३ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

आजदेखि देशभरका बालबालिकालाई पोलियो रोगविरुद्धको खोप लगाइँदै

सरकारले आजदेखि देशभरका बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ। जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा सरकारले आई.पी.भी.खोप दिने छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नजिकैको खोप केन्द्रबाट आफ्ना बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाउन आग्रह गरेको छ।

मन्त्रालयले जेठ १३ देखि २६ सम्म दुई साता चल्ने अभियानका क्रममा पहिला छुटेका आठ वर्षमुनिका बालबालिकालाई नछुटाउन अपिल गरेको छ।

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार सरकारले २०७१ सालदेखि पोलियोविरुद्ध सुईबाट खोप दिन थालेको हो। यसअघि सुईका साथै मुखबाट पनि थोपाजन्य खोप दिइँदै आएको थियो। पोलियोबाट बच्न यी दुवैखाले खोप लगाउनुपर्ने डा. गौतमले बताए।

२०७३ वैशाखदेखि २०७५ असोजभित्रको अवधिमा विश्वभरि मागअनुसार उत्पादन हुन नसकेपछि विश्वभरि खोप अभाव भएको थियो। सो अवधिमा खोप आपूर्ति हुन नसकेपछि नेपालले पनि सबै बालबालिकालाई पूरा खोप दिन सकेन। २०७४ सालमा एक जनाले पनि खोप लिन पाएनन्।

सो अवधिमा जन्मिएका बालबालिका पोलियोको खोप लिनबाट छुटेकाले सरकारले ‘आइपिभी खोप अभियान–२०८१’ नै चलाएर योे छुटेकालाई दिने निर्णय गरेको डा. गौतमले बताए।

छुटेकालाई खोप दिन सरकारले २०७९ सालमै अन्तर्राष्ट्रिय खोप अभियान संस्था गाभीसँग पहल गरेको थियो। सरकारको २५ प्रतिशत र बाँकी ७५ प्रतिशत गाभीको लगानीमा खोप नेपाल आइपुगेको हो।

नेपालमा सन् २०१० मा अन्तिम पटक महोत्तरीमा पोलियो देखिएको थियो। त्यसपछि नदेखिए पनि नेपालका छिमेकी राष्ट्रहरू पाकिस्तान, अफगानिस्तान र विश्वका अन्य मुलुकमा अहिले पनि पोलियो संक्रमण देखा परेकाले नेपालसमेत जोखिममा रहेको र विश्वभरिबाट उन्मूलन हुन नसकेकाले पोलियोे खोप नियमित रूपमा बालबालिकालाई दिइँदै आएको डा. गौतमले जानकारी दिए।

तथ्याङ्कअनुसार पछिल्लो वर्ष पाकिस्तान र अफगानिस्तानमा पाँच÷पाँच जना पोलियो संक्रमित फेला परेका छन्। अफ्रिकी मुलुकमा ठुलो संख्यामा पोलियो भेटिएको छ। डा. गौतमका अनुसार एक देशबाट आवातजावात हुने क्रममा यो सर्ने जोखिम भएकाले नेपाल पनि यसको जोखिममा रहेको छ। ‘बिफरजस्तै विश्वबाट उन्मूलन नभएसम्म हामी पनि जोखिममा हुन्छौं,’ उनले भने।

साढे १४ लाख बढीलाई खोप

अभियानका क्रममा १६ लाख २४ हजार डोज खोप प्रयोग हुने खोप शाखाले जनाएकोे छ। गाभी र नेपाल सरकारको लगानीमा ३२ करोेड मूल्यमा खोप ल्याइएको हो। पोलियोविरुद्धको खोप अभियानमा १४ लाख ६२ हजार ७१२ जनालाई यो खोप दिने लक्ष्य सरकारले लिएको छ। नेपालभरिमा ८ हजार ५९० जना स्वयंसेवक, ५ हजार १८८ वटा खोप केन्द्र र ४० हजार २९५ स्वास्थ्यकर्मी खोप अभियानमा परिचालित हुनेछन्।

यसरी सर्छ पोलियो

चिकित्सकका अनुसार पोलियो भाइरसबाट सर्ने सङ्क्रामक रोग हो। यो मानिसको दिसाबाट दूषित बनेको पानी तथा खानेकुराबाट सर्छ। संक्रमित व्यक्तिको दिसा वातावरणमा भए अरूलाई सजिलै पोलियो सर्ने सम्भावना हुन्छ।

यो रोेग सर्ने जोखिम पाँच वर्षमुनिका बालबालिकामा बढी हुन्छ, तर जुनसुकै उमेरमा पनि यो रोग देखा पर्न सक्छ। यो रोग लागे पक्षाघात हुन्छ। यसको कुनै उपचार हुन्न। कतिपय अवस्थामा यो रोग लाग्नेको मृत्युसमेत हुन सक्छ।

प्रकाशित: १३ जेष्ठ २०८१ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App