आगामी साउनदेखि देशैभरका ७ सय ५३ वटा स्थानीय तहबाट नागरिक आरोग्य केन्द्र सञ्चालन हुने भएको छ। थप एक सय ४४ वटा केन्द्र खुल्ने भएसँगै साउनदेखि सात सय ५३ पालिकामा पुग्ने भएको हो ।
यो केन्द्रमा कविराज या बैद्यले नागरिकलाई स्वस्थ जीवनशैली प्रवर्धन गर्न विभिन्न काम गर्नेछन् । यस अघि नै यो केन्द्रबाट अन्य पालिकामा नागरिक आरोग्य कार्यक्रम सञ्चालन भइसकेका छन् । कविराज या बैद्यको पदपूर्ति पनि स्थानीय तहले नै गर्ने प्रक्रिया छ।
कविराज मार्फत स्वस्थ जीवनशैली प्रवर्धनको लागि आवश्यक विभिन्न कार्यक्रम गरिन्छ । जसमा भान्छा सुधार,योग, ध्यान र व्यायाम सम्बन्धी जनचेतनामुखी कार्यक्रम, ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्धन गर्ने,योगासानमा तोकिए बमोजिम आसन, प्रणायम सम्बन्धी प्रशिक्षण दिने, स्थानीय जडीबुटीको प्रयोग सम्बन्धी ज्ञान पनि आरोग्य केन्द्रबाट हुन्छ ।
केन्द्रले रोग लाग्नै नदिनको लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको आयुर्वेद विभागका महानिर्देशक डा. श्यामबाबु यादव बताउँछन् । उनको अनुसार घरदेखि समुदायसम्मको सफाइ, समयमा सुत्ने र बिहानै उठ्ने तरिका पनि बैद्य मार्फत नै सिकाइन्छ। आयुर्वेदीय शैली एवं स्वस्थकर आहार– विहार लगायतका चेतनामूलक कार्यक्रमले नागरिकको निरोगी बन्ने ज्ञानमा प्रवर्द्धन भई अभ्यास समेत भइरहेको बताए ।
यादवको अनुसार यो वर्षभित्र नेपामला केन्द्र मार्फत ३० जना नागरिक योगा तथा ध्यान कार्यक्रममा सहभागी भएको तथ्याकं छ। यो संख्यामा सहभागी हुनु भनेको नागरिकहरू आरोग्य केन्द्रको कार्यक्रमबाट लाभ लिन थालेको भन्ने बुझ्नु पर्ने यादव बताउँछन् ।
‘पहिला मानिसको दैनिक आचरण त्यति राम्रो थिएन, अहिले सुधार भएको देखिन्छ’ उनले भने । गत फागुन महिनामा सञ्चालन भएको स्वास्थ्य शिविरका सहभागीलाई आरोग्य कार्यक्रम पछि उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा भएको पाइएको छ’उनले भने।
यसको साथै केन्द्रले सिकाउने व्यायाम र आहार–विहार सुधार कार्यक्रमले नागरिकको दैनिकीमा परिवर्तन भएको यादव बताउँछन्। ‘छिटो सुत्ने, छिटो उठ्ने र ठिक खाने कुरा खाने आचरणले रोग कम लाग्छ’उनले भने । सामान्य रोगहरूमा लाग्दा घरमै हुने जडीबुटीको प्रयोग समेत केन्द्रले सिकाएकोले अनावश्यक औषधीको प्रयोग हुनबाट बच्ने यादव बताउँछन् ।
प्रकाशित: १३ असार २०८२ १४:२९ शुक्रबार





