२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १६:५२ अपराह्न
स्वास्थ्य

उपचार खर्च जुटाउने चिन्तामा परिवार

चितवन फिजियोथेरापी सेन्टरको ‘प्यासेन्ट आइडेन्टीफिकेसन बोर्ड’ (बिरामी पहिचान पाटी) मा कालिदास ढुंगानाको नाम लेखेको पनि करिब एक वर्ष पुगिसक्यो। फोजियोथेरापी सेन्टरलाई यो नाम हटाउनुपरेको छैन। बेड नम्बर १०५ मा उपचाररत ढुंगानाको डिस्चार्ज कहिले हुन्छ थाहा छैन। उनी यहाँ भर्ना भएयता कयौं बिरामी निको भएर फर्किसके, तर कालिदास भने सोही शड्ढयामा लडिरहेका छन्।

उनी यो अवस्थामा त्यसै पुगेका होइनन्, १५ महिनाअघि सवारी साधन दुर्घटनामा परेपछि उनी अचेत अवस्थामा पुगेका थिए। भरतपुरको चौबीसकोठीस्थित हस्पिटल रोडमा रेस्टुराँ चलाउँदै आएका ढुंगाना २०८० पुस १० सवारी साधन दुर्घटनामा परेका थिए। रेस्टुराँ खोल्न बिहान आठ बजे रामनगरस्थित घरबाट मोटरसाइकलमा निस्किएका उनलाई भारतीय नम्बर प्लेटको बोलेरोले पछाडिबाट ठक्कर दिएको थियो। घटनामा बेहोस भएका उनलाई केही समयपछि प्रहरीले उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज लग्यो।

टाउकाको सिटी स्क्यान गरेर हेर्दा ब्रेन ह्यामरेज भएको देखियो। चिकित्सकले बचाउन नसकिने बताएका थिए, तर सास रहुञ्जेल बाँच्ने आशा सबैलाई हुन्छ। परिवारले भेन्टिलेटरमा राखेर उपचार गर्न अनुरोध गरे। केही दिनपछि स्वास्थ्यमा सुधार देखियो। चिकित्सकको सल्लाहअनुसार नै उनको टाउकाको शल्यक्रिया गर्ने निर्णय भयो। एकपटक होइन तीन–तीनपटक टाउकाको शल्यक्रिया गरिसकिएको छ।

भेन्टिलेटर र आइसियु गरी चितवन मेडिकल कलेजमा मात्रै ९४ दिन राखियो, तर ढुंगाना बोल्न र हिँड्न सक्ने अवस्थामा फर्किएनन्। त्यहाँ उपचार खर्चिलो भएपछि घाइते ढुंगानाको परिवारले उनलाई फिजियोथेरापीका लागि चितवन फिजियोथेरापी सेन्टरमा सारेको पनि एक वर्ष भइसक्यो। अझै कहिलेसम्म ढुंगानाको यसरी नै उपचार गर्नुपर्छ भन्न सकिने अवस्था छैन।

अहिले उनको थेरापीमा मात्रै दैनिक पाँच हजार रूपैयाँको हाराहारीमा खर्च हुन्छ। कमाउने घरको सदस्य नै लामो समयदेखि अस्पतालको बेडमा भएपछि परिवारलाई उनको उपचार खर्चको जोहो कसरी गर्ने भन्ने चिन्ता छ। ढुंगानाको उपचारमा अहिलेसम्म करिब ५० लाख रूपैयाँ खर्च भइसकेको छ। ‘सरसापट र ऋण खोजेर दाइको उपचार गराइरहेका छौं’, उनका भाइ दिननाथ ढुंगानाले भने, ‘अब ऋण कसरी तिर्ने र उपचार खर्चको जोहो कसरी गर्ने भन्ने चिन्तामा छौं।’

आजसम्म त उनीहरूले आर्थिक सहयोगका लागि कसैसँग हात फिँजाएका थिएनन्। अब भने हारगुहार गर्नुको विकल्प नरहेको निष्कर्षमा परिवार पुगेको छ। भाइ दिननाथले यो कठिन परिस्थितिमा सहयोगी मनहरूलाई सहयोग गरिदिन आग्रह गरेका छन्।

घाइते ढुंगानालाई खाना खुवाउने र शौच गराउने कामसमेत अरूले नै गराउँदै आएका छन्। पाइपको सहायताले उनलाई खाना खुवाउने गरिएको दिननाथको भनाइ छ। ठूलो छोरा घाइते भएर अस्पताल शड्ढयामा पुगेपछि आमालाई पनि प्रेसरको औषधि खानुपर्ने बाध्यता आइपरेको छ।

अधिकांश युवा विदेश जाने लहरमा लागिरहेका बेला कालिदासले भने नेपालमै केही गर्ने उद्देश्यले व्यवसाय सुरु गरेका थिए। उनले भरतपुरको अस्पताल रोडमा रेस्टुराँ खोेलेर ग्राहकको मन जितिरहेका थिए। उनको व्यवसाय फस्टाउँदो क्रममा पनि थियो। यही क्षेत्रबाट सफल व्यवसाय बन्ने उनको सपना थियो, तर उनको त्यो सपना दुर्घटनापछि टुटेको छ।

ढुंगानाका आमाबुवा ७५ वर्ष नाघिसकेका छन्। ढुंगानाकी श्रीमती र एउटा ६ वर्षीया छोरी छन्। श्रीमतीले बागलुङ बडिगाड गाउँपालिकाको सिद्धि माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी छन्। प्राथमिक तहमा स्थायी नियुक्ति रहेकी उनलाई श्रीमान् घाइते भएर अस्पताल शड्ढयामा रहेका बेला श्रीमान्सँग बस्ने र सेवा गर्ने रहर छ, तर सरोकारवाला निकायले उनलाई यहाँ सरुवा गर्न स्वीकृत दिएको छैन।

शिक्षा मन्त्रालय, शिक्षा विभागबाट स्वीकृति लिएर आउँदासमेत जिल्ला शिक्षा समन्वय एकाइ चितवनले सरुवाका लागि रोकेको परिवारले जनाएको छ। हाल कार्यरत रहेको विद्यालय र भरतपुरको रामनगर माध्यमिक विद्यालयले समेत स्वीकृति दिँदा जिल्ला शिक्षा समन्वय एकाइ चितवनले आउन स्वीकृत दिएको छैन।

‘सरुवा भयो भने हामीले पनि अन्य काम गर्न सक्ने थियौं’, भाइ दिनानाथले भने, ‘दाइको उपचार खर्च जुटाउन पनि सहज हुने थियो। अहिले कमाउने उमेरमा अस्पतालमा बिरामी कुरेर बस्नुपरेको छ।’

घाइते ढुंगानाको उपचारमा जसोतसो ऋणधन गरेर खर्च जुटाइरहेको परिवारलाई अहिले उपचार खर्च जुटाउन पनि कठिन भइरहेको छ। ‘सकेसम्म अरूका पैसा प्रयोग नगरौं भन्ने थियो’, ढुंगानाकी आमा लक्ष्मीले भनिन्, ‘खर्चको जोहो गर्न अहिले कठिन भइरहेको छ।’

प्रकाशित: १४ फाल्गुन २०८१ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App