१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

वीपीका चिकित्सकहरुको आन्दोलनमा कर्मचारी र नर्स पनि मिसिए

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा विद्यार्थीहरुको आन्दोलनमा कर्मचारी र नर्सहरुले पनि ऐक्यवद्धता जनाएका छन्।  

अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएपछि एक चिकित्सकलाई उपकूलपति डा.ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेको विरोधमा चार दिनदेखि फ्याकल्टी तथा विद्यार्थीहरु आन्दोलित छन्। उनीहरुले उपकुलपतिले स्पष्टीकरण फिर्ता लिनुपर्ने साथै सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै दैनिक रुपमा बिहान उपकूलपति कार्यालयअघि धर्ना र विरोध सभा गरिरहेका छन्।

चिकित्सकहरुको यो आन्दोलनमा कर्मचारी कल्याण समाज तदर्थ समिति र स्टाफ नर्सहरुले पनि ऐक्यवद्धता जनाउदै सहभागिता जनाएका छन्।  

कर्मचारी कल्याण समाज, तदर्थ समितिका महासचिव मदन हलवाईले आफूहरुले ६ गतेसम्म अल्टिमेटम दिएको र ७ गतेदेखि उपकुलपति कार्यालयअघि धर्ना कार्यक्रम राखिए पनि चिकित्सकहरुले १ गतेदेखि नै निरन्तर धर्ना, विरोधसभा गरिराखेकोले ऐक्यवद्धता जनाएको बताए। ‘वीपीभित्र धेरै समस्या छन्, विकृति र अनियमितताहरु छन्। यी सबै हटोस् भनेर फ्याकल्टी डाक्टरहरु आन्दोलनमा हुनुहुन्छ, यसमा हाम्रो पनि समर्थन र ऐक्यवद्धता छ,’ हलवाईले भने, ‘हाम्रो पनि मागहरु र स्टाफ नर्सहरुको पनि माग पूरा गरिनुपर्छ।’

कर्मचारीहरुले गत बर्षको कोभिड भत्ता अपारदर्शी भएको भन्दै समान रुपमा वितरण गर्नुपर्ने माग गरेका छन्। यस्तै, आर्थिक वर्ष २०७६÷७७ को वृद्धि तलब दिइनुपर्ने, कर्मचारीहरुको बढुवा फाइलअघि बढाउनुपर्ने, एप्रोन भत्ता सरकार सरह बराबर हुनुपर्ने, स्वास्थ्य बीमा गरेपनि २० प्रतिशत खर्च लिने व्यवस्था हटाएर निःशुल्क गर्नुपर्नेलगायत मागहरु राखेका छन्। ‘कर्मचारीको तलबबाट मर्मत सम्भार खर्च काट्छ, तर उच्च तहका पदाधिकारी र कर्मचारीहरुले मात्र उपभोग गरिरहेको छ। हामीले त कहिल्यै उपभोग गर्न पाइदैन, यो मर्मत सम्भार खर्च कटौती बन्द गर्नुपर्छ,’ तदर्थ समितिका महासचिव हलवाईले भने।  

फ्याकल्टी वेल्फेयर सोसाइटीका महासचिव डा.एस.पी.रिमालले आफूहरुको आन्दोलन उपकूलपतिविरुद्धको मात्र नभै प्रतिष्ठानका चारै जना पदाधिकारीहरुको विरुद्धमा भएको बताए। ‘यो आन्दोलन एकजना उपकुलपतिविरुद्ध मात्र होइन, चारै जना पदाधिकारीहरुको विरुद्धमा हो,’ उनले भने, ‘अब हामी अल्टिमेटमसहित कडा खालको आन्दोनलको कार्यक्रमहरु घोषणा गर्नेछौं, हामी छलफल गछौं र चाडै घोषणा गछौं।’ जुनियर रेसिडेन्ट वेल्फेयार सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले व्यक्ति नभै प्रतिष्ठानको सिस्टम फेर्न आवश्यक भएको बताए।

उनले विभिन्न विभागदेखि नै सुधारको अभियान चलाउनुपर्नेमा पनि जोड दिए। स्टाफ नर्स पदमकुमार राईले आन्दोलनमा नर्सिङको पनि समर्थन रहेको बताउँदै आर्थिक वर्ष २०७५÷७६ मा वृद्धि भएको २० प्रतिशत तलब अहिलेसम्म नपाएको गुनासो गरिन्।

प्रकाशित: ४ असार २०७८ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App