२३ फाल्गुन २०७७ आइतबार
स्वास्थ्य

कोरोना कहर : अव्यवस्थित व्यवस्थाले संक्रमण बढ्ने जोखिम

कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नुपर्ने सरकार आन्तरिक कलह र कतिपय असान्दर्भिक राष्ट्रवादी लहडमा भुलेको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि पिसिआरको दायरा कम गर्दै लगेको छ । पिसिआरको दायरै कम गरेपछि तथ्यांकमा संक्रमितको संख्या पनि कम हुने नै भयो । पिसिआर परीक्षण जाँच शून्यमा झार्ने हो भने तथ्यांकमा संक्रमितको संख्या पनि शून्य नै देखिन्छ । दैनिक आठ हजारसम्म पिसिआर जाँच गरेको सरकारले परीक्षणको दायरा घटाएर चार हजार हाराहारीमा खुम्च्याएको छ । परीक्षण गरेका मध्ये अहिले औसत दैनिक १५० हाराहारीमा संक्रमितको संख्या देखिएको छ । उपत्यकामा ३५० मा संक्रमण देखिइसकेको छ (यो रिपोर्ट तयार पार्दासम्म) । यसबाट पनि पुष्टि हुन्छ,– उपत्यका जोखिमरहित छैन ।  

नेपालमा कोरोनाकै कारण (यो रिपोर्ट तयार पार्दासम्म) ४० जनाको ज्यान गइसकेको छ । तीन लाख तीन हजारभन्दा बढीमा पिसिआर परीक्षण गरिएको छ । जसमा संक्रमितको संख्या १७ हजार नाघिसकेको छ । संक्रमितमध्ये ११ हजार बढी निको भएको सरकारको तथ्यांक छ । तथ्यांकअनुसार निको हुनेको दर करिव ६५ प्रतिशत छ । अझै २३ हजार पाँच सय व्यक्ति क्वारेन्टाइनमा छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या नै कम भएकाले पिसिआर परीक्षणको दायर घटाइएको हो । डा. गौतमले भने, ‘मान्छे हुनु पर्‍यो नि टेस्ट गर्नलाई, कस्को टेस्ट गर्ने ?’ गौतमका अनुसार भारतबाट नेपाल भित्रिनेको संख्या कम भएकाले पनि परीक्षण कम गरिएको हो । एक महिनाअघि भारतबाट २०/२५ हजार हाराहारी व्यक्ति आएकोमा आजकाल (यो रिपोर्ट तयार पार्दा सम्म) दैनिक दुई हजार हाराहारीमा आएकाले पिसिआर परीक्षण घटाइएको स्वास्थ्य मन्त्रालयको तर्क छ ।  डा. गौतमले भने, ‘अहिले मान्छे आउँदैन कस्को टेस्ट गर्ने हो ?’  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार असार १५ गतेदेखि साउन १ गतेसम्ममा १२ सय बढीको पिसिआर जाँच गरिएको थियो । तीमध्ये १५ जनामा कोरोना पोजेटिभ देखियो । डा. बाँस्तोलाले अस्पतालमा परीक्षण गरेका संक्रमितको दरमा खासै घटबढ नदेखिएको बताए ।

नेपाल सरकारले बनाएको क्राइटेरियाअनुसार स्थल मार्गबाट नेपाल प्रवेश गर्ने, हवाई मार्गबाट नेपाल प्रवेश गर्ने, लक्षण देखिएका, संक्रमण पोजेटिभ देखिएका व्यक्तिको सम्पर्कमा भएका व्यक्तिको, संक्रमण धेरै देखिएको समुदायका सबै व्यक्तिको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको दाबी छ । ‘भोलि रोग ठिक भयो भने पनि आजको जति पाँच हजारमै परीक्षण गर्ने ? भोलि जम्मा दुई हजार मान्छे आए भने मैलै पाँच हजारको कहाँबाट टेस्ट गर्ने ?’ डा. गौतमले प्रतिप्रश्न गरे, ‘टेस्ट मात्रै गरेर राज्यको ढुकुटी सिध्याउने ?’  

