२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

ललितपुरमा एकजनामा हैजा पुष्टि, चारजनामा आशंका

ललितपुर गोदावरी नगरपालिकामा एकजना युवामा हैजा पुष्टि भएको छ। थप चारजनामा आशंका रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। गोदावरी नगरपालिका थैवस्थित एक पुनस्र्थापना केन्द्रका पाँचजना सदस्य पालैपालो बिरामी परेपछि परीक्षण गर्दा हैजा पुष्टि भएको हो। बिरामी परेपछि गत साता दिसा जाँच गर्दा २१ वर्षीय युवामा हैजा पुष्टि भएको हो।

हैजा पुष्टि भएका युवालाई जिल्ला जनस्वास्थ्य ललितपुरले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रेफर गरेको थियो। उपचारका क्रममा उनको दिसाको कल्चर गर्दा हैजा पुष्टि भएको हो। उनी बिरामी परेपछि प्रभावित क्षेत्र खोज्ने क्रममा उनै युवा बस्ने सुधार केन्द्रका थप चारजना बिरामी भएको फेला परेको थियो। बिरामी पाइएपछि जिल्ला जनस्वास्थ्य ललितपुरले स्थानीय तहको सहयोगमा उनीहरूलाई उपचारका लागि टेकु अस्पताल लैजान सिफारिस गरेको हो।

थप चारजनाको ‘र्‍यापिड टेस्ट’ गर्दा पोजिटिभ भएको तर कल्चर परीक्षणबाट पुष्टि नभएसम्म यकिन गर्न नसकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले बताए।

तर उनीहरूमा झाडापखालाको लक्षण देखिएपछि उपचारका लागि टेकु अस्पताल पुर्‍याइएकोमा चारजना मध्येमा तीनजना मंगलबारै भागेका थिए । एकजनामा गम्भीर समस्या देखिएपछि पाटन अस्पताल रेफर गरिएको थियो। भागेका मध्येमा एकजना बुधबार केएमसी अस्पतालमा उपचारका लागि पुगेको पुनस्र्थापना केन्द्रले महाशाखालाई जानकारी दिएको छ।

बिरामीले प्रयोग गरेको पानीमा दिसाजन्य कीटाणु फेला परेको हो। ललितपुर गोदावरीस्थित पुनस्र्थापना केन्द्रमा बस्नेहरूमा हैजा पुष्टि भएपछि जिल्ला जनस्वास्थ्य, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नगरपालिकाको टोलीले घटनास्थल पुगी वातावरण अनुगमन तथा निरीक्षण गरेको छ।

अध्ययनका क्रममा उनीहरूले प्रयोग गर्दै आएको इनार र रिजर्भ ट्यांकीको पानीमा दिसामा पाइने कीटाणु इकोलाई फेला परेको इपिडिमियोलोजी महाशाखाले जनाएको छ।

त्यो भनेको हैजा बनाउने कीटाणु पानीमा छ भन्ने पुष्टि भएको महाशाखाको महामारी शाखाका प्रमुख डा. मुकेश पौडेलले बताए । पौडेलका अनुसार भिब्रियो कलेरा नै हो भन्ने पुष्टि गर्न कल्चर नै गर्नुपर्छ । कल्चर गरिएका बिरामीमा हैजा पुष्टि भइसकेको छ, जो त्यही पुनस्र्थापना केन्द्रमा बसोबास गर्दै आएका थिए ।

इनारमा दिसामा पाइने कीटाणु ‘फिकल कोलिफम’

पुनर्स्थापना केन्द्रबाहेक बाहिर समुदायमा झाडापखाला तथा हैजा नभएको पाइएकाले केन्द्रकै पानीको स्रोतमा दिसाजन्य पदार्थ मिश्रित भएको देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले बताए । ‘इनारमा दिसा मिसिएको देखियो, यही पानी कुनै न कुनै रूपमा केन्द्रमा बस्नेले प्रयोग गरेको हुनुपर्छ’, उनले भने।

केन्द्रमा प्रयोग गरिने पानी सिधै नपिए पनि भाँडा सफा गर्दा र दाँत माझ्दा मुखभित्र पसेको हुनुपर्छ’, डा. मुकेश पौडेलले भने। दुवै पानीमा ‘फिकल कोलिफर्म’ भेटिएपछि समुदायलाई वितरण गरिने पानीको नमुना पनि संंकलन गरी महाशाखाले परीक्षणका लागि पठाइसकेको स्वास्थ्य कार्यालयका डा. पौडेलले बताए। यसको रिपोर्ट आएपछि थप जानकारी प्राप्त हुने उनले बताए । घटनापछि जनस्वास्थ्य कार्यालय र स्थानीय निकाय पुगी केन्द्रको इनारको पानी प्रयोग गर्न बन्द गरिएको छ।

रिजर्भ ट्यांकी सफाइ र निर्मलीकरण भइसकेको स्वास्थ्य शाखाले जनाएको छ। यसका साथै समुदायलाई निर्मलीकरण गरिएको पानी मात्र पिउन सुझाएको डा. पौडेलले बताए। ‘बर्खामा पानीको मुहानमै दिसा मिसिन सक्छ, सकेसम्म पानी उमालेरै पिएको बेस’ उनले भने।

उमालेको पानी मात्र पिउनू

बर्खामा पानीका मुहानमा फोहोर बगेर दूषित हुने र यस्तो पानी प्रयोग गरेमा झाडापखाला या अन्य पानीजन्य रोग लाग्ने भएकाले उमालेको पानी मात्र पिउन चिकित्सकहरूले सुझाएका छन्। ‘यो अवधिमा सकेसम्म उमालेको मात्र पानी पिउनू, नभएमा भरपर्दो निर्मलीकरण गरिएको पानी पिउनू’ महामारी व्यवस्थापन शाखाका प्रमुख डा. पौडेलले भने। उमालेको पानी नभएको बखत निर्मलीकरण गरेको पानी पिउन सकिने चिकित्सकहरूको सुझाव छ। यसका लागि पानीमा पियुष या क्लोरिनको झोल राखेर निर्मलीकरण भएपछि मात्र प्रयोग गर्न सकिने डा. पौडेलले सुझाए।

प्रकाशित: १० श्रावण २०८१ ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App