६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कोरोना उपचारमा नयाँ औषधि

अस्पतालका कोभिड–१९ वार्डहरूबाट सुखद समाचार कमै आउँछन् । संक्रमण दर बढिरहेका विश्वका अस्पतालमा संक्रमितको अत्यधिक चाप छ । तर लगातारको क्लिनिकल परीक्षणका कारण सोमबार घोषणा गरिएका दुई नयाँ औषधिले बिरामी र अस्पताल दुवैको हित गर्ने देखिएको बेलायती पत्रिका इकोनोमिस्टले जनाएको छ ।  

घुँडाको दुखाइ कम गर्न प्रयोगमा ल्याइएका टोसिलिजुमाब र सारिलुमाब नामका औषधि कोभिड–१९ का बिरामीको उपचारमा पनि सहयोगी देखिएका छन् । यी औषधिको प्रयोगले कोरोना मृत्युलाई एक चौथाइले घटाएको परीक्षणले देखाएको छ । परीक्षणमा सहभागी सघन उपचार कक्षमा लग्नुपर्ने अवस्थाका आठ सय बिरामीमध्ये अधिकांश बेलायतका थिए । विश्वका ६ देशमा यो औषधि परीक्षण गरिएको थियो । कुल सहभागीमध्ये आधालाई अन्य उपचार विधिसहित यी दुई औषधिमध्ये एक दिइएको थियो भने आधालाई डेक्सामेथासोनसहित अन्य स्टानडर्ड उपचार विधि मात्र प्रयोग गरिएको थियो । 

डेक्सामेथासोनसहित स्टानडर्ड विधि मात्र प्रयोग गरिएका बिरामीमध्ये ३६ प्रतिशत तथा टोसिलिजुमाब र सारिलुमाब प्रयोग गरिएका बिरामीमध्ये २७ प्रतिशतको मृत्यु भयो । अर्काे शब्दमा भन्ने हो भने यी नयाँ औषधिले एक चौथाइ मृत्युदर घटाएको परीक्षणले देखायो ।  

यसैगरी टोसिलिजुमाब र सारिलुमाब लिएका बिरामी अस्पतालबाट ७ देखि १० दिन छिटो डिस्चार्ज भए । यो सुखद समाचार बनेको छ । यी दुवै औषधिले समान हिसाबले काम गरेको भए पनि टोसिलिजुमाब सर्वसुलभ भएकाले यसको प्रयोग बढी भएको थियो । कोभिड–१९ उपचारमा दुखाइ कम गर्ने (एन्टी इन्फ्लेमेटरी) औषधिका रुपमा डेक्सामेथासोनको प्रयोग हुँदै आएको छ ।  

टोसिलिजुमाब र सारिलुमाबको प्रयोगले बिरामीको प्रतिरक्षा प्रणालीलाई सशक्त पारेको परीक्षणले देखाएको छ । यी दुई औषधि तुलनात्मक रुपमा महँगो रहेका कारण विकासशील राष्ट्रका लागि त्यति सहज र सुलभ नहुने देखिएको छ । नसामा सुई लगाएर यी औषधि प्रयोग गर्दा बेलायतमा ७५० पाउन्डदेखि १ हजार पाउन्डसम्म खर्च लाग्छ । तर बेलायतमा एक दिनमा सघन उपचार कक्ष (आइसियू) मा उपचार गर्दा प्रतिबिरामी २ हजार पाउन्डसम्म खर्च लाग्ने भए पनि अस्पताल बस्ने अवधि छोटो हुनाले बिरामीलाई फाइदा हुने बताइएको छ । 

बेलायतको सरकारी स्वामित्वमा रहेको निकाय नेसनल हेल्थ सर्भिसेज (एनएचएस) ले सघन उपचार कक्षमा उपचाररत बिरामीलाई तत्काल टोसिलिजुमाब दिइने जनाएको छ । उत्पादक कम्पनी रोचेले यो औषधि उत्पादन बढाउने भएको छ । बेलायतले हाललाई यी दुवै औषधि निर्यातमा रोक लगाएको छ । कोभिड–१९ का कारण मृत्युदर लगातार बढेको सन्दर्भमा यो परीक्षणले आशाको सञ्चार गराएको इकोनोमिस्टले जनाएको छ ।

प्रकाशित: २९ पुस २०७७ ००:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App