काठमाडौं उपत्यकाका नख्खु, तीनकुने, अस्पतालका इमर्जेन्सी, कपन क्षेत्र, होटलका काउन्टर, बैंकका काउन्टरजस्ता ठाउँमा चार हजार व्यक्तिको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । संक्रमित तीन जनामध्ये दुईजना भारतबाट आएका र एकजना ब्युटिपार्लर सञ्चालन गरेका व्यक्तिलाई संक्रमण पुष्टि भएको डा. गौतमले बताए । उनले भारतबाट आउने व्यक्तिबाट नै ब्युटिपार्लर सञ्चालकमा कोरोना सरेको हुनसक्ने बताए ।  

उपत्यकामा संक्रमण फैलिएको अवस्थामा नियन्त्रणमा समेत चुनौती देखिन्छ । काठमाडौं उपत्यकामा तीन सय ५० जनामा कोरोना पुष्टि भैसकेको छ । त्यसो त प्रवक्ता डा. अनुप बाँस्तोला पनि नेपाल प्रवेश गर्ने व्यक्तिको संख्यामा कमी आएकाले संक्रमितको संख्या घटेको बताउँछन् । टेकु अस्पतालमा शंकास्पद भाइरस संक्रमितहरु भने स्वास्थ्य परीक्षण गर्न पुग्नेहरुको संख्यामा कमी आएको प्रवक्ता बाँस्तोलाले जानकारी दिए ।

चक्करमा सरकार
विशेषज्ञको तर्क अनुसार यो भाइरस तत्काल सजिलै निर्मूल भइहाल्ने देखिन्न । तर, नेपालमा यो भाइरस प्रवेश गर्दाखेरि नै स्वास्थ्य सामग्रीमा समेत कमिसनको चक्करमा लागेको सरकारी संयन्त्रले प्रभावकारी रुपमा काम गर्न नसक्दा जनतामा निराशा छाउनु स्वाभाविकै हो । त्यति मात्रै हैन उपत्यकामा भाइरस फैलिए भयाभह स्थिति आउन सक्ने भयले विशेषज्ञले सजग हुनुपर्ने औंल्याइसकेका छन् ।  

त्यसो त स्वास्थ्यकर्मी पनि सुरक्षित हुनुपर्ने अवस्था छ । तर, कमिसनको खेलमा लागेको सरकारले बेलैमा सबै ठाउँमा स्वास्थ्य सामग्री पुर्‍याउन नसक्दा त्रसितको अवस्था बन्यो । स्वास्थ्यकर्मीलाई बेलैमा पिपिईलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्नु सरकारको असफलता हो । कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नुपर्ने सरकार आन्तरिक कलह र कतिपय असान्दर्भिक राष्ट्रवादी लहडमा भुलेको छ । संक्रमण नियन्त्रणमा प्रधानमन्त्रीका टुक्काले काम गर्दैन प्रभावकारी योजना नै चाहिन्छ ।  

एकातर्फ क्वारेन्टाइनको अव्यवस्थित व्यवस्थापन र अस्पतालमा स्रोत साधनको कमीका कारण संक्रमितहरुले अप्ठेरो र असुरक्षित अवस्था खेप्नुपरेको छ । असुरक्षित र अप्ठेरोकै कारण कति व्यक्ति त क्वारेन्टाइन स्थलबाटै भागेका छन् । कसैको क्वारेन्टाइनस्थलमै ज्यान गुमाउनुपरेको तीतो यथार्थ छ ।  मृत्यु हुनेमध्ये अधिकांश व्यक्तिको त नमुना संकलन लिए पनि मृत्यु भइसकेपछि  मात्र रिपोर्ट आएको देखिन्छ । यस्तो हुनु अव्यवस्थित व्यवस्थापनको परिणाम नै हो । तर, अहिले भने पिसिआर परीक्षणको रिपोर्ट नरोकिएको डा. गौतमले जानकारी दिए । उनले भने, ‘अहिले यहाँ दस हजार टेष्ट गर्न सक्ने ल्याब छन् ।’

अहिले कोरोना परीक्षणको रिपोर्ट २४ घण्टाभित्रै दिइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताको दाबी छ । प्रयोगशालामा दैनिक दुई हजार नमुना परीक्षण गर्न सकिन्छ । तर, अहिले पहिलेभन्दा घटेर दैनिक करिब नौ सय हाराहारीमा नमुना आएको सूचना अधिकारी गुप्ताले जानकारी दिए ।  

