७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

एउटै गाउँका २७ जनाको परीक्षणमा ९ जनामा संक्रमण

जुम्लाकोे तातोपानी गाउँपालिका– ६ रावतवाडा गाउँमा २७ जनालाई कोरोना परीक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गाउँमा कोरोनाजस्तै लक्षण भएका दुई दर्जन बढी नागरिक बिरामी थिए। सबैलाई एन्टिजेन परीक्षण गरिएको थियो।  

कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामी फेला परेपछि वडाको समन्वयमा परीक्षण गरिएको वडाध्यक्ष विशाल खड्काले बताए। उनले भने, ‘गाउँमा सिकिस्त बिरामीमध्ये २७ जनालाई एन्टिजेन परीक्षणका लागि कोभिड अस्पतालमा पठाइएको थियो।’

गाउँमा एक सातादेखि बिरामी पर्ने संख्या बढिरहेको हो। बिरामी परेका नागरिकमा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ज्वरो आउने, खाना नपच्ने, पातलो दिसा हुने जस्ता लक्षण छन्। वडाध्यक्ष खड्काले भने, ‘गाउँमा बिरामीको संख्या बढ्न थालेपछि वडापालिका निकै संवेदनशील बनेको छ। बिरामीको घरदैलोमा जाने, बिरामी भेट्ने र औषधि उपचार र कोरोना परीक्षणका लागि अस्पतालसम्म लैजाने गरिएको छ।’

उनले ५५ घरधुरीमा झण्डै ३५ जना बढीमा यो लक्षण देखिएको बताए। एन्टिजेन परीक्षण गरेर कोरोना पोजेटिभ भएका बिरामीलाई गाँउपालिकाले बनाएको संस्थागत आइसोलेसनमा राखिएको छ।    

सिकिस्त हुनेमा ४० वर्षकादेखि ७० वर्ष समूहका रहेका छन्। केही समयअघि रावतवाडामा काठमाडौँ, सुर्खेत, भोजपुर लगायतका जिल्लाबाट मानिसहरु भित्रिएका थिए।

तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईका अनुसार गाउँमा बिरामी भएको थाहा पाएपछि आजै (मंगलबार) २७ जनालाई एन्टिजेन परीक्षण गर्दा ९ जना कोरोना संक्रमण देखिएका बताए। उनले भने, ‘गाउँका बिरामीको औषधि उपचारदेखि एन्टिजेन र पीसीआर परीक्षणका लागि स्वास्थ्य शाखा लागिरहेको छ। गाउँमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालनमा गर्न आग्रह गरिएको छ।’

प्रकाशित: १८ जेष्ठ २०७८ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App