२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

छालामा गर्मी तथा वर्षाजन्य संक्रमण बढ्दो

गर्मीसँगसँगै वर्षाका कारण छालाजन्य रोगको संक्रमण बढेको अस्पतालहरूले जनाएका छन्। यतिखेर गर्मी तथा वर्षाजन्य छाला संक्रमणका बिरामी मात्र २० देखि २५ प्रतिशत बढेको राजधानीका दुई ठूला अस्पतालहरूले जनाएका छन्।वीर अस्पतालको चर्म तथा छाला रोग विभागका अनुसार किटाणुजन्य, ढुसीजन्य संक्रमण र एलर्जीका समस्या बढी देखिएको छ। 

लुतो तथा ढुसीजन्य संक्रमण बढी मात्रामा देखिएको र विशेषगरी छात्रवास, प्रहरी तथा सेनाहरूमा सामुहिक रोगका रूपमा लुतो संक्रमण हुने गरेको डा. रश्मि शर्माले बताइन्। वीरमा यस्ता बिरामी औसत २० प्रतिशत छन्। यो अस्पतालमा दैनिक दुई सय ५० देखि तीन सयजनाको संख्यामा बिरामी आउने गर्छन्।

गर्मीमा पसिना बाफिएर ढुसी, किटाणु र लुतोजन्य रोग संक्रमण हुने गरेको डा. शर्मा बताउँछिन्। यसका साथै किराले टोकेर एलर्जी भएका बिरामी पनि दैनिक १० जना औसत हुने गरेको शर्माले जानकारी दिइन्। गर्मी र वर्षाजन्य छालाका रोग बढेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

पानी पर्न थालेसँगै यस्ता रोग थप बढेपछि अस्पतालमा बिरामीको चाप बढेको पाटन अस्पताल चर्म तथा यौन रोग विभागका वरिष्ठ चर्मरोग विशेषज्ञ डा. भाष्कर कायस्थले जानकारी दिए। उनका अनुसार गर्मी र वर्षाका कारण कुल बिरामीमध्ये २० देखि २५ प्रतिशत छालाको संक्रमणका बिरामी छन्। ‘कुल बिरामीमध्येमा २५ प्रतिशत मौसमी मात्र छन्’, उनले भने । यो अस्पतालमा दैनिक एक सय ५० जना बिरामी बहिरंग विभागमा उपचारका लागि पुग्छन्।

डा. कायस्थका अनुसार बयस्क तथा त्यसभन्दा माथिका उमेरका मानिसको तुलनामा बालबालिकामा छालासम्बन्धी रोेगको संक्रमण बढेको छ। गर्मीका कारण घमौरा आउने, घमौरा बिग्रेर ‘समर बोयाइल’ एचएमएफ (हत्केला, मुख र पैतालामा हुने रातो फोका) हुने र हिपवरिपरि फोका आउने जस्ता संक्रमण बढी छन्। गर्र्मीमा तापका कारण पसिना आउने र पसिना आउने प्वाल बन्द भई घमौरा आउँछ।

त्यसैगरी भाइरल संक्रमणका कारण एचएमएफ संक्रमण हुन्छ। यो प्रायः स्कुल जाने बालबालिकामा हुने हुँदा यसको संक्रमण स्कुलबाट हुने भएकाले संक्रमित बालबालिकालाई केही दिन स्कुल नपठाएमा एकअर्कालाई सर्नबाट बचाउन सकिने डा. कायस्थले सुझाए।

घमौरा आएमा पाउडर या क्रिम केही पनि नलगाई दैनिक दश/पन्ध्रपटक पानीले पखाल्ने र पखालेको ठाउँमा हावाले सुकाउने गर्नुपर्छ। यो प्रक्रिया जारी राखेमा घमौरा स्वतः नियन्त्रण हुने डा. कायस्थ बताउँछन्।

बालबालिकाबाहेक माथिल्लो उमेरका मानिस पनि यो मौसममा छालासम्बन्धी संक्रमण भएर उपचार गर्न पुगेका छन्। हिलो तथा पानीले खुट्टाका औंलाका कापमा धुसीको संक्रमण हुने, खुट्टा पाक्ने, गर्मीका कारण काखी या खुट्टाको बिचमा काछ लाग्ने समस्या लिएर उपचारमा पुगेको डा. कायस्थले जानकारी दिए।

खेतबारीमा काम गर्न जाँदा माटो या पानीमा खुट्टा डुब्ने क्रममा किसानहरूका खुट्टा पाक्ने समस्या बढी देखा पर्छ। त्यस्तै दैनिक कार्यालय जानेलाई दिनभरि जुत्ता–मोजा लगाउँदा बाफिएर ढुसी समस्या देखा पर्छ । यस्तो समस्या आउन नदिन खुट्टा सुक्खा हुने गरी पुछ्न, सफा गर्न, जुत्ता लगाएर काममा जाँदा मलम प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्।

यही मौसममा लामखुट्टे, झुसिलकिरा, माकुरा, माउसुलीहरूका दिसा–पिसाबबाट एलर्जी हुन्छ। यस्ता कीरा सिलिङमा लुकेर बस्ने र उनीहरूले गरेको शौच कपडामा लाग्दा एलर्जी हुुन्छ। यी कीराबाट हुने एलर्जीमा छाला रातो हुने, चिलाउने जस्ता समस्या हुन्छन्। त्यसैगरी यस्तै एलर्जीका कारण जनैखटिरा हुने गर्छ । यी एलर्जी भइहालेमा क्रिम प्रयोग गर्न सकिन्छ भने यस्ता कीराको संक्रमणबाट बच्न वररिपरिको सफाइमा ध्यान दिनुपर्ने चिकित्सकले सुझाए।

गर्मीमा देखिने यी ढुुसी, किटाणु तथा भाइरसजन्य संक्रमण तथा लुतो एक मानिसबाट अर्कोमा सजिलै सर्ने भएकाले व्यक्तिगत साबुन या रुमाल प्रयोग गर्ने, व्यक्तिगत सफाइमा ध्यान दिने गर्नाले यस्ता रोग सर्नबाट बच्न सकिने वीर अस्पतालकी डा. शर्माले सुझाइन्।

यसका साथै सामुहिक रूपमा बस्नेमध्ये कुनै पनि सदस्यलाई कुनै संक्रमण देखा परेको छ भने समयमै उपचार गर्ने र धेरैजनामा देखिएको छ भने सबैले एकैपटक उपचार गरेमा संक्रमण नियन्त्रण गर्न सकिने शर्मा बताउँछिन्।

प्रकाशित: ७ श्रावण २०८१ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App