८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना संक्रमितलाई गाउँलेको नि:शुल्क भोजन

म्याग्दी रघुगंगा गाउँपालिका–३,पिप्लेमा सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा रहेका संक्रमितलाई खाना खुवाउने अभियानमा स्थानीय। तस्बिर: नागरिक

ग्रामिण क्षेत्रमा कोरोना संक्रमित भेटिए त्रसित तथा आंतकीत हुने, कोरोनाको सामान्य लक्षण देखिदाँ उपचार अगाडी नै कोरोना संक्रमितको ट्याग लगाइदिने अझै पनि भेटिन्छन्। कोरोना संक्रमितले अपमान हुने डरका कारण सकेसम्म लुकाउन समेत खोजेको देखिन्छ। तर, म्याग्दीको एक गाउँमा कोरोना संक्रमित भएर आएकालाई गाउँलेले सम्मान र प्रोत्साहन सहित निशुल्क भोजनको व्यवस्था मिलाएका छन्।  

म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचाररत विरामीहरूलाई स्थानीय युवा क्लब, आमा समूह र सामाजिक संघ संस्थाको समन्वयमा निःशुल्क खानाको व्यवस्था गरिएको छ। कोरोना संक्रमण पुष्टि भएर आएका संक्रमितसँगै आएका आफन्तलाई समेत निशुल्क भोजनालय सञ्चालन गरिएको वडा अध्यक्ष जिवनकुमार मल्लले बताए। ‘संक्रमितले खानुपर्ने सबै ब्यवस्था मिलाइएको छ,‘घरमै बसेका संक्रमितलाई भन्दा पनि धेरै सुविधा दिने गरी समुदाय परिचालन भएका छन्’ अध्यक्ष मल्लले भन ।  

अस्पतालको नजिकै रहेको मन्दिर परिसरमा सञ्चालन गरिएको भोजनालयमा स्थानीय न्यू सन्तोष सेवा यूवा क्लव, नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखा, सिवाईसीी क्लब लगायत स्थानीय अन्य संघसंस्थाले संक्रमितको प्रतिरोधात्मक क्षमता बढाउने खानाहरूलाई प्राथमिकता दिएका छन् । ‘टाइम–टाइममा आवश्यक पर्ने खानाका लागि मेन्यु नै तयार गरिएको छ ‘समुदायको सहयोगले संक्रमित समेत उत्साहित हुनुहुन्छ’ न्यू सन्तोष सेवा यूवा क्लवका सचिव मुक्तिप्रसाद शर्माले भने ।  

म्याग्दी रघुगंगा गाउँपालिका–३,पिप्लेमा सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा रहेकासंक्रमितलाई खाना खुवाउँदै स्थानीय । तस्बिर: नागरिक

उनले विश्वव्यापी रूपमा फैलिएको कोरोनाको संक्रमणबाट जोगिन र संक्रमितको उपचार तथा रेखदेखमा सघाउनु हरेकको जिम्मेबारी भएको बताए । स्थानीयको उदारहणीय अभियानमा सघाउन स्वदेश तथा विदेशमा रहेका रघुगंगा बासीले समेत साथ दिएका छन् । स्वंयमसेवकले भान्सादेखि संक्रमित भएको आइसोलेसनसम्म विहानदेखि बेलुकी सम्म नै विरामीको लागि खाना संगै तातोपानी, बेसारपानी, सुप लगायतका विरामीलाई आबश्यक पर्ने खानेकुराहरूको निःशुल्क उपलब्धता गराउने गरेका छन् ।  

उपचारपछि घर फर्किने संक्रमितले समेत सबैलाई भेटेरै धन्यवाद समेत दिने गरेका छन्। उपचारको लागि विरामी ल्याएर आएका आफन्तलाई विरामीको लागि खानाको बन्दोबस्त मिलाउन कठिन हुन थालेपछि आवश्यक व्यवस्थापन समेत गरिएको छ । संक्रमित होम आइसोलेसनमा बस्न नसक्ने अवस्थाका र शरीरमा अक्सिजनको अभाव भएकालाई अक्सिजन दिनुपर्ने, दिर्घरोगी संक्रमति संस्थागत आइसोलेसनमा रहेका छन् । हालसम्म आइसोलेनबाट ११ जना कोरोना मुक्त भएर घर फर्किएका छन् भने बिहिबार विहानसम्म ९ जना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए । स्थानीयले निशुल्क भोजनसहित संक्रमतिलाई हौसला बढाउने काम गरेको भन्दै प्रशंसा भइरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अक्सिजन सहित विभिन्न उपकरणहरू समेत जुटाउने गरिएको छ । 

प्रकाशित: ६ जेष्ठ २०७८ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App