७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई तयारी रहन सेनाको निर्देशन

देशभर कोरोना प्रकोप बढ्दै गर्दा नेपाली सेनाले आफ्ना अवकाशप्राप्त सैनिकलाई आवश्यक परेका बेला बेलाउन सक्नेगरी तयारी अवस्थामा रहन आग्रह गरेको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा हालै जंगी अड्डामा बसेको विशेष बैठकले कोरोनाको बढ्दो संक्रमण र यसको नियन्त्रण तथा रोकथाममा भूमिका खेल्न अवकाश प्राप्त स्वास्थ्यकर्मीको आवश्यकता पर्नसक्ने भन्दै यस्तो निर्देशन दिएको हो। सेनाले २०७२ पछि अवकाश पाएका तीन सय २० भन्दा बढी स्वास्थ्यकर्मीलाई यस्तो निर्देशन दिएको हो। यस्ता स्वास्थ्यकर्मीहरूमा अनुभवी सर्जन, फिजिसियन, ल्याव टेक्निसियन, नर्स लगायत रहेको सेनाले जनाएको छ।  

०७२ पछि अवकाश पाएका स्वास्थ्यकर्मीमा भूकम्पका बेला काम गरेको अनुभव पनि रहेकाले संकटकाबेला उनीहरूको अनुभव प्रयोगमा ल्याउन सकिने ठानेर यस्तो निर्णय गरिएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए। हाल नेपाली सेनामा दुई हजार तीन सय स्वास्थ्यकर्मीहरूले विभिन्न विभागमा रहेर काम गरिरहेको र अवकाश प्राप्तहरूलाई पनि जिम्मेवारीमा खटाउँदा संकटको सामान गर्न सहज हुने सेनाको विश्लेषण रहेको छ।  

सरकारले समेत सेनालाई थप बेडको व्यवस्था गर्नेलगायतका निर्देशन दिएकाले र संक्रमण बढ्दै गर्दा संकटको सामना गर्न सेनाको भूमिका महत्वपूर्ण हुनेभएकाले सेनाले आफ्नो तर्फबाट पनि तयारी थालेको हो। सेनाले हाल स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा आवश्यक बेड निर्माणको कामलाई पनि अघी बढाएको छ।  

‘हामीले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा आवश्यक सुविधा सहितका बेड निर्माणको काम गरिरहेका छौँ,’ प्रवक्त पौडेलले भने। सेनाले वर्तमान स्वास्थ्य संकटलाई मध्यनजर गर्दै सैनिक अस्पतालमार्फत सर्वसाधारणलाई पनि सेवा उपलब्ध गराइरहेको जनाएको छ।  

हाल कोरोना उपचारका लािग ७५ बेडको व्यवस्था रहेको विरेन्द्र सैनिक अस्पतालमा एक सय देखि एक सय ५० क्षमतामा अभिवृद्धिका लागि पनि तयारी रहेको सेनाले जनाएको छ। सर्वसाधारणलाई पनि सेवा दिने उद्देश्यले यस्तो तयारी भइरहेको सेनाले जनाएको छ। सामान्यत सैनिक अस्पतालमा बहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिक र उनीहरूको परिवारलाई सेवा उपलब्ध हुँदै आइरहेको छ।

प्रकाशित: २३ वैशाख २०७८ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App