१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययन सुरु हुने

पोखरा  स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब  एमबिबिएस अध्ययन सुरु हुने भएको छ । अर्थ मन्त्रालयले हालै दुवै प्रतिष्ठानको लागि सञ्चालनका लागि स्रोत  सुनिश्चित गरेपछि एमबिबिएस अध्ययन सुरु हुने भएको हो ।

 स्रोत सुनिश्चित भएको बारेमा हालै अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्रोत व्यवस्थापन भएको बारे पत्र पठाएको जनाएको छ ।

गत साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा सुरु गर्ने घोषणा गरेका थिए । 

चालु आर्थिक वर्षमा मन्त्रालयले ५ करोड विनियोजन गरे पनि थप श्रोत सुनिश्चित नहुँदा पढाइ सुरु गर्न सकिएको थिएन ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अर्थमन्त्रालयसंग समन्वय गरेपछि रकम सुनिश्चित भएको मन्त्रालयले जनाएको छ । दुवै प्रतिष्ठानको पाँच वर्ष अघि नै पूर्वाधार विकास भइसकेको थियो । बजेटको अभावमा हालसम्म अध्यापन सुरु हुन सकेको थिएन । 

अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबिबिएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ । 

‘देशमा चिकित्सक अभाव रोक्न दक्ष जनशक्ति उत्पादन बढाउने हाम्रो लक्ष्य हो,प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनसँगै थप चिकित्सक अध्ययन गर्ने मार्ग खोल्न हामी लाग्नेछौँ’उनले भने । मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय बेडभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र ३ सय बेडभन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने पनि उल्लेख छ । यसअनुसार आवश्यक तयारीका लागि मन्त्रालयले काम अघि बढाएको जनाएको छ । 

प्रकाशित: २ भाद्र २०८१ १६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App