६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

सरकारीमा सेवा नपाएपछि बिरामी निजीअस्पताल जान बाध्य

प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर। फोटोः दिनेश नागरिक

रोल्पा–जिल्लाको सबै भन्दा ठुलो व्यापारिक केन्द्र रहेको सुनिलस्मृती गाउँपालिका सुलिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले यति बेला भौतिक पूर्वाधार अभावको सामना गरिरहेको छ। दैनिक चालिस पचास जना बिरामी आउने यहाँ आपतकालिन अवस्थामा चाहिने अक्सिजनको अभाव भएको धेरै समय भयो। अर्को पुरानो समस्या छ रातमा बिजुली गयो भने बिरामी र स्वास्थ्यकर्मीलाई आपत पर्छ। त्यस्तै, कतिपय आवश्यक औषधिको समेत अभाव रहेको छ।

‘हाम्रो स्वास्थ्य केन्द्रको नजिकै निजी अस्पताल छन्। अक्सिजनको आवश्यकता पर्ने बिरामी महंगो शुल्क तिरेर उता जान्छन।’ स्वास्थ्य केन्द्र प्रमुख डा. प्रकृती भट्टराईले भनिन् ‘पिएचसीमा सबै सेवा निशुल्क हो तर पूर्वाधार अभावका कारण समस्या रहेको छ। अक्सिजन जस्तो महत्वपुर्ण चिज नभएको सरोकारवालालाई जानकारी छ तर खरिदका लागि पहल भएको छैन। सरकारले निशुल्क दिने भनिएका औषधि समेत पुरा छैन।’

निर्वाचनपछि गाउँमा आएको गाउँपालिका स्वास्थ्य केन्द्रको छेउमै छ। त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्रको सबै जिम्मेवारी पाएको वडा कार्यालय पनि छेउमै छ। यद्यपि, गाउँपालिकाको ध्यान सडक निर्माणमा बढि केन्द्रीत भएको देखिन्छ। सरकारले हरेक प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्वन्धित वडाध्यक्षलाई दिएको छ तर संवन्धित निकायलाई स्वास्थ्य संस्थामा के चिजको अभाव छ भन्ने बारेमा ध्यान दिएको देखिँदैन।

रोल्पामा एक अस्पताल र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र छन्। यी सबै संस्थामा स्वास्थ्यकर्मी भए पनि पर्याप्त औषधि नहुँदा बिरामीहरुको रोजाइ निजी अस्पतालहरु पर्ने गरेको हो। ‘स्थानीय तहले आवश्यकताका बारेमा छलफल नै नगरेर सामाग्री र औषधि खरिद गर्ने गरेको छ। स्वास्थ्य संस्थामा के चाहिन्छ भन्ने जानकारी बिना खरिद गरिएका कतिपय सामान र औषधिको औचित्य नै रहदैन।’ एक स्वास्थ्यकर्मीले भने ‘गाउँपालिकाले खरिद गरेको डेलिभरि बेड प्रयोग नै गर्न नमिल्ने अवस्थाको छ।’

अर्कोतर्फ सरकारले अस्थायी रुपमा स्थानीय तहको स्वास्थ्य क्षेत्र हेर्ने गरी पठाएका कतिपय स्वास्थ्यकर्मीहरुले समेत आफ्नो जिम्मेवारी निभाउन नसकेको गुनासो आउन थालेको छ। स्वास्थ्य संस्थामा बिरामी उपचार गरिरहेका उनीहरुले जनस्वास्थ्यसंग सम्बन्धित कार्यक्रम तयार गर्न असफल रहेको देखिन्छन्।

 

प्रकाशित: २८ वैशाख २०७६ १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App