगामी असोजभित्र एकतिहाइभन्दा बढी जनसंख्याले कोभिड १९ विरुद्ध दुवै डोज खोप लगाइसक्ने परिवार कल्याण महाशाखाले जनाएको छ। हालसम्म आयात भइसकेका खोप र असोजभित्रै आइपुग्ने सुनिश्चित भइसकेको खोपको डोजका आधारमा महाशाखा यो निचोडमा पुगेको हो।

हालसम्म नेपालमा एक करोड डोज खोप आइसकेको छ भने असोजभित्र थप ९० लाख डोज आउनेछ। अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत थप १६ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराइसकेको छ । यो खोप एक मात्रा लगाए पुग्छ। अरू खोप भने एकजनालाई दुई डोजका दरले दिनुपर्छ। यस हिसाबले असोज मसान्तसम्म १ करोड ३ लाख ३४ हजार जनसंख्यालाई खोपको पूर्ण मात्रा उपलब्ध हुन्छ। यो भनेको नेपालको कुल जनसंख्याको एक तिहाइ अर्थात् ३३ प्रतिशत हुन आउँछ।

हालसम्म नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख ३४ हजार जोन्सन खोप, चीनबाट अनुदानको १६ लाख र खरिद गरेको ५० लाख डोज, भुटानबाट २ लाख ३० हजार डोज, भारतबाट अनुदानको ११ लाखसहित २१ लाख डोज र जापानबाट ८ लाख डोज खोप आइसकेको छ। जापानबाट दुई साताभित्र थप ८ लाख डोज खोप आउने प्रक्रियामा छ। चीनले थप ६० लाख डोज खोप खरिद प्रक्रियाबाट नेपाललाई दिने भएको छ। यो खोप असोजभित्र नेपाल आइपुग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले दिने भनिएको मोडर्ना र फाइजरको खोप भने सन् २०२२ को अप्रिलसम्म आइपुग्ने महाशाखाले जनाएको छ। यो हिसाबले आगामी चैतभित्र सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य सरकारले तय गरेको हो।

खोप लगाएका नागरिकको संख्या बढ्दै गर्दा उनीहरू र कोरोना संक्रमण निको भएका नागरिकमा विकसित भएको एन्टिबडीका कारण अब कोरोनाको मृत्युदर घटाउन सकिने परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ शर्माले बताए। ‘खोप लगाइसकेका र संक्रमित भइसकेकाहरू धेरै भएपछि कोरोना संक्रमण कम हुन्छ नै, भइहालेमा पनि गम्भीर बिरामीको संख्या अत्यन्त कम हुन्छ’, उनले भने। सोही अनुपातमा मृत्युमा पनि कमी आउने उनले बताए।

कोभिड १९ भाइरसको भेरियन्टमा कस्तो परिवर्तन हुन्छ र खोपको प्रभाव कति समयसम्म रहन्छ भन्ने विषयमा अध्ययन भइनसकेकाले खोप लगाइसकेपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गर्ने, भौतिक दूरी कायम राख्नेजस्ता नियम निरन्तर पालना गर्नुपर्ने डा. शर्माको सुझाव छ।

शंका नगरी अस्ट्राजेनेका खोप लगाउन आग्रह

सरकारले पाँच महिनाअघि कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका करिब १४ लाख ज्येष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ। वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा सोमबारदेखि खोप दिन सुरु भएको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।

जापानबाट आएको ८ लाख र भुटानबाट आइपुगेको २ लाख ३० हजार डोज अस्ट्राजेनेका खोप तीनवटा प्रदेशमा वितरण गरिएको खोप शाखाले जनाएको छ। थप खोप दुई साताभित्र जापानबाट आइपुगेपछि अन्य चार प्रदेशमा वितरण गरिने शाखा प्रमुख डा. झलक गौतमले बताए। पहिलो मात्र सेरम इन्स्टिच्युट अफ इन्डियाको कोभिसिल्ड लगाएकालाई दोस्रो मात्रा अस्ट्राजेनेका खोप दिन लागिएको हो। यो खोपको नाममात्र फरक रहेकाले शंका नगरी खोप लगाउन डा. गौतमले सुझाए।

उनका अनुसार अस्ट्राजेनेका र कोभिसिल्डको खोपको संरचना एउटै हो, जसलाई बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको हो। ‘छुट्टाछुट्टै देशले उत्पादन गरेअनुसार भिन्नभिन्न नाम दिने क्रममा सेरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड नाम राखेको हो । खोपमा रहेको चिज एउटै हो र उही काम गर्छ’, डा. गौतमले भने।

पाँच महिनापछि दोस्रो मात्रा लिए पनि खोपले काम गर्ने परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ शर्मा र खोप शाखाका प्रमुख डा. झलक गौतमको दाबी छ। डा. गौतमका अनुसार अक्सफोर्ड विश्वविद्यालयको अध्ययनअनुसार अस्ट्राजेनेका तथा कोभिसिल्ड दुवै १६ हप्तापछि दिए पनि काम गरेको पाइएको छ। यो खोप दुवै डोज लगाइसकेपछि करिब एक वर्षसम्मलाई कोभिड १९ विरुद्ध काम गर्ने प्रारम्भिक अध्ययनले देखाएको डा. गौतमले बताए। तर कोभिड १९ भाइरस र खोप दुवै नयाँ भएकाले खोपले कति वर्ष काम गर्छ भन्ने सुनिश्चित भइसकेको छैन। यस कारण दुवै डोज खोप लिइसकेपछि हरेक व्यक्तिले दुई मिटर भौतिक दूरी कायम राख्ने, हातको सफाइ गर्ने र मास्क लगाउनेजस्ता मापदण्ड अनिवार्य पालना गर्नुुपर्ने गौतमको सुुझाव छ।

संक्रमण दर २२ प्रतिशत

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमण दर २२ प्रतिशत रहेको छ। परीक्षण भएका १० हजार ४ सय ४५ वटा पिसिआर नमुनामध्ये २ हजार ६ सय ९ जनामा संक्रमण पुष्टि भएको छ। एन्टिजेन र पिसिआर दुवै गरी १६ हजार ५ सय ९४ वटा नमुना परीक्षण भएकोमा ३ हजार ६ सय ५१ जना अर्थात् २२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । थप संक्रमितसहित नेपालमा हालसम्म संक्रमितको संख्या ७ लाख ८७ हजार ६ पुगेको छ । हाल ३६ हजार २ सय ८८ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ५९ जना संक्रमित थपिएका छन्। सोही अवधिमा नेपालमा थप २२ जनाको मृत्यु भएको छ। अघिल्लो दिन मृतक संख्या ५५ थियो। नेपालमा मृतक कोरोना संक्रमितको संख्या १० हजार १ सय १५ पुगेको छ।

प्रकाशित: २६ श्रावण २०७८ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App