१८ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

नेपालमा पहिलो रोबटिक विधिबाट पाठेघरको शल्यक्रिया

नेपालमा पहिलो पटक रोबटिक प्रविधिबाट तीन जना महिलाको पाठेघरको शल्यक्रिया गरिएको छ।

बी एण्ड बी अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सर्जन डा. नुतन शर्माको नेतृत्वमा तीनै महिलाको एकै दिन शल्यक्रिया भएको हो।

ती मध्येमा ५२ वर्षीया महिलाको पाठेघर निकाल्ने, ३१ वर्षीया महिलाको डिम्बाशयको सिस्ट निकाल्ने र ३४ वर्षीया महिलाको पाठेघरको ट्युमर निकाल्ने काम भएको छ। तीनै जना अस्पतालबाट सामान्य भई डिस्चार्ज भइसकेको डा. शर्माले नागरिकलाई बताइन्।

गत साता भारतीय मन्त्र कम्पनीको टोलीले रोबटिक सर्जरीको तालिम दिएपछि डा.शर्मा नेतृत्वको टोलीले यो सर्जरी गर्न सफल भएको हो। नेपालमा सुरुमा हातले गरिने सर्जरी, त्यसपछि ल्याप्रस्कोपिक सर्जरी र तेस्रो चरणमा रोबटिक सर्जरी शल्यक्रियामा प्रवेश गरेको डा.शर्माको भनाइ छ।

अन्य दुईवटा सर्जरी विधिभन्दा यो प्रविधिबाट गर्दा थप सुक्ष्मरुपमा समस्या थाहा हुने र सोही अनुसार शल्यक्रिया गर्न सकिने भएकोले शल्यक्रिया विधिमा यो सबैभन्दा उपयुक्त मानिने डा. शर्मा बताउँछिन्। उनका अनुसार कम्प्युटरमा इमेजका आधारमा रोवर्ट पठाइन्छ र रोवर्टले आवश्यक ठाउँमा औजार घुमाइ शल्यक्रिया गर्छ। यसरी गर्दा त्रुटि हुने सम्भावना कम हुन्छ। ‘यो थ्रिडी क्यामेराको मद्दतबाट ६० को कोणमा ठूलो पारेर हेर्न सकिन्छ।

यो कारण पनि  अप्रेसन गर्न आवश्यक भाग सजिलै देखिन्छ सोही अनुसार चिकित्सकले माउस चलाउँछन् र रोवर्टले शल्यक्रिया गर्छ। यो विधिमा पनि पेटमा तीन/चार वटा प्वाल पारिन्छ । यो विधिबाट शल्यक्रिया गर्दा रगत बग्ने र अन्य संक्रमण हुने सम्भावना कम हुने डा. शर्माले बताइन्। यसमा शुल्क भने अरु शल्यक्रियाको तुलनामा महँगो पर्छ।

वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमले यो प्रविधि अन्तर्राष्ट्रिय स्तरमा दुई दशकअघि नै भित्रिए पनि रोवर्ट उपकरण महँगो पर्ने भएकोले नेपालमा हालै मात्र भित्रिएको बताए। 

प्रकाशित: १६ असार २०८१ १६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App