नियन्त्रणको चुनौती
मानिसले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा कोरोना नियन्त्रणमा चुनौती भएको सरकारी पक्षको तर्क छ । हात धुने, सेनिटाइजर प्रयोग गर्ने, मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्न विशेषज्ञको सुझाव छ । १/२ वर्ष मात्रै हैन, २/४ वर्ष नै कोरोनाबाट बच्न मापदण्ड अपनाउनुपर्ने हुनसक्ने भएकाले सचेत हुन डा. गौतमको सुझाव छ । तीन तहका सरकारबीच सही समन्वय नहुँदा पनि भाइरस नियन्त्रणमा चुनौती थपिएको देखिन्छ ।  

भाइरस नियन्त्रणका लागि टिम बनाएको भए पनि तीन तहको सरकारबीच उचित समन्वय हुन नसक्दा तुरुन्त तथ्यांक उपलब्ध हुन नसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेको स्वीकारोक्ति छ । तर, काम भने सकारात्मक ढंगले भइरहेको उनको दाबी छ । त्यसैगरी कतिपय व्यक्तिले आफू बसेको ठाउँको सही जानकारी नदिँदा पनि चुनौती भएको डा. पाण्डेले बताए । उनले भने, ‘रौतहट घर भन्दिन्छन् बस्छन् काठमाडौं । कतिपयले त मोबाइल नै स्विच अफ गरिदिन्छन् ।’ 

समुदाय स्तरसम्म भाइरस फैलिन सकेको भए पनि ट्राभल हिस्ट्रि नभएकाहरुमा पनि यो भाइरसको संक्रमण देखिएकोले चुनौती भने रहेको प्रवक्ता डा. बाँस्तोलाको तर्क छ । डा. बाँस्तोलाले अस्पतालबाट पनि सर्न सक्ने भएकाले अस्पताल जाँदा सावधानी अपनाउनुपर्ने सुझाएका छन् ।  

भयावह रुप लिन सक्ने भएकाले कोरोनालाई हेल्चेक्र्याइँ नगर्न विशेषज्ञको सुझाव छ । अस्पताल व्यवस्थित नभए अझै भयावहको जोखिम रहेको विशेषज्ञको तर्क छ ।  

टेकु अस्पताल पुग्ने संक्रमितमध्ये करिब २० प्रतिशतमा सामान्य लक्षण देखिए पनि अन्य व्यक्तिमा खासै लक्षण नदेखिएको डा. बाँस्तोला बताउँछन् । सुरक्षाका उपाय अपनाएर बिरामीको उपचारमा आफू खटिएको उनी बताउँछन् । लक्षण देखिनुपूर्वका तीन दिन र लक्षण देखिइसकेपछि तीन दिन भाइरस सर्ने बढी जोखिम हुन्छ । अस्पतालबाट घरमा जाँदा भने सुरक्षाका उपाय अपनाएर सामाजिक दूरी कायमलाई भने आफूले ध्यान दिने गरेको डा. बाँस्तोलाले बताए ।  

नेपालमा संक्रमितमध्ये युवापुस्ताकै संख्या बढी छ । त्यसमा पनि ११ देखि ५० वर्षसम्मका व्यक्तिमा बढी संक्रमण भएको देखिन्छ । यो उमेरसमूह तुलनात्मक रुपमा बढी हिँडडुल गर्ने समूह हो । युवा अवस्थामा रोगप्रतिरोधात्मक क्षमता तुलनात्मक रुपमा बढी हुने भए पनि पाको उमेरका व्यक्तिमा संक्रमण भए जोखिम धेरै

बढ्ने विशेषज्ञ सचेत गराउँछन् । सरकारी पक्षले भाइरस समुदायस्तरमा फैलिई नसके पनि जोखिम भने रहेको बताउँदै आएको छ ।  

