२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

विकासे रकम कोरोना नियन्त्रणमा

कर्णाली प्रदेश सरकारले विकासे रकम रकमान्तर गरेर कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि खर्च गर्ने भएको छ। तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली प्रदेश सरकारले जनाएको छ।

स्वास्थ्य संकटका बेला अन्य खर्चभन्दा जनताको जिउज्यानको सुरक्षाका लागि प्रदेश सरकारले विकासे रकम रकमान्तर गरेको प्रदेश सरकारले जनाएको छ। कोभिड रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि थप एक अर्ब बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले जानकारी दिइन्। दोस्रो लहरको कोभिड नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड, चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पताल र रणनीतिक अस्पतालहरूलाई १२ करोड बजेट निकासा गरी पठाइएको छ। प्रदेश भित्रिने चारवटा नाकामा थप स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाइएको कर्णाली प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री केसीले जनाइन्। 

‘हालसम्म एक लाख दुई सय २२ जनाको पिसिआर परीक्षण गरिएको छ। जसमध्ये आठ हजार तीन सय दुईजना संकमित देखिएको र हाल सक्रिय संक्रमित सात सय ६० जना रहेका छन्,’ उनले भनिन्, ‘प्रदेशभर स्वास्थ्यतर्फ स्वीकृत दरबन्दीको एक तिहाई मात्र जनशक्ति पदपूर्ति भएको अवस्थामा प्रदेश सरकारले विभिन्न मितिमा करार प्रक्रियामार्फत एक सय नौजना चिकित्सकसहितको स्वास्थ्यकर्मी भर्ना गरी परिचालन गरिएको छ। एक सय ५० जना सहायकस्तरका स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा रहेको र थप जनशक्ति आपूर्तिका लागि संघीय सरकार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुरोध गरिएको छ।’

कोभिड नियन्त्रण तथा प्रतिकार्यका लागि आवश्यक मास्क, सेनिटाइजर, पिपिई तथा पिसिआर सञ्चालनका लागि रिएजेन्ट, विन्टलगायत सामग्री आवश्यक संख्यामा व्यवस्था गरिएको भन्दै उनले भनिन्, ‘हाल प्रदेशभर रहेका सम्पूर्ण सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालमार्फत कोभिड संक्रमित बिरामीको उपचार व्यवस्था मिलाइएको छ। जसमध्ये प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुम पश्चिमलाई हब अस्पतालको रूपमा र अन्य सबै अस्पतालमा अक्सिजनसहितको आइसियु र आइसोलेसन सुविधाको व्यवस्थापन गरिएको छ।’ स्थानीय तह, प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालहरूमा समेत गरी एक हजार नौ सय ५० आइसोलेसन, आइसियु ६२, भेन्टिलेटर ३४ र एचडियु ५० शय्या रहेका छन्।

आवश्यक थप आइसोलेसन, आइसियु भेन्टिलेटर र एचडियु व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको छ। कोभिड संक्रमितको उपचारका लागि अक्सिजनको आपूर्ति चुनौतीपूर्ण बनेको छ। अक्सिजन आपूर्तिका लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ठूला अप्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ भने १० वटै जिल्लामा मिनी अक्सिजन प्लान्टका लागि ४०/४० लाखको दरले बजेट विनियोजन गरी कार्य प्रारम्भ गरिएको मन्त्रीले केसीको भनाइ छ।

प्रदेशको आन्तरिक क्षमताले नभ्याउने अवस्थामा नेपालगन्जबाट दैनिक एक सय ५० सिलिन्डर आपूर्तिको व्यवस्था मिलाइएको छ। हाल प्रदेशभर चार सय ठूला अक्सिजन सिलिन्डर रहेका र संघीय सरकारको मापदण्डबमोजिम अस्पतालमा सिलिन्डर आपूर्तिको व्यवस्था मिलाइएको छ। ‘कोभिड संक्रमित बिरामीको प्रेषणका लागि आवश्यक एम्बुलेन्स सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्नुका साथै एम्बुलेन्स सेवा व्यवस्थापन प्रणाली स्थापना गर्न पहल भएको छ। विकट क्षेत्रका लागि हवाई उद्वारको व्यवस्थापनका लागि पहल गरिएको छ,’ उनले भनिन्, ‘गरिब तथा विपन्न समुदायका लागि कोभिड उपचारमा आवश्यक पर्ने औषधि निःशुल्क व्यवस्थापन गरिने छ।’

प्रकाशित: २२ वैशाख २०७८ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App