२७ चैत्र २०८१ बुधबार
image/svg+xml १९:५ अपराह्न
स्वास्थ्य

वीरको निर्देशकमा डा. शर्मा र पौडेल प्रतिस्पर्धी, प्रधानमन्त्री निर्णायक !


करिब एक सातादेखि रिक्त रहेको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) को निर्देशक पदका लागि दुई चिकित्सकबिच तीव्र प्रतिस्पर्धा देखिएको छ।

हालै कार्यकाल सकाएका डा. सन्तोष पौडेल र वीर अस्पतालमै लामो अनुभव हासिल गरेका तथा चिकित्सा शिक्षा आयोगका पूर्वनिर्देशक डा. दिलीप शर्मा प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्।

यी दुवै चिकित्सक प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्पर्कमा रहेको स्रोतले जनाएको छ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार, डा. पौडेलको नेतृत्वमा वीर अस्पतालले गतिशील रूपमा काम गरेको र उनले निर्णय कार्यान्वयनमा दृढता देखाएका कारण उनको सम्भावना उच्च देखिएको छ। अर्कोतर्फ, डा. शर्मा प्रधानमन्त्री ओलीका निजी चिकित्सक भएकाले उनको सम्भावना झन् बलियो रहेको उनीहरूको विश्लेषण छ।

प्रधानमन्त्री ओलीको निर्णय निर्णायक हुने भएकाले डा. शर्माको नियुक्तिको सम्भावना बढी देखिए पनि अस्पताल सञ्चालन क्षमताका आधारमा डा. पौडेल पनि बलियो उम्मेदवार मानिन्छन्।

वीर अस्पतालको निर्देशकका रूपमा डा. पौडेलको कार्यकाल प्रभावकारी रहको भन्दै स्वास्थ्य क्षेत्रका अधिकारीहरूले उनको प्रशंसा गरेका छन्। यसअघि उनले राष्ट्रिय ट्रमा सेन्टरका निर्देशकका रूपमा समेत भूमिका निर्वाह गरिसकेका छन्। पेसागत रूपमा हाडजोर्नी विशेषज्ञ रहेका डा. पौडेल अस्पताल व्यवस्थापनमा सशक्त देखिएका छन्।

यता, डा. शर्मा पहिलो श्रेणीका वरिष्ठ चिकित्सक हुन्। उनले लामो समयदेखि वीर अस्पतालमै सेवा दिँदै आएका छन्। यसबाहेक, उनले चिकित्सा शिक्षा आयोगका निर्देशकका रूपमा अनुभव बटुलेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म वीर अस्पतालको निर्देशकबारे कुनै औपचारिक निर्णय गरिसकेको छैन। स्वास्थ्य मन्त्री प्रदीप पौडेलका निजी सचिव दुर्गा घिमिरेका अनुसार, आकाङ्क्षी उम्मेदवारहरूको कार्यसम्पादन मूल्याङ्कन भइरहेको छ।

स्रोतका अनुसार, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेस र माओवादीको भागमा क्रमशः उपकुलपति र रजिस्ट्रार नियुक्त भइसकेको हुनाले निर्देशकको पद नेकपा एमालेको भागमा पर्ने सम्भावना बलियो देखिएको छ। अन्तिम निर्णय प्रधानमन्त्री ओलीकै प्रभावमा रहने बताइएको छ।

‘दुवै चिकित्सक प्रतिस्पर्धी भए पनि डा. शर्माको सम्भावना बढी देखिएको छ,’ स्रोतले भन्यो। तर स्वास्थ्य मन्त्रालयले हाललाई डा. समाज गौतमलाई वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिएको र उनको कार्यसम्पादन मूल्याङ्कनसमेत भइरहेको जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०८१ १८:२२ बुधबार

खुशी 42.9 %
दुखी 14.3 %
अचम्मित 14.3 %
हास्यास्पद 28.6 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App