२२ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

गर्मीसँगै बढ्यो आँखा पाक्ने रोगको संक्रमण, हेलचक्रयाइँ नगर्न चिकित्सकको सुझाव

गर्मी मौसमसँगै आँखा पाक्ने रोग बढ्न थालेको छ । नेपाल आँखा अस्पतालका पुर्वनिर्देशक तथा नेत्र बिशेषज्ञ डा।कमलबहादुर खड्काका अनुसार गर्मी मौसम बढेपछि अस्पतालमा आँखा पाकेर आउने बिरामीको संख्या पनि बढ्न थालेको । ‘जेठ महिनादेखि आँखा पाक्ने समस्या देखिन थालेको हो, उनले भने । हाल नेपाल आँखा अस्पतालमा दैनिक औसत ५०/६० जना आँखा पाक्ने समस्या लिएर आइरहेको डा। खड्काले बताए ।

पछिल्लो समय मौसममा आएको परिवर्तन या अन्य कारणले हुन सक्छ बाह्रै महिना छिटपुट रुपमा आँखा पाक्ने समस्या देखिएको विपी कोइराला नेत्र अध्ययन प्रतिष्ठानकी डा। रन्जु सिटौलाले बताइन् । उनका अनुसार अस्पतालमा दैनिक औसत ३० जना आउने गरेका छन् । यो अस्पतालको बहिरंग विभागमा दैनिक ७ सय जना उपचारमा पुग्छन भने विपी नेत्र अध्ययन संस्थानमा औसत दैनिक ४ सय जना बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

तिलगंगा आँखा अस्पतालकी नेत्ररोग बिशेषज्ञ डा. सिर्जना अधिकारीले भने आँखा पाकेका विरामी फाट्टफुट्ट मात्र आउने गरेको बताइन् ।  

चिकित्सकका अनुसार गर्मी मौसममा आँखा पकाउने कीटाण ु‘स्टोफाइलोकोकस’ सक्रिय हुन्छ । यो कीटाणुका लागि गर्मी मौसम अनुकुल भएकोले जेठदेखि भदौसम्म यो रोगको संक्रमण बढी देखिन्छ । ‘भदौसम्ममा आँखा पाक्ने संक्रमण बढेर अहिलेभन्दा तेब्बर हुन सक्छ’ उनले भने ।

त्यो कीटाणुृ कुनै माध्यमवाट आँखामा पसेपछि या संक्रमित व्यक्तिको रुमाल या कपडा प्रयोग गर्ने गर्नाले, संक्रमितको नजिकको सम्पर्क भएमा आँखा पाक्ने रोगको संक्रमण हुन्छ । सुरुमा आँखा चिलाउने, आँखा रातो हुने र आँखा बिझाउने र दुख्ने, विहान उठ्दा आँखा टाँसिने आँखा पाक्ने रोगका लक्षण हुन् । संक्रमण भइसकेपछि आँखावाट निरन्तर चिप्रा आउने, आँखा पुरै रातो हुने, आँखा दुख्ने जस्ता लक्षणहरु देखिन्छ ।

यी लक्षण देखिने बित्तिकै अस्पताल गएर आँखा रोग बिशेषज्ञको निर्देशनमा मात्र औषधिको प्रयोग गर्न चिकित्सक सुझाउँछन् । उपचारमा ढिलाइ गर्नाले आँखामा किटाणुको फोहोरले नानीमा घाऊ हुन सक्छ । त्यो घाऊ बढी समय रहे आँखामा फुलो पर्ने र नदेखिनेसम्म हुन सक्ने डा।खड्का बताउँछन् ।

आफुखुशी औषधिको प्रयोग गरेमा आँखा पाकेर नानीमा समेत असर परी दृष्टिमा समेत समस्या आउने जोखिम हुने चिकित्सक बताउँछन् । आँखा पाक्ने संक्रमणमा लापरवाही गर्न नहुने चिकित्सक सुझाउँछन । तर गाउँ या दुर्गममा बिरामी छन र चिकित्सकको पहुँच छैन भने दैनिक दशरबाह्र पटक आँखा पखालेमा कीटाणुले आँखामा फोहोर गर्न नपाउने डा।खड्काले बताए ।  

प्रकाशित: १६ जेष्ठ २०८२ १७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App