चितवनका चिकित्सक दम्पती डाक्टर अजय न्यौपाने र डाक्टर सरु थापाले सामाजिक कामका लागि फाउण्डेशन स्थापना गरेका छन्। शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी चिकित्सक दम्पतीले फाउण्डेशनको औपचारिक घोषणा गरेका हुन्।
उनीहरुले फाउण्डेशनको नाम डा.अजय एण्ड सरु फाउण्डेशन राखेका छन्। सामाजिक सेवाको उद्देश्यसहित फाउण्डेशनको खोलिएको फाउण्डेसनका अध्यक्ष डाक्टर अजय न्यौपानेले बताए।
फाउण्डेशनले स्वास्थ्य, शिक्षा, वातावरण, खेलकुद, कला, संस्कृति लगायतका क्षेत्रमा सामाजिक कार्य गर्ने डा. न्यौपानेले जानकारी दिए।
’पहिलो काम स्वास्थ्य क्षेत्र नै हुनेछ । त्यसमा पनि दुष्टि गुमेको विपन्न तथा असाय व्यक्तिलाई प्राथमिकतामा राखेका छौँ’, उनले भने ’गाउँपालिकाको समन्वयमा स्वास्थ्य शिविरको समेत आयोजना गर्दछौँ।’ फाउण्डेशनबाट विपतका समयमा आकस्मिक स्वास्थ्य सहयोग, राहत उद्वार र पुर्नस्थापनाको काम समेत गर्ने उनले बताए।
चितवनसहित आसपासका गाउँपालिकालाई आफ्नो कार्यक्षेत्र बनाउने लक्ष्य राखेको फाउण्डेशनले प्रत्येक बर्ष २० जना विपन्न विद्यार्थी र पाँच जना शिक्षकलाई दश हजार रुपैयाँका दरले पुरस्कार प्रदान गर्ने लक्ष्य फाउण्डेशनको छ। राष्ट्रिय वातावरण दिवस, बाल दिवस, मुख दिवसमा विभिन्न कार्यक्रम गर्ने डा.न्यौपानेले बताए।
फाउण्डेशन सञ्चालन गर्न एक करोडको अक्षकोष बनाउने लक्ष्य रहेको उनले बताए । प्रत्येक वर्ष दश लाख रुपैयाँ बराबरको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने लक्ष्य फाउण्डेशनको छ।
’पहिलो वर्ष दश लाख रुपैयाँ अक्षय कोषको नाममा फिक्स डिपोजिट गरेका छौँ। दश लाख रुपैयाँ चालु खर्चमा छुट्टाइएको छ’, उनले भने ’आगामी दश बर्षमा एक करोडको अक्षय कोष निर्माण गछौँ।’
फाउण्डेशन सञ्चालन गर्न अन्य संघसंस्थाबाट आर्थिक सहयोग संकलन नगर्ने उनले बताए। तर, समन्वय भने स्थानिय निकाय सहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थासंग समन्वय गरेर काम गर्ने लक्ष्य राखिएको छ।
उनीहरुले यसअघि पनि सामाजिक क्षेत्रमा थुप्रै काम गरिसकेका छन्। २०६४ सालमा चितवनमा आएर चिकित्सक पेशा अंगालेका डा. दम्पतीले हालसम्म शिवर मार्फत ३५ हजार भन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेका छन्।
प्रकाशित: १ भाद्र २०८१ ०९:१५ शनिबार