धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालले तत्काल आफ्नो राजनीतिक कार्यदिशा परिवर्तन नगरे मुलुकले गम्भीर बाह्य हस्तक्षेप र संकट व्यहोर्नुपर्ने चेतावनी दिएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै साम्पाङले देशलाई हर्कवादको बाटोमा नडोर्याए नेपालको अवस्था पनि भेनेजुएलाको जस्तै हुने जिकिर गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्- ‘मुलुक तुरुन्तै हर्कवादमा नहिँडे भेनेजुएलाको नियति नेपालमै आइलाग्नेछ !’
पछिल्लो समय अमेरिकाले भेनेजुएलामाथि सैनिक कारबाही गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत मादुरो र उनकी पत्नी सिलिया एडेला अमेरिकी सेनाको नियन्त्रणमा रहेको र उनीहरूलाई भेनेजुएलाबाट बाहिर लगिएको जानकारी दिएका थिए।
अमेरिकाले भेनेजुएलाका प्रमुख चार सहरका सैनिक अखडा र विशिष्ट स्थानहरूलाई निशाना बनाएर आक्रमण गरेको थियो। भेनेजुएला सरकार अन्तर्राष्ट्रिय सुरक्षाका लागि खतरा बनेको, लोकतन्त्र समाप्त भएको, अवैध गतिविधि बढेको र मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै अमेरिकाले सो कदम चालेको जनाएको छ।
मेयर साम्पाङले नेपालमा पनि राजनीतिक अस्थिरता र विकृति बढ्दै गए बाह्य शक्तिले हस्तक्षेप गर्न सक्ने संकेत गर्दै श्रम र आत्मनिर्भरतामा आधारित हर्कवाद अपनाउनुपर्नेमा जोड दिएका हुन्।
प्रकाशित: २० पुस २०८२ १९:०३ आइतबार




-600x400.jpg)
