१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

बिपीमा दैनिक चार सय बढीको ओपिडीमा उपचार

हाडजोर्नी विभागको ओपिडीमा एक बिरामीसँग चिकित्सकहरू। तस्बिरः नागरिक

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ओपिडी सेवा सञ्चालनमा ल्याएपछि दैनिक चार सय बढीले उपचार सेवा पाइरहेका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिन ओपिडी सेवा ठप्प भएको र अन्य बिरामीले उपचार नपाउँदा ज्यान गुमाउने खतरा बढेपछि स्वास्थ्य मन्त्रालयले ओपिडी सञ्चालन गर्न निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि जेठ ६ गतेदेखि प्रतिष्ठानले ओपिडी सेवा सञ्चालनमा ल्याएको हो।  

प्रतिष्ठानको मेडिकल रेकर्ड शाखाका अनुसार विभिन्न विभागहरूसँग समन्वय गरेर निश्चित कोटा तोकिएको हुन्छ। विभागले दिएको कोटाअनुसार मात्र दैनिक रुपमा बिरामीलाई ओपिडीमा टोकन बाँडिने मेडिकल रेकर्ड शाखाका प्रमुख सुनिल पराजुलीले जानकारी दिए। ‘विभागले कुन दिन कतिजना बिरामी हेर्ने भनेर संख्या थपघट गर्न सक्छ, अहिले सबै विभागको हिसाब गर्दा दैनिक रुपमा सरदर साढे ४ सयले ओपिडी सेवा पाइराखेका छन्,’ उनले भने।

रेडर्क शाखाका अनुसार ओपिडीमा सबैभन्दा बढी मेडिसिन, प्रसूति, अर्थोपेडिक्स र सर्जरी विभागमा बिरामी आइरहेका छन्। ती विभागमा कोटाभन्दा बढी बिरामी आउने भएकाले समस्या भइरहेको छ। बिरामीको अवस्था हेरेर गाह्रो भएको खण्डमा इमर्जेन्सीमा पठाइने नत्र अर्को दिन टोकन लिन आउनुपर्ने प्रतिष्ठानले जनाएको छ। ओपिडी सेवा लिन आउनेहरू ५० प्रतिशतभन्दा बढी धरानकै छन् भने अन्य जिल्लाबाट पनि उपचारमा आइरहेका छन्। सबै जिल्लामा कोरोना संक्रमण फैलिएको र सप्तरी सिरहातिरबाट पनि बिरामी आइरहेकाले संक्रमणको जोखिम बढ्ने भन्दै प्रतिष्ठानकै चिकित्सक र जनप्रतिनिधिले चिन्ता पनि व्यक्त गरिरहेका छन्।  

प्रतिष्ठान रहेको वडा नम्बर १८ का अध्यक्ष प्रवीण राईले ओपिडीमा टोकन लिन भिडभाड हुने भएकाले संक्रमणको जोखिम भएको बताए। ‘ओपिडी सुरु भएपछि धरानका मात्र होइन, अन्य जिल्लाबाट पनि मानिस आइरहेका छन्, यसले जोखिम बढाइरहेको छ,’ उनले भने। उनी सुरक्षामा खटिएका एक प्रहरीले काठमाडौं प्रवेश गर्न पिसिआर वा आरडिटी परीक्षण गरेको रिपोर्ट अनिवार्य देखाउनु परेजस्तै धरान आउँदा पनि लागु गर्न आवश्यक भएको बताउँछन्।

यता प्रतिष्ठानले भने मेन गेटबाटै बिरामीलाई व्यवस्थित र सुरक्षित रुपमा स्क्रिनिङ गरेर मात्र ओपिडीमा पठाउने गरेको जनाएको छ। प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले ओपिडीको टोकन मेन गेटमा बाँडिने र त्यसै बेला सबैको थर्मल गनमार्फत ज्वरो जाँच गरिने जानकारी दिए। ‘मेनगेटमै गार्डहरूले सेनिटाइज गर्छन्। बिरामी र बिरामीसँग अस्पताल आउँदा अनिवार्य मास्क लगाउनुपर्ने हुन्छ,’ प्रवक्ता डा. सापकोटाले भने, ‘सामाजिक दुरी पालन गराउँछौं। कसैलाई फिवर देखियो भने सिधै फिवर क्लिनिक पठाइन्छ। टोकन लिएर ओपिडीमा गएपछि त्यहाँ पनि दुरी कायम गराइन्छ।’ सामान्य अवस्थामा भने प्रतिष्ठानमा दैनिक कम्तीमा २ हजारको संख्यामा ओपिडीमा बिरामी आउने गरेका थिए। लकडाउन भएपछि प्रतिष्ठानमा पनि ओपिडी सेवा बन्द गरिएको थियो।  

तीन प्रतिशत भिटिएम खरिद गरिने

धरान उपमहानगरपालिकाले ३ प्रतिशत नगरवासीको पिसिआर जाँच गर्ने भएको छ। यसका लागि उपमहानगरले आवश्यक पर्ने भिटिएम खरिद गर्ने निर्णय गरेको छ। उपमहानगरको आइतबार सम्पन्न कार्यपालिका बैठकले नगरवासीको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न पिसिआर जाँच गर्ने र त्यसका लागि आवश्यक भिटिएम खरिद गर्ने निर्णय गरेको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन्। ‘नगवासीको स्वास्थ्य सुरक्षाको अवस्था थाहा पाउन ३ प्रतिशतमा पिसिआर जाँच गर्ने र त्यसका लागि भिटिएम खरिद गर्ने निर्णय गरिएको छ,’ उपमेयर भण्डारीले भनिन्। उपमहानगरले धरानका २० वटै वडामा सेक्टर छुट्याएर पिसिआर परीक्षण गर्ने जनाएको छ।  

प्रकाशित: २० जेष्ठ २०७७ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App