२२ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा ६ हजार ८ सय ७१ छात्रालाई ‘एचपिभी खोप’

किशोरीलाई एचपिभी खोप दिँदै स्वास्थ्यकर्मी। तस्विरः महेश्वर

महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले सञ्चालित ‘ह्युमन प्यालोमा भाइरस (एचपिभि) खोप अभियान’ लक्षनजिक प्रगति गर्दै सम्पन्न भएको छ। गत माघ २३ देखि फागुन २ गतेसम्म सञ्चालित अभियानबाट ९१ प्रतिशत छात्रा लाभान्वित भएका छन्।  

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार जिल्लाका ८ वटै स्थानीयतहमा अध्ययनरत ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालयबाहिरका किशोरी लक्षित अभियान अन्तर्गत १८ हजार ३ सय ८९ जनाले खोप पाएका छन्। खोप अभियान ४ नगर र ४ गाउँपालिकाका २ सय ८३ विद्यालय, ९२ स्वास्थ्य केन्द्र र बाह्य खोप केन्द्र गरी ३ सय ९६ केन्द्रमार्फत २ चरणमा चलाइएको थियो।  

कार्यालयका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले जिल्लाभरमा २० हजार १ सय २२ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य राखिएकोमा ९१ प्रतिशत सफल भएर ९ प्रतिशत लक्ष्य चुम्न सकेन। जस अनुसार ८ वटै स्थानीयतका १८ हजार ३ सय ८९ जना किशोरी खोपबाट लाभान्वित भएका छन्। बाँकी हिस्सालाई पनि कुनै न कुनै माध्यमबाट खोप दिलाउने योजना स्वास्थ्य कार्यालले लिएको छ।  

तहगत हिसावमा सबैभन्दा बढी कटारी नगरपालिका शतप्रतिशत लक्ष्य हासिल गर्न सफल भएको छ भने बेलका नगरापालिका सबभन्दा कम ८२ प्रतिशतमा सीमित भएको छ। कटारीको लक्ष्य ३ हजार ७ सय ७० जना रहेकोमा सबैलाई खोप दिन सफल भएको छ भने बेलकाले २ हजार ८ सय ११ जनाको लक्ष्य लिँदा २ हजार २ सय ९१ ले मात्र पाएका छन्।  

त्यसैगरी दोस्रो ठूलो प्रगति गर्न सफल ताप्ली गाउँपालिकाले लक्ष्यको ९६ प्रतिशत प्रगति गरेको छ। ताप्लीको लक्ष्य ८ सय ७० किशोरी रहेकोमा ८ सय ३७ जनालाई खोप दिन सफल भएको छ। ३ हजार ३६ लाई खोप दिने लक्ष्य बोकेको चौदण्डीगढी नगरपालिकाले ९३ प्रतिशत प्रगति गर्दै २ हजार ८ सय २० जनालाई लाभान्वित बनाएको छ।  

सदरमुकाम त्रियुगा नगरपालिका ९१ प्रतिशत प्रगति गर्दै ५ हजार ७ सय ६९ किशोरीलाई खोप दिन सफल भएको छ। त्रियुगाको लक्ष्य ६ हजार ३ सय ७१ जनालाई खोप दिने भन्ने थियो।  

उदयपुरगढी र रौतामाई गाउँपालिका समान ९० प्रतिशत लक्ष्य हासिल गर्न सफल भएका छन्। उदयपुरगढीले १ हजार ५ सय ३९ जनालाई खोप दिने लक्ष्य लिएकोमा १ हजार ३ सय ८२ ले खोप लाएका छन् भने १ हजार १ सय ८७ किशोरीले खोप पाउने रौतामाईको लक्ष्यमा १ हजार ६६ जना लाभान्वित भएका छन्।  

१३ विद्यालयका ५ सय ३६ जनालाई खोप दिने लक्ष्य लिएको विकट पहाडी लिमचुङबुङ गाउँपालिकाको प्रगति ८५ प्रतिशत सफल भएको छ। लिमचुङबुङका ४ सय ५४ जना किशोरीले खोप पाएको गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णशेर राईले बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार एचपिभी खोपले महिलाको बच्चादानीको मुखमा हुने क्यान्सरको जोखिम उल्लेख्य रूपमा रोक्न सक्ने पुष्टि भइसकेको छ। प्रजनन उमेर पुग्नु भन्दा अगावै यो खोप लगाउँदा बढी प्रभावकारी हुने भएकाले नेपाल सरकारले १५ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी खोप अभियान चलाउको छ।

उदयपुरमा कक्षा ६ मा पढ्ने किशोरीको सङ्ख्या ३ हजार ६ सय ९ जना छ भने कक्षा ७ देखि १० सम्म पढ्नेहरू १३ हजार ४६ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्ले देखाएको छ। त्यसैगरी विद्यालयबाहिरका १० वर्षसम्म उमेरका २ सय २ जना र ११ देखि १४ वर्ष उमेरका ३ हजार २ सय ६५ जना रहेको स्वास्थ्यले जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०८१ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App