८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नेपालमा पहिलो पटक ‘रोवटिक सर्जरी’ सेवा सुरु

नेपालमा पहिलो पटक काठमाडौं मेडिकल कलेजमा रोवटिक प्रविधिबाट शल्यक्रिया सेवा सुरु हुने भएको छ। बिहीबार अस्पतालले पत्रकार सम्मेलन गरेर उक्त सेवाको बारेमा जानकारी दिएको हो। अस्पतालमा भदौको पहिलो साताभित्र उक्त सेवा सुरु हुने मेडिकल कलेजमा सूचना अधिकारी केशव सापकोटाले बताए। सेवाका लागि एक साताअघि मात्रै अमेरिकाको उपकरण उत्पादक कम्पनीले अस्पतालका न्यूरो सर्जन डा. अमित थापासहितको टोलीलाई रोवटिक न्यूरो सर्जरीको तालिम समेत दिइसकको उनले बताए। १० करोडको लगानीमा रोवटिक सर्जरी सेवाका लागि प्रविधि ल्याइएको कलेजका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए ।

रोवटियन न्यूरो सर्जरी प्रक्रियामा ‘नेभिगेसन सिस्टम’ले सर्जनहरूलाई ‘थ्रिडी मनिटर’मा ट्युमर कहाँ छ ? कुन नसा कहाँ छ भन्ने कुराको जानकारी दिन्छ। सोही जानकारी अनुसार टाउको तथा मेरुदण्डमा प्वाल पारी ट्युमर निकालिन्छ। यो प्रविधिले बिरामीको रोग कति भागमा फैलिएको छ भन्ने सजिलै जानकारी दिने भएकाले ठूलो शल्यक्रिया गर्नु नपर्ने कलेजको दाबी छ। यसअघिको शल्यक्रिया विधिमा सर्जनहरूले शरीरका भित्री अंगहरूको सर्जरी गर्ने बेलामा काल्पनीक थ्रिडी बनाएर काम गर्दै आएको बताइएको छ।

मेडिकल कलेजका अध्यक्ष डा. शर्माले सार्क राष्ट्रमा भारतपछि दोस्रो पटक नेपालमा यो सेवा सुरु गर्न लागेका बताए। पहिला नै यो सेवा सुरु गर्ने तयारी भएपनि कोरोना भाइरसका कारण गरिएको लकडानले गर्दा उपकरण भित्रिन ढिलो हुँदा सेवामा ढिलाई भएको अस्पतालले जनाएको छ। रोवटियन सर्जरीले बिरामी र चिकित्सक दुवैलाई सहज हुने डा. शर्माको भनाइ छ । ‘हाम्रो शरीरका कुनै पनि भागहरू चलाउन मस्तिस्कमा बेग्लाबेग्लै नसाहरू हुन्छन्। परम्परागत प्रविधिबाट मस्तिस्कको ट्युमर निकाल्न सर्जरी गर्दा ती नसाहरू काटिनबाट जोगाउन निक्कै चुनौति हुन्थ्यो। पुरै टाउको खोलेर शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो।’ केएमसीका वरिष्ठ न्यूरो सर्जन डा. अमित थापाले भने।

कुनैपनि शल्यक्रिामा सुरक्षा र सही शल्यक्रिया आवश्यक पर्ने भएकोले रोवटियन सर्जरीमा दुवै पक्षको सुनिश्चतता हुने बताउँदै अस्पतालका न्यूरो सर्जन डा. थापाले यो सेवा नेपालको लागि ठूलो उपलब्धि भएको बताए। ‘सानो प्वाल पारेर मस्तिस्कको जुनसुकै भागमा रहेको ट्युमर निकाल्न सकिन्छ, शल्यक्रियामा कम समय लाग्ने र बिरामी छिटो निको हुने छ,’ उनले भने।

प्रकाशित: २२ श्रावण २०७८ ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App