एक सय २१ वर्ष पुरानो भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषित भएको छ। आइतबार अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन सार्वजनिक कार्यक्रममा भक्तपुर अस्पतालले १०० पूर्णाङ्कमा ९० अङ्क प्राप्त गरी देशभरका अस्पतालमध्ये पहिलो भएको घोषणा गरिएको हाे।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पताल लगातार चौथो पटक प्रथम भएको उल्लेख गर्दै गुणस्तरमा कुनै कमी नआओस् भनेर कर्मचारीले इमानदारीपूर्वक काम गर्नुपर्ने बताए। उनले अस्पतालमा न्यूरो सेवा सञ्चालन गर्न मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेको र एक महिनाभित्र डायलाइसिस सेवा सुरु हुने जनाए। साथै, अस्पतालको पुरानो भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने उनले बताए।
बागमती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले एक सय २१ वर्षको इतिहास बोकेको देशकै दोस्रो पुरानो अस्पताल पहिलो भएको बताउँदै कर्मचारीको लगनशीलता, व्यवस्थापन समितिको सहयोग र गलत प्रभावबाट जोगाएर सबै अस्पतालले गुणस्तरीय सेवा दिन सक्ने बताए।
उनले भक्तपुर अस्पतालको उदाहरण बागमती प्रदेशका बाँकी १२ प्रादेशिक अस्पतालमा लागू गर्नुपर्ने र मन्त्रालयमै बसेर १३ अस्पतालको दैनिक विवरण हेर्न सकिने गरी बागमती स्वास्थ्य एप्स जडान गर्न लागिएको जानकारी दिए। सङ्घीय सरकारको न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन टोलीका संयोजक एवं वीर अस्पताल नर्सिङ कलेजका प्रमुख रोशनी तुईतुईले देशभरका सेकेन्डरी ‘बी’ लेभलका तीन सय शय्याका अस्पतालको मूल्याङ्कनमा भक्तपुर अस्पताल पहिलो भएको घोषणा गर्दै यसलाई प्रतिष्ठान बनाउनुपर्ने बताए।
मूल्याङ्कनअनुसार लुम्बिनी प्रादेशिक अस्पतालले ८९ अङ्कसहित दोस्रो र भरतपुर अस्पतालले ८८ अङ्कसहित तेस्रो स्थान प्राप्त गरे। बागमती प्रदेशका १३ अस्पतालमध्ये धादिङ अस्पतालले ८२ अङ्कसहित दोस्रो र त्रिशूली अस्पतालले ८१ अङ्कसहित तेस्रो भएको मूल्याङ्कन टोलीका सदस्य एवं वीर अस्पतालका डा. फणिन्द्रप्रसाद बरालले बताए। अस्पतालका निमित्त निर्देशक सुरेन्द्रप्रसाद भट्टले बहिरङ्ग, अन्तरङ्ग, शल्यक्रिया, प्रसूतिलगायत सेवामा यस वर्ष बिरामीको आगमन विगतभन्दा बढेको जानकारी दिए।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, टोलीका सदस्य एवं बागमती प्रदेश अस्पताल विकास तथा अनुगमन शाखाका प्रमुख नवीन दर्नाल, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष एवं अस्पताल विकास समितिका सदस्य रवीन्द्र ज्याख्व, अस्पतालका वरिष्ठ नर्सिङ निरीक्षक रोशनी श्रेष्ठलगायतले असल नेतृत्वले अस्पतालमा सुधार सम्भव भएको बताए। रासस
प्रकाशित: १९ जेष्ठ २०८२ ०७:२९ सोमबार





