४ श्रावण २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

मेडिसिटी अस्पतालमा पनि कलेजो प्रत्यारोपण सुरु

नेपाल मेडिसिटी अस्पताल ललितपुरमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको छ । यही जेठ ८ गते पोखराका ५६ वर्षीय ईश्वर कार्कीमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको हो । कार्कीलाई उनकै २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन ।

पहिलो प्रत्यारोपण भारत स्थित अमृता अस्पतालका कलेजा प्रत्यारोपण विशेषज्ञको सहयोगमा गरिएको हो । प्रत्यारोपणपछि ईश्वर कार्कीको स्वास्थ्य सामान्य हुँदै गएको र कलेजोदाता उनकै छोरा आयुषको स्वास्थ्य सामान्य भई फलोअपको लागि बिहीबार अस्पताल आएको अस्पतालले जानकारी दिएको छ ।

प्रत्यारोपणमा अस्पतालका हेपाटोसर्जन डा. रामबाबु शाह र हेपाटोलोजिष्ट डा. उमिद श्रेष्ठ र भारतीय हेपाटोलोजिष्ट डा. शालिन अग्रवाल  सहितको चिकित्सक टोली प्रत्यारोपणको नेतृत्व गरेका थिए । त्यसैगरी ग्याष्टोलोजिष्ट डा. रविन शर्मा,डा. अपुर्व शर्मा लगायतको समूह संलग्न छन् ।

कलेजो प्रत्यारोपण गरेका कार्की लिभरसिरोसिस(कलेजो बिग्रे)भएपछि ६ वर्षदेखि मेडिसिटीमा उपचार गराइरहेका थिए। सोही बिचमा उनी दुई पटक उपचारको लागि भारत पुगे । कुनै उपाय नलागेपछि कार्की परिवार कलेजो प्रत्यारोपणको तयारीमा जुटेको थियो । ‘कुनै विकल्प थिएन, मैले कलेजो दिएँ, बुवालाई बचाउन सफल भएकोमा खुसी छु’ कलेजोदाता कार्कीले भने ।

पहिलो पटक प्रत्यारोपणको लागि चिकित्सक टोली र  अस्पताललाई विश्वास गरी प्रत्यारोपण गरेकोमा अस्पताल सञ्चालक उपेन्द्र महतोले आयुषलाई सम्मानपत्र प्रदान गरे। सोही क्रममा चिकित्सकचद्धय  उमिद श्रेष्ठ र रामबाबु शाह र अस्पताल सञ्चालक महतोले  कलेजोदाता आयुषलाई आभार व्यक्त गरे । ‘हामीलाई विश्वास गरेर पहिलो प्रत्यारोपण गर्नु भएकोमा आयुष र ईश्वरजीलाई हृदयवाटनै आभार व्यक्त गर्न चाहन्छौ’ सञ्चालक महतोले भने ।

विभिन्न रोगको सेवा विस्तार गर्दै गएको यो अस्पतालले सुरुदेखि नै कलेजो प्रत्यारोपणको तयारी गरेपनि यो वर्ष ठोस रूप लिएको अस्पतालका सञ्चालक उपेन्द्र महतोले बताए । ‘यो अस्पतालमा बहुआयमित विज्ञ समूह भएकोले कलेजो प्रत्यारोपण सम्भव भएको हो’ उनले भने।

आयुषले गरेको अंगदानको प्रेरणा नयाँ पुस्तामा पनि पर्ने देखिएको डा. श्रेष्ठले बताए । डा. रामबाबु शाहले अहिले पनि कलेजो प्रत्यारोपणको लागि प्रति वर्ष ७० जनाको दरले भारत गइरहेको बखत नेपालमै यो सेवाको विस्तारले थप राहत हुने बताए । ‘नेपालमा अहिले पनि ३ सय जना कलेजो प्रत्यारोपणका बिरामी छन्’ उनले भने ।

हेपाटोलिष्ट श्रेष्ठले नेपालमा कलेजो रोग दिनहुँ बढ्दै गएकोमा यो अस्पतालमा प्रत्यारोपण सेवाको विस्तारको औचित्य रहेको बताए ।

सोही क्रममा अस्पतालका ग्याष्ट्रालोजी विभागका प्रमुख डा. सुनिल कुमार शर्माले मस्तिष्क मृत्यु पर्यन्तको अंगदानसंगै लिभरसिरोसिस र प्रत्यारोपण दिगो समाधान भएको बताए । 

प्रकाशित: २९ जेष्ठ २०८२ १८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App