२२ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

चितवन क्यान्सर अस्पतालमा नवीन प्रविधिबाट सफल शल्यक्रिया

फाइल तस्बिर

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया भएको छ। नेपालमा पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो।

दाङकी २२ वर्षीया एक महिलाको जेठ ८ गते शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ। आइतबार पत्रकार सम्मेलन गरी अस्पतालले यो नयाँ प्रविधिबाट शल्यक्रिया सफल भएको जानकारी दियो।

अस्पतालका वरिष्ठ अंकोलोजिस्ट, थोरासिस र ल्याप्रोस्कपी सर्जन डा. विनय ठाकुर नेतृत्वको चिकित्सक टोलीले ती महिलाको पेटमा सानो चिरा बनाएर दुरबिन प्रविधिबाट शल्यक्रिया गरेको हो। डा. ठाकुरले काठमाडौंमा एक वर्षअघि रोग पहिचान भएपछि ती महिलाले औषधि खाँदै आएको बताए।

पहिले तीन-चार प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाइप राखेर शल्यक्रिया गर्ने गरिएकोमा डा. ठाकुरले भने, ‘यसपटक पेटमा एउटा मात्र प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाइप नराखी शल्यक्रिया गरिएको छ।’ अब यो प्रविधिबाट निरन्तर शल्यक्रिया गर्ने उनले बताए। ‘मायस्थेनिया ग्राभिस’ को शल्यक्रिया नेपालमा कम हुने र जोखिमपूर्ण मानिन्छ। डा. ठाकुरले वार्षिक १० जना यस्ता बिरामीको शल्यक्रिया गर्ने गरेको बताए।

यो रोगले मांसपेशी कमजोर बनाउँछ। डा. ठाकुरले ‘मसल रिल्याक्सिङ’ औषधि प्रयोग गर्दा शल्यक्रियापछि बिरामीलाई लामो समय भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्ने बताए। उनले भने, ‘मसल रिल्याक्सिङ औषधि प्रयोग नगरी आधारभूत एनेस्थेसिया औषधि चलाएपछि श्वासप्रश्वास सामान्य अवस्थामा फर्किन्छ।’

अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. रेश्मी थापाले यो शल्यक्रियामा ‘नन इन्टुवेटेड’ प्रविधि प्रयोग भएको बताइन्। उनले भनिन्, ‘विगतमा यस्तो शल्यक्रिया गर्दा श्वासप्रश्वास नलीमा पाइप राखेर बेहोश बनाइन्थ्यो। पाइपमार्फत मसल रिल्याक्सिङ औषधि प्रयोग गर्दा शरीरका सबै अंग प्यारालाइज हुन्थे।’ ‘मायस्थेनिया ग्राभिस’ का बिरामीलाई यस्तो तरिकाले बेहोश बनाउँदा जोखिम बढ्ने उनको भनाइ छ। आधारभूत एनेस्थेसिया औषधिमात्र प्रयोग गरेर बिरामी बेहोश गरिएको उनले बताइन्।

यो रोगले कुनै पनि उमेरकालाई असर गर्न सक्छ, तर २५ वर्षमुनि र ६० वर्षमाथिकालाई बढी देखिन्छ। डा. ठाकुरले विश्वमा एक लाख जनामा वार्षिक एक जना नयाँ बिरामी भेटिने बताए। अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले चिनियाँ सरकारको सहयोगमा प्राप्त उपकरण प्रयोग गरी यो शल्यक्रिया भएको बताए। अस्पतालका अध्यक्ष डा. विजय न्यौपानेले यो शल्यक्रिया सर्जरी र एनेस्थेसिया दुवैको सफलता भएको बताए। रासस

प्रकाशित: १२ जेष्ठ २०८२ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App