२१ पुस २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

नसर्ने रोगको परीक्षण आजदेखि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगको परीक्षण बिहीबारदेखि सुरु गर्ने भएको छ। निःशुल्क रूपमा परीक्षण गरिने नसर्ने रोगहरूको पहिचान गरी यसको जटिलताबाट बचाउने मन्त्रालयको लक्ष्य रहेको छ।

फागुन महिनाभर सञ्चालन हुने उक्त परीक्षण अभियानमा करिब एक करोड जनताको स्वास्थ्य परीक्षण हुने मन्त्रालयले जनाएको छ। तीस वर्षमाथिका मिर्गौला, उच्च रक्तचाप, मधुमेह र शरीरको बिएमआई (शरीरको तौल तथा मोटोपनासूचक) जाँच गरिने छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो अभियानका लागि गत मंसिर १६ मा नसर्ने रोग परीक्षण अभियान निर्देशिका स्वीकृत गरेका थिए।

‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजनाअन्तर्गत अभियान थालिएको हो’, मन्त्री पौडेलले भने, ‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रयत्न जारी रहेको मन्त्री पौडेलले बताए।

देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्षमाथिका छन्। यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ। अभियानका क्रममा ३० वर्षमाथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए। मन्त्रालयले यो सेवा निःशुल्क गर्ने बताएको छ। ‘स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्षमाथिका सबैलाई निःशुल्क परीक्षण गरिने छ’, प्रवक्ता बुढाथोकीले भने ।

प्रकाशित: १ फाल्गुन २०८१ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App