गृह मन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्ने निर्णय गरेको छ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत विभिन्न धार्मिक समुदायबिच द्वेष फैलाउने र भ्रामक टिप्पणी गरी सहिष्णुतामा खलल पुर्याउने गतिविधि बढेको निष्कर्ष निकाल्दै बैठकले यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको हो।
बैठकले जिल्लाहरूमा धार्मिक सहिष्णुतामा आँच पुर्याउन खोज्ने व्यक्ति वा समूहलाई तत्काल कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।
साथै, स्थानीय प्रशासनलाई समन्वयात्मक भूमिका खेल्दै स्थिति बिग्रन नदिन र प्रदेश तथा स्थानीय सरकारहरूसँग पनि आवश्यक समन्वय गर्न अनुरोध गर्ने निर्णय भएको छ।
यस विषयमा थप विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालयमा राष्ट्रिय मानव अधिकार आयोग, अन्य संवैधानिक आयोगहरू र सुरक्षा निकायसहितको संयुक्त बैठक बस्ने तय भएको छ।
बैठकले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा निकायहरूले हालसम्म गरेको अन्तिम तयारीबारे जानकारी लिएको छ।
निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मन्त्रालयले गर्नुपर्ने समन्वय र आवश्यक रणनीतिबारे पनि छलफल भएको गृह मन्त्रालयका प्रवक्ता एवं सह-सचिव आनन्द काफ्लेले जानकारी दिए।
यस्तै, जेनजी आन्दोलन पछि फरार रहेका कैदीबन्दीहरूलाई पक्राउ गर्ने अभियानलाई अझ तीव्रता दिने निर्णय बैठकले गरेको छ।
यसका लागि सुरक्षा निकायहरूको विशेष अपरेसन लाई थप तदारुकताका साथ अघि बढाइने प्रवक्ता काफ्लेले बताए।
प्रकाशित: २० पुस २०८२ १८:५४ आइतबार





