२ चैत्र २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

उदयपुरका ३ हजार ८४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइँदै

खोप अभियानबारे अन्तरक्रियापछि सामूहिक तस्बिर लिँदै सहभागी। तस्बिरः महेश्वर

उदयपुरमा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप दिइने भएको छ। स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबार अन्तरक्रियात्मक पत्रकार सम्मेलन आयोजना गरी आउँदो माघ २६ गतेदेखि एचपीभी खोप अभियान चलाउने विषयमा जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर सुबास निरौलाले कक्षा ६ मा पढ्ने किशोरीहरूलाई लक्षित गरी एचपीभीविरुद्धको खोप दिन लागिएको जानकारी दिए। निरौलाका अनुसार यसपटक जिल्लाभरका कक्षा ६ मा अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीहरूलाई सो खोप दिन लागिएको हो।

त्यसैगरी गत वर्ष खोप हान्न छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्दै गरेका बालिका तथा ११ वर्षदेखि १४ वर्षसम्मका विद्यालय बाहिर रहेका किशोरीहरूलाई पनि सोही कार्यक्रमअन्तर्गत खोप लगाउने कार्यक्रम रहेको निरौलाले बताए। सुपभाइजर निरौलाका अनुसार यसपालि गत वर्षको खोप अभियानमा छुटेका २ सय ९३ सहित ३ हजार ८ सय ४८ जना किशोरीले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप पाउने छन्।

जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटा स्थानीय तहका २ सय ४ वटा सामुदायिक तथा ८२ वटा संस्थागत गरी जम्मा २ सय ८७ विद्यालयका किशोरीलाई खोप दिने कार्यक्रम रहेको छ। स्वास्थ्य कार्यालयका अनुसार यस वर्षको खोप अभियानमा ३ सय ४९ वटा खोप केन्द्र तोकिएको छ। जसमा ३ सय ६३ जना स्वास्थ्यकर्मी तथा ३ सय ४ जना स्वयंसेवक परिचालन गरिनेछ।

आउँदो माघ २६ गतेदेदि सुरु हुने खोप अभियान फागुन १ गतेसम्म साता दिन सञ्चालन हुने कार्यालयले जनाएको छ।

प्रकाशित: २४ माघ २०८२ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App