२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ११:३२ पूर्वाह्न
स्वास्थ्य

मारबर्ग भाइरसद्वारा आठ जनाको मृत्युको आशंका

पूर्वी अफ्रिकाको पूर्वी सिमानामा रहेको तान्जनियामा इबोलाजस्तै लक्षण भएको ‘मारबर्ग’ भाइरस फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। बुधबार एक सूचना जारी गर्दै संगठनले यो भाइरसको मृत्युदर उच्च भएको औंल्याउँदै सचेत रहन आग्रह गरेको छ। तान्जनियाको उत्तरी भागका दुई जिल्ला विहारमाउलो र म्युवेलामा यसको संक्रमण फैलिएको छ।

हालसम्म यसको संक्रमणबाट आठ जनाको मृत्यु र थप नौ जनामा संक्रमण भएको संगठनले आशंका गरेको छ। यसको मृत्युदर ८९ प्रतिशत छ। सन् २०२३ मा यो भाइरस बुकोवा जिल्लाको कागेर भन्ने भागमा फैलिएको थियो। त्यतिखेर मारबर्ग भाइरस नौ जनामा संक्रमण भएको थियो र यसले ६ जनाको ज्यान लिएको थियो।

‘बिरामीको पहिचान र आइसोलेसनमा राख्ने काममा ढिलाइ भएकाले बढी क्षति भएको देखिन्छ,’ डब्लुएचओले मंगलवार जारी गरेको सूचनामा उल्लेख छ।

पाँच दिनभित्र थप संक्रमण पहिचान हुने संगठनले जनाएको छ। यो रोग जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्छ। विशेष गरी फलफूल र चमेरोबाट यो रोग मानिसमा सर्छ भने यसको संक्रमण अवधि २ देखि २१ दिनको हुन्छ। संक्रमणको दुई दिनपछि उच्च ज्वरो आउने, कडा टाउको दुख्ने, मांसपेशी दुख्ने, पखाला लाग्ने, रिंगटा लाग्ने, बान्ता आउने, शरीरमा नचिलाउने बिबिरा आउनेजस्ता लक्षण देखिन्छन्।

सात दिनपछि बान्ता हुने, दिसा लागिरहने, नाक र नसाहरूबाट रगत बग्नेजस्ता लक्षण देखिन्छ। धेरै रगत बगेको अवस्थामा नौदेखि १० दिनमा संक्रमितको मृत्यु हुन्छ। हालसम्म यो रोगको खोप र औषधी नबनेकाले सचेत रहन संगठनले अपिल गरेको छ। यसको प्रकोप सम्बन्धित जिल्ला र क्षेत्रीय देशहरूमा हुन सक्ने र विश्वव्यापी रूपमा कम प्रभाव पर्नसक्ने पनि संगठनले जनाएको छ।

प्रकाशित: ४ माघ २०८१ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App