२७ चैत्र २०८१ बुधबार
image/svg+xml १३:२५ अपराह्न
स्वास्थ्य

नवजात शिशुको श्रवण क्षमता जाच्ने ‘ओएई’ उपकरण

नेपाल मेडिकल कलेजले नवजात शिशुहरूको श्रवण क्षमता परीक्षणका लागि अत्याधुनिक ओकोअकोस्टिक उत्सर्जन (ओएई) उपकरण सञ्चालनमा ल्याएको छ।

कलेजको इएनटी विभागमा स्थापित यो उपकरणले नवजात शिशुहरूमा जन्मजात श्रवण ह्रास पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

सोमबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले नाक, कान, घाँटी विभागको अडियोलोजी युनिटमा ओएई उपकरणको उद्घाटन गरे। उनले जन्मजात बहिरोपन रोकथाम गर्न नवजात शिशुहरूको श्रवण परीक्षण अनिवार्य रहेको बताए।

उनले भने ‘सरकारले नवजात शिशुको श्रवण परीक्षणलाई अनिवार्य बनाउने गरी नवजात शिशु श्रवण स्क्रिनिङ निर्देशिका २०८१ स्वीकृत गरेको छ। यसै अनुरूप, नेपाल मेडिकल कलेजमा ओएई उपकरण स्थापना गरिएको हो।,’

राजधानीका धेरै स्वास्थ्य संस्थामा नवजात शिशुको श्रवण परीक्षणका लागि आवश्यक उपकरणको अभाव रहेको अवस्थामा नेपाल मेडिकल कलेजले यो समस्या सम्बोधन गर्न पहल गरेको हो। कलेजमा अन्य अस्पतालमा जन्मिएका नवजात शिशुको पनि श्रवण परीक्षण गर्न सकिनेछ।

सरकारले जारी गरेको निर्देशिकाअनुसार, सबै स्वास्थ्य संस्थाले नवजात शिशुहरूको प्रारम्भिक श्रवण परीक्षण गर्नुपर्नेछ। यदि स्वास्थ्यकर्मीले कुनै समस्या देखेमा नजिकको नाक, कान, घाँटी तथा अडियोलोजी सेवा उपलब्ध संस्थामा शिशुलाई रेफर गर्नुपर्ने व्यवस्था गरिएको छ। जन्मिएको १२ देखि २४ घण्टाभित्र वा पहिलो फलोअपका क्रममा श्रवण परीक्षण गर्नुपर्ने नियम निर्देशिकामा उल्लेख गरिएको छ।

नेपालमा जन्मिने प्रत्येक हजार नवजात शिशुमध्ये १.८ प्रतिशतमा जन्मजात श्रवण ह्रास देखिने तथ्यांक छ। २०७८ को जनगणना अनुसार, पाँच वर्षमुनिका तीन हजार बालबालिकामा श्रवण सम्बन्धी अपांगता रहेको पाइएको थियो। अध्ययनहरूले बालबालिकामा देखिने करिब ६० प्रतिशत बहिरोपन रोकथाम गर्न सकिने देखाएका छन्।

‘बच्चा जन्मिएलगत्तै श्रवण क्षमता परीक्षण गरे बहिरोपनको रोकथाम गर्न सकिन्छ। सरकारको नीति अनुरूप हामीले ओएई उपकरण सञ्चालनमा ल्याएका हौं,' कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यास्मिनले भनिन्।

नेपाल मेडिकल कलेजले पछिल्लो समय स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न नयाँ प्रविधि र उपकरणहरू भित्र्याउँदै आएको छ। कलेजले नवजात शिशुको प्रारम्भिक श्रवण परीक्षणलाई प्रविधियुक्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०८१ १९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App