परीक्षण विधि नै उपयुक्त छैन

डा. रविन्द्र पाण्डे  

जनस्वास्थ्य विज्ञ

नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्रमा कोरोना संक्रमण फैलिएको छ । मानिसहरु नेपाल–भारत आवत–जावत हुन्छ । त्यसैगरी भारतमा संक्रमण बढ्दा मानिसहरु नेपालमा प्रवेश गर्ने सम्भावना छ । जसले नेपलमा थप संक्रमणको जोखिम बढाएको छ ।  

सुरुवातमा कोरोना परीक्षणको दायरा कम थियो । बीचमा बढेको थियो । अहिले घटेको छ । काठमाडौंसँग बाहिरी जिल्ला प्रत्यक्ष जोडिएका छैनन् । त्यसले पनि काठमाडौंमा सहज संक्रमित भित्रिन पाएनन् । काठमाडौंमा लकडाउनको कारणले पनि कोरोना फैलन पाएन ।  

काठमाडौंको सवालमा नमुना परीक्षण गर्ने विधि नै उपयुक्त देखिँदैन । सरकारले बैंक, यातायातजस्ता कर्मचारी हुने क्षेत्रमा परीक्षण गरेको देखिन्छ । कर्मचारी त आफैँ पनि सचेत हुन्छन् । यस्तो ठाउँमा परीक्षण गरेर नतिजा सही आउँदैन । इँटाभट्टा, सडक बालबालिका बस्ने ठाउँ, कबाडीको सामान टिप्ने, फोहोर उठाउने, तरकारी बजार क्षेत्र, काठमाडौंका गल्ली, भट्टी, धेरै भीडभाड हुने किराना पसल, अस्पतालको सरसफाइको काम गर्नेजस्ता व्यक्ति र ठाउँमा परीक्षण गर्नुपर्छ । सवारी चालक, तराईका सीमा जिल्ला, भारतबाट गाउँमा गएका समुदायमा जाँच गर्नुपर्छ ।  

कुन ठाउँ र कस्ता व्यक्तिमा परीक्षण गरियो भन्ने कुरामा नतिजा भर पर्छ । त्यसपछि मात्रै सही नतिजा आउन सक्छ । संक्रमण पहिचानका लागि परीक्षणको दयारा बढाई सही क्षेत्रको पनि छनोट गर्नुपर्छ ।

उपत्यका बाहिरभन्दा काठमाडौं कोरोना भाइरसको सबैभन्दा बढी जोखिममा छ । त्यसैले परीक्षणको दायर बढाउनुपर्छ । काठमाडौंको दुई प्रतिशत जनसंख्यामा परीक्षण गरे काठमाडौं सुरक्षित छ वा छैन भन्ने छर्लङै हुन्छ । विकसित देशमा त नियन्त्रण गर्न नसकेको अवस्था छ । नेपालजस्तो देशमा त संक्रमण फैलिएको अवस्थामा नियन्त्रण गर्न सकिन्न । लक्षण नदेखिएकालाई पनि परीक्षण गर्नुपर्छ । समयअनुसार आफैँ गाइडलाइन बनाउनुपर्छ ।

जनता सचेत र अनुशासित भएको ठाउँमा स्वतः नियन्त्रण गर्न पनि सजिलो देखिन्छ । त्यसैले संक्रमण नियन्त्रणका लागि सरकार र जनता अनुशासित हुन आवश्यक छ । नत्र जुनसुकै समयमा पनि जोखिम हुन्छ । नेपालमा राजनीतिक खिचातानीका कारण कोरोना नियन्त्रणमा प्रभावकारीता देखिएन ।  

संक्रमित व्यक्तिलाई जलाउँदा सबैभन्दा सुरक्षित हुन्थ्यो । तर, यहाँ संक्रमणका कारण मृत्यु भएकालाई गाड्न थालियो । त्यसरी गाड्दा आफन्त तथा त्यस क्षेत्रका व्यक्तिमा मानसिक असर पर्न जान्छ । मान्छे डराउने, आफन्तहरु शव गाडेको ठाउँमा गएर रुने, भावुक बन्ने समस्या हुन्छ । त्यसैले सुरक्षित तवरले शव जलाए गाड्नुभन्दा सुरक्षित उपाय हो ।

प्रकाशित: ८ श्रावण २०७७ १४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App