१९ पुस २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य मन्त्रीको निर्णय: शिशु जन्मनासाथ चार महत्त्वपूर्ण परीक्षण अनिवार्य

अब नेपालका प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिने शिशुमा प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधवार मन्त्री स्तरीय निर्णय गर्दै प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा अपांगता सहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हुन् ।

नवजात शिशुमा अपांगतासँगै रगतबाट थाइरोइड परीक्षण, सुन्ने क्षमता, आँखाको दृष्टि र जण्डिस सम्बन्धी परीक्षण अनिवार्य गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

जन्मनासाथ यी समस्या थाहा पाउन सकिएमा बालबालिकालाई जटिल प्रमुख स्वास्थ्य समस्याबाट बचाउन सकिने मन्त्री पौडेलको विश्वास रहेको सचिवालयले जनाएको छ ।  

मन्त्री पौडेलले निर्णय गर्दा आफ्नो योजना तथा प्राथमिकतामा बालबालिकाको जन्मनासाथ हुने परीक्षणको दायरा बढाएर अपांगता तथा प्रमुख स्वास्थ्य समस्याको निदान रहेको बताएका थिए ।

विश्वमा ६ प्रतिशत शिशुमा जन्मनासाथ अपांगताको समस्या देखिने गरेको छ । तर, समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने विभिन्न अध्ययनले देखाएका छन् ।

नेपालमा नवजात शिशुमा अपांगता सम्बन्धी समस्या कम गर्न यो निर्णय महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । यसअघि परोपकार अस्पतालमार्फत परीक्षणका रूपमा जन्मजात अपांगता सम्बन्धी परीक्षणको मन्त्री पौडेलले सुरुवात गरेका थिए ।

प्रकाशित: १५ कार्तिक २०८१ १५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App