४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा फेरि बढ्यो संक्रमण

काठमाडौ उपत्यकामा कोरोना संक्रमणको गति फेरि उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। गत २४ घण्टामा उपत्यकामा ९ सय ४ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन ७ सयको हाराहारीमा संक्रमित भएका थिए। केही सातायता दैनिक संक्रमितको संख्या ७ सयदेखि ८ सय हाराहारीमा थियो।  

उपत्यकामा संक्रमण बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले कडाइका साथ जनस्वास्थ्य मापदण्ड पालना गर्न सबै नागरिक तथा सेवाप्रदायक निकायलाई अनुरोध गरेको छ। मापदण्ड उल्लंघन गर्नेलाई प्रचलित ऐनबमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ। खोप अभियान तथा खोप प्रमाणीकरण सेवाका क्रममा हुने गरेको भीड र अन्य क्षेत्रमा मापदण्ड पालना नहुँदा उपत्यकामा संक्रमण बढिरहेको चिकित्सकले औंल्याएका छन् । उपत्यकामा दैनिक बढ्दो संक्रमणसँगै उपचारमा आउने बिरामीको संख्या पनि बढेको अस्पतालहरूले जनाएका छन्। तथ्यांकअनुसार हाल उपत्यकामा ७ सय ६७ जनाको जनरल तथा एचडियुमा उपचार भइरहेको छ भने १ सय ८२ जनाको आइसियुमा उपचार भइरहेको छ।

उपत्यकाबाहेक वाग्मती प्रदेशका अन्य जिल्ला र प्रदेश १ मा पनि संक्रमणदर बढ्दो क्रममा छ। गत २४ घण्टामा नेपालमा ३ हजार ३ सय ८३ जना नयाँ संक्रमित थपिएका छन् । यस हिसाबले मंगलबार कोरोना संक्रमणदर २० प्रतिशत रहेको छ। नेपालमा संक्रमितको संख्या ७ लाख ६५ हजार ८ सय १८ पुगेको छ। तीमध्ये दोस्रो लहर अवधिमा ४ लाख ६४ हजार २ सय ४२ जना संक्रमित भएका हुन्। गत २४ घण्टामा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। थप मृतकसहित नेपालमा ९ हजार ९ सय २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। तीमध्ये ६ हजार ५ सय ८० जनाको दोस्रो लहर अवधिमा मृत्यु भएको हो।

प्रकाशित: २० श्रावण २०७८ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App