१ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं उपत्यकामा भाइरल ज्वरो र डेंगीको संक्रमण तीव्र, अस्पताल भरिभराउ

डेंगी संक्रमण बढिरहेका बेला भाइरल ज्वरो र अज्ञात ज्वरो समेत फैलिएपछि उपत्यकाका अस्पतालमा बिरामी चाप बढेको छ। 

उपत्यकामा रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल बानेश्वर, त्रिवि शिक्षण अस्पताल महाराजगन्जलगायत सरकारी तथा निजी अस्पतालहरूमा बिरामीको चाप ह्वात्तै बढेको हो।

टेकु अस्पतालको आकस्मिक कक्षमा २४ घण्टामैं ५० जना बिरामी पुगेको अस्पतालले जनाएको छ। तीमध्ये धेरैजसो डेंगी र भाइरल ज्वरोका बिरामी रहेको अस्पतालका निर्देशक युवानिधी बसौलाले जानकारी दिए।

राजधानीकै ठूलो वीर अस्पतालमा पछिल्लो समय बहिरङ्ग विभाग (ओपिडी) मा आउने बिरामीमध्ये दैनिक २० प्रतिशत विभिन्न खाले ज्वरोका बिरामी छन्। अस्पतालको मेडिसिन वार्डमा ४० प्रतिशत ज्वरोका बिरामी उपचाररत रहेको अस्पतालले जनाएको छ। मेडिसिन वार्ड  एक सय शय्या क्षमताको छ।

उपचारमा पुगेका ज्वरोका बिरामीमध्येमा पनि ५० प्रतिशत डेंगी र ५० प्रतिशत भाइरल तथा अज्ञात ज्वरोका रहेको मेडिसिन विभागका प्रमुख डा। ध्रुव गैरले बताए। उपचाररत बिरामी उपत्यका र आसपासका जिल्लाका रहेको उनले बताए। कतिपय बिरामी स्थानीय अस्पतालबाट उपचार सम्भव नभएपछि रेफर भएर आएका छन्। जसमा एक हप्तासम्म पनि निको नभएर आउने बिरामी पनि धेरै रहेको विभाग प्रमुख गैरेले बताए।

‘भर्ना भएका बिरामीमध्ये कतिपयमा रुघाखोकी, ज्वरोपछि निमोनियाँमा परिणत भइसकेको देखिएको छ,’ गैरेले भने।

उता बानेश्वरको सिभिल अस्पतालमा दैनिक १५ देखि २० जना ज्वरोका बिरामी ओपिडीमा आइरहेका छन्। त्यसमध्ये दैनिक औसतमा चार जना वार्डमै भर्ना भएर उपचार गराउने अवस्थाका छन्। बिरामीको चाप धेरै हुँदा अन्य अस्पतालबाट पठाउनुपर्ने अवस्था समेत सिर्जना भइरहेको अस्पतालका श्वासप्रश्वास तथा छातिरोग विशेषज्ञ डा। विदेश विष्टले बताए। ‘यहाँ राखेर उपचार गर्ने ठाउँ नभएपछि अन्य सरकारी अस्पतालमै रेफर समेत गरेका छौँ,’ चिकित्सक विष्टले भने।

ज्वरोका बिरामी पाँच÷सात दिन घरैमा औषधी खाएर निको नभएपछि आउनेहरू पनि रहेको चिकित्सक विष्टले बताए। यसरी पुग्ने बिरामीमा भाइरल र डेंगी ज्वरो बढी देखिने उनले बताए। उनका अनुसार भाइरल ज्वरोका बिरामीमा निमोनियाँको जोखिम बढी पाइएको छ।

टेकु अस्पतालका ओपिडी विभाग प्रमुख विशेषज्ञ फिजिसियन डा। अवशेष पुनका अनुसार पछिल्लो समय ओपिडीमा आउने बिरामीमध्येमा डेंगी, मौसमी ज्वरो, रुघाखोकी र स्क्रबटाइफसका बिरामी धेरै छन्। मनसुनको कारण उनीहरूमा रुघाखोकी लागेर श्वासप्रश्वास नलीमा संक्रमण भएको देखिएको उनले बताए।

बिरामीहरूमा ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, घाँटी दुख्ने जस्ता लक्षणहरू देखिएको चिकित्सकहरू बताउँछन्। सामान्य र कडा ज्वरो भएका दुबै तहका बिरामी उपचारमा पुगेका छन्।

चिकित्सक पुनका अनुसार भदौदेखि यता डेंगी र अन्य ज्वरोको समस्या व्यापक बढेको छ । ज्वरोबाट सहज निको नहुनेहरूमा शरीरको प्रतिरक्षा क्षमता कमजोर भएका, अन्य दीर्घरोग भएकाहरू बढी छन्।

अहिले मौसमी फ्लु र डेंगीको जोखिम बढेकोले यी रोग लाग्ने अवस्थाबाट सजक रहन चिकित्सकहरूको सुझाव छ। यस्तो बेला बाहिर हिँड्दा मास्कको प्रयोग गर्ने, पानीमा नभिज्ने, तातो चिसो कुरा जथाभाबी नखाने, लामखुट्टेको टोकाइबाट बच्ने, झाडीमा नाङ्गो खुट्टाले नटेक्ने जस्ता सावधानी अपनाउन चिकित्सकको सुझाव छ।

यस्तै सामान्य ज्वरो आएमा सुरुमा आराम गर्ने, तातो पानी सेवन गर्ने, जस्ता सावधानी अपनाउन पनि चिकित्सकहरूको जोड छ।  तर तीन दिनसम्म निको नभएमा निमोनियाँको जोखिम हुने भएकाले उपचारका लागि अस्पताल जान चिकित्सकको सुझाव छ।

प्रकाशित: २४ भाद्र २०८१ १७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App