२२ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

विपन्न गर्भवती तथा सुत्केरीलाई ‘पोषण’ उपहार

लहान नगरपालिकाका विपन्न गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्नको प्याकेज वितरण गर्दै लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी । तस्विरः मिथिलेश यादव/नागरिक

लहान नगरपालिकाको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ बाट तेस्रो वर्ष करिब एक हजार पाँच सय विपन्न गर्भवती तथा सुत्केरी महिला लाभाम्वित भएका छन् ।  नगरपालिकाको यो अभियान सम्पूर्ण २४ वटै वडामा लागु हुँदा लाभाम्वित हुने गरिब तथा विपन्न वर्गका महिलाको संख्या बढ्दै गएको छ ।  

नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ गते कार्यक्रम अन्तर्गत पोषण वितरण गरिँदै आइएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताए ।  

लहान नगरपालिका २० ब्रम्हानगोर्छारीकी ३० वर्षीया सन्जुला सदाय पाँच महिनाको गर्भवती छन् । आर्थिक रुपमा विपन्न उनले प्रत्येक महिना नगरपालिकाबाट पोषण प्याकेज पाउँदै आएकी छिन् । गर्भमा बच्चा भएपछि समान्य खानपानले नपुग्ने र आर्थिक अभावका कारण पोषणयुक्त खानेकुरा जोहो गर्न नसक्ने बताउँदै उनले भनिन्,‘नगरपालिकाबाट पोषण प्याकेज उपलब्ध गराउन थालेपछि चिन्ता दूर भएको छ ।’

लहान नगरपालिकाका विपन्न गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्नको प्याकेज वितरण गर्दै लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी । तस्विरः मिथिलेश यादव/नागरिक

नगरपालिकाले हामी जस्ता गरिबलाई पोषण प्याकेज मात्र उपलब्ध गराउँदैन नियमित गर्भ जाँचका लागि सहजीकरण र व्यवस्थापन समेत गरिदिएको सदायले बताईन् । पहिलो सन्तान जन्मिदा दुई वर्ष अघि यो कार्यक्रम सुरुवात भएको थियो । उनले भनिन्,‘त्यो बेला एक पटक यो सुविधा पाएको थिएँ । दोस्रो सन्तान गर्भमा हुँदा प्रत्येक महिना पोषणयुक्त खानेकुरा पाइकि छुँ । यो कार्यक्रम हामी गरिबका लागि बरदान साबित भएको छ ।

लहान नगरपालिका–२०का वडा अध्यक्ष गणेश चौधरीका अनुसार महिला स्वास्थ्य स्यवंसेविका समेत प्रत्यक्ष सहभागी रहने यस कार्यक्रमले गर्भवतीलाई स्वास्थ्य चौकीमा आएर नियमित स्वास्थ्य परीक्षण गराउन समेत सचेत गराउने गरेको छ ।

पहिले गाउँघरका गर्भवती स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउने प्रचलन न्यून थियो । पछिल्ला वर्षमा सो संख्यामा वृद्धि भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले बताए । उनले भने, ‘पहिला गर्भवतीले स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउने बहुत कम थियो । तर, तीन वर्ष भयो यो संख्या बढ्दै गएको उनले बताए । वडाको स्वास्थ्य चौकीहरु व्यवस्थित थिएन र नियमित गर्भ जाँच गराउनुु पर्छ भन्ने चेतना पनि थोरै मानिसमा थियो, उनले भने, ‘पोषण कार्यक्रमले बस्तीहरुमा चेतनासंगै जागरुकता समेत फैलिएको छ । पछिल्लो समय स्वयंम सेविकाहरुलाई समेत तालिम तथा गोष्ठी मार्फत सक्रिय बनाएर गाउँबस्तीमा गर्भवतीहरुलाई नियमित परीक्षण गराउन क्रियाशिल बनाइएको चौधरीले बताए ।

पछिल्लो समय दतिल तथा विपन्न समुदायका गर्भवती पनि नियमित गर्भावस्था परीक्षण गर्ने गरेको चौधरीले बताए । यसरी स्वास्थ्य संस्थामै नियमित परीक्षण गर्ने गर्भवतीको संख्या वृद्धि हुनुको मुख्य कारण चाहिँ नगरपालिकाले तीन वर्ष अघिदेखि सुरु गरेको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम नै रहेको नगर प्रमुख महेश प्रसाद चौधरीको भनाई छ । स्वास्थ्य संस्थामा नियमित गर्भावस्था परीक्षण गर्ने महिलाहरुलाई पोषण प्याकेज प्रदान गरिन्छ ।  

हान नगरपालिकाले नगरक्षेत्र भित्रका सबै वडाका गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सुरु गरेको नगर प्रमुख चौधरीले बताए ।  

यसै कार्यक्रमलाई निरन्तरता दिने क्रममा मंगलबार लहान–२० का ५२ गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगर प्रमुख चौधरीले भने, ‘मापदण्डअनुसार गर्भ जाँच गरेमा आमा र नवजात शिशुको स्वास्थ्य राम्रो हुन्छ । यस पोषण कार्यक्रमले मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ भनेर नै यो अभियान सुरु गरेका हौं ।’

लहान नगरपालिकाका विपन्न गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्नको प्याकेज वितरण गर्दै लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी । तस्विरः मिथिलेश यादव/नागरिक

नगर प्रमुख चौधरीले विपन्न महिलामा पोषणको कमी हुन नदिन र नियमित परीक्षण गराई बाल मृत्युदर र मातृमृत्युदरको जोखिम न्युनिकरण गर्न आफू नगर प्रमुख भएदेखि यो कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरेको बताए । उनले आगामी दिनमा सुत्केरी तथा गर्भवतीपोषण कार्यक्रमलाई अझ व्यापक बनाउने बताए ।  

सहज सुत्केरीका लागि नगरपालिकाको वडा नं १६  तरेगणा र वडा नं १९ को सोनमती गाढामा ‘बर्थिङ सेन्टर’ निर्माण भैरहेको नगर प्रमुख चौधरीले बताए ।  

सोही क्रममा लहान–२० का वडाध्यक्ष गणेश प्रसाद चौधरीले नगरको यस पोषण प्याकेज अभियान अतिविपन्न तथा असहाय परिवारका लागि बरदान साबित भएको बताए । सो प्याकेजमा चामल, दाल, नुन, तेल, चना, माटर, सोयाविन पौष्टिक आहार लगायत खाद्यान्न सामग्री छन् ।

स्थानीयतहको निर्वाचन अघि जनतासँग गरिएका प्रतिबद्धता अनुसार आफू नगर प्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने बच्चा स्वस्थ होस् भन्ने उद्देश्यले गर्भवती तथा सुत्केरीलाई कार्यक्रममार्फत पोषण वितरण सुरु गरिएको नगर प्रमुख चौधरीले बताए ।

सुत्केरी अवस्थामा अतिविपन्न परिवारका महिलाले पोषिलो खानेकुरा खान नपाउँदा बच्चामा कुपोषण हुने तथा आमाको स्वास्थ्यमा पनि समस्या हुने जोखिम रहन्छ । त्यसलाई रोक्न थोरै भएपनि सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरका हौँ’, उनले भने, ‘अहिले यो अत्यन्त प्रभावकारी हुँदै गएको छ ।’पोषण सामग्री प्राप्त गरेसँगै गर्भवती  तथा सुत्केरीको अनुहार उज्यालिएको देख्दा सन्तुष्टि मिल्छ, उनले भने ।

प्रकाशित: २० जेष्ठ २०८२ १९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App