३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

आत्महत्या न्यूनीकरणमा चुनौती

नेपालमा पछिल्लो एक वर्षभित्रमा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका छन्। नेपाल प्रहरीको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकले यस्तो देखाएको हो। यो तथ्यांकअनुसार नेपालमा प्रत्येक दिन सरदर २० जनाले आत्महत्या गरेको देखिन्छ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८१ मा ६ हजार नौ सय ९३ जनाले आत्महत्या गरेका थिए। त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ६ हजार आठ सय ३० जना, २०७७/७८ मा सात हजार सात सय १७ जना र २०७६/७७ मा ६ हजार दुई सय ७९ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ। तथ्यांकअनुसार आत्महत्या गर्नेमध्येमा ६८ प्रतिशत युवा उमेरका छन्।  नेपालले दिगो विकास लक्ष्य प्राप्तिको उद्देश्यअनुसार सन् २०३० भित्रमा आत्महत्या दर प्रतिएक लाखमा ४.७ जनामा झार्ने लक्ष्य लिएको छ।

आत्महत्या गर्नेको संख्या बढ्दै गएको पछिल्लो परिपे्रक्ष्यमा अबको ६ वर्षमा दिगो विकास लक्ष्य भेटाउन चुनौती देखिएको स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका शाखाप्रमुख डा. भक्तबहादुर केसीले बताए। उनले भने, ‘अबको ६ वर्षभित्र सामान्य प्रयासले मात्र लक्ष्यमा पुग्न सम्भव देखिँदैन।’ अहिले नेपालमा आत्महत्या दर प्रतिएक लाखमा २५ जना छ।

विश्वमा मृत्युका २० प्रमुख कारणमध्ये आत्महत्या पनि एक हो। विश्वमा हरेक वर्ष करिब सात लाखजनाले आत्महत्या गर्छन्। हरेक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्छन्। आत्महत्याबाट एकजनाको ज्यान जाने मात्र नभई, त्यो व्यक्तिसँग सम्बन्धित १३५ जनालाई पनि आघात पुग्ने एक अध्ययनले देखाएको छ।

थरीथरी कारण

मानसिक स्वास्थ्य समस्या आत्महत्याको मुख्य कारण बनेको स्वास्थ्य सेवा विभागअन्तर्गत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाप्रमुख डा. पोमावती थापा बताउँछिन्। लामो समयदेखिको मानसिक समस्या र क्षणिक तनावका कारण पनि मानिसले आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ।

गरिबी, वैदेशिक रोजगारीका कारण हुने एक्लोपन, सामाजिक समस्या, किशोरकिशोरीमा इन्टरनेटको पहुँच र त्यसले निम्ताएको नकारात्मक असरले पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ।

‘इन्टरनेटमा पहुँचका कारण किशोरकिशोरी मोजमस्तीको जीवन जिउन खोज्छन तर यथार्थमा त्यस्तो हुँदैन। परिणाम मानसिक स्वास्थ्यमा समस्या थपिन्छ’, उनले भनिन्।

थापाका अनुसार व्यापार व्यवसायमा घाटा भएका कारण तनाव हुने र त्यसले आत्महत्या निम्ताएको देखिन्छ। सामाजिक, पारिवारिक कलह र अन्य कारणले पनि नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ।

मानसिक स्वास्थ्य समस्याको लक्षण देखिएमा तत्काल उपचार खोजे आत्महत्याबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ। आत्महत्याको लक्षण देखिएका मानसिलाई तत्काल उद्धार गर्न सकेमा पनि मृत्युबाट बचाउन सकिन्छ।

नेपाल कृषि प्रधान देश भएकाले विषादीमा सहज पहुँच छ। विषादी सहज पहुँच पनि आत्महत्याको अर्को कारण हो। आत्महत्यामा कमी ल्याउन पुल, नदी, नाला, ढल, अग्ला भवनमा बारको व्यवस्था गर्नुपर्ने सुझाव पनि उनको छ। किनकि आत्महत्याको सोच बनाएका मानिस यस्ता खुला स्थानबाट हाम फाल्न सक्छन्।

सरकार मानसिक स्वास्थ्य उपचारमा रोगीको सहज पहुँच स्थापित गर्ने प्रयासमा लागे पनि प्रभावकारी बन्न नसेकेको थापा बताउँछिन्। अहिले देशभरिमा दुई सय ५० जना मानसिक रोग विशेषज्ञ चिकित्सक छन। ती पनि सबै सहरकेन्द्रित भएकाले दूरदराजका रोगी विशेषज्ञ चिकित्सकको पहुँचमा पुग्न सकेका छैनन्।

सरकारले स्थानीय तहकै स्वास्थ्यकर्मीलाई तालिम दिई गाउँमै मानिसक स्वास्थ्य रोगी पहिचान गरी जटिल प्रकृत भएकालाई ठुला अस्पतालमा रेफरको व्यवस्था गरेको छ। तर यो पनि प्रभावकारी हुन सकेको छैन। जोखिमबाट बच्न/बचाउन सकिन्छ।

व्यक्तिले आत्महत्याको सोच आउनुअघि कुनै न कुनै लक्षण देखाउँछन्। लामो समयदेखि डिप्रेसनमा हुनु, डोरी, विषादी जस्ता सामान खोज्नु यसका लक्षण हुन्। यस विषयमा परिवारका सदस्य या नजिकका साथीसँग पनि केही न केही कुरा उनीहरूले गर्छन्। यस्ता लक्षण देखिएका व्यक्तिको कुरा सुन्ने, उनीहरूलाई मानसिक चिकित्सकसमक्ष पुर्‍याउने भूमिका परिवारका सदस्य वा छिमेकीले गरेमा जोखिमबाट बचाउन सकिने चिकित्सक बताउँछन्।

आत्महत्याको सोच बनाएका व्यक्तिलाई परामर्श दिन सरकारले २४ सै घण्टा हटलाइन सेवा सञ्चालन गरेको छ। कसैले यस्तो सोच आएका व्यक्ति देखेमा, पहिचान गरेमा वा स्वयं व्यक्तिले १६१६ नम्बरमा सम्पर्क गरी परामर्श लिन सकिन्छ।

प्रकाशित: २७ भाद्र २०८१ ०